काठमाडौं– निद्रा नलाग्ने, पटक–पटक निद्रा खुल्ने, छोटो समय मात्र निदाउन सक्नेलगायत विभिन्न प्रकृतिका समस्या देखिन्छन्।
कारण:
अनिद्रालाई प्राइमरी र सेकेन्डरी रूपमा वर्गीकरण गर्न सकिन्छ। छोटो समयका लागि हुने साधारण अनिद्रालाई प्राइमरी अनिद्रा भनिन्छ भने विभिन्न रोगको कारण देखापर्ने जटिल अनिद्रा समस्यालाई सेकेन्डरी अनिद्रा भनिन्छ।
दैनिक घटनासँग सम्बन्धित तनाव, जस्तै जागिर गुमाउनु वा परिवर्तन, प्रियजनको मृत्यु, सम्बन्धविच्छेद, बसाइसराइ आदि ससाना कारणले प्राइमरी अनिद्रा निम्त्याइरहेको हुन्छ। हाम्रोवरिपरिको वातावरण जस्तै– ठूलो आवाज, प्रकाश, वा तापक्रम आदि पनि यसका कारक हुन्। खराब खानपान, सुत्नुअघि स्क्रिन तथा मोबाइलको अत्यधिक प्रयोगलगायत पनि यसमा पर्छन्।
सेकेन्डरी अनिद्रा अन्य जटिल रोगका कारण निम्तिएको हुन सक्छ। विभिन्न मानसिक रोग, डिप्रेसन, आत्तिने रोग, पुरानो मनोरोग, मानसिक आघात विकृत चेतना, उन्मादलगायत यसमा पर्छन्। मानिसमा कतिपय औषधिको सेवन तथा शरीरमा हर्मोनको उतार–चढावका कारण पनि यस्तो समस्या देखिएको हुन सक्छ।
उपचार:
अनिद्रा गम्भीर समस्या हो, यसले अन्य समस्या पनि निम्त्याउँछ। लामो समयसम्म उपचार नहुँदा अनिद्राको कारण अन्य विभिन्न समस्या देखापर्न सक्छ। खासगरी मधुमेह, उच्च रक्तचापदेखि विभिन्न मानसिक रोगको उत्पत्ति अनिद्राको कारण हुन सक्छ। तसर्थ, अनिद्राको समयमा नै उपचार गर्नुपर्छ।
अनिद्राको उपचारमा विभिन्न किसिमका उपचार विधि प्रयोग हुन्छन्। कतिपय अवस्थामा चिकित्सकले औषधि सिफारिस गर्न सक्छन्। विभिन्न वैकल्पिक विधि अकुपंचर चिकित्सा, शिरोधारा, ध्यानयोग विधि पनि अनिद्राको उपचारमा प्रयोग हुन्छ। मानसिक रोगसित सम्बन्धित अनिद्रामा संज्ञानात्मक व्यावहारिक उपचार राम्रो मानिन्छ। मनमा आएका नकारात्मक विचार तथा क्रियालाई नियन्त्रण गर्न यो उपचारले मद्दत गर्दछ।
ख्याल गरौँ:
( सुत्ने र उठ्ने समयलाई सकेसम्म नियमित बनाउनुस् । सुत्ने समय भन्दा एक घन्टाअघि नै स्क्रिन र मोबाइल प्रयोग बन्द गर्नुस्। दिउँसोको समयमा ढल्केर नबस्नुस्।
–बेडको सरसफाइमा ध्यान दिनुस् । हातखुट्टा धोएर सुत्न जानुस् ।
–सक्रिय जीवनशैली अपनाउनुस्, कफी तथा अल्कोहल सेवन बन्द गर्नुस् ।
निद्रा नलाग्दा मस्तिष्कलाई सुत्न सहयोगी हुने मधुर धुन सुन्ने अथवा निद्रा नलागेसम्म किताब पढ्ने गर्नुस् ।