कम बोल्दा र धेरै सुन्दा हुन्छन् यी फाइदा - Chaitanya News
  • 2026-05-06
  • 21:00:32
  • बुधबार,बैशाख २३, २०८३
  • कम बोल्दा र धेरै सुन्दा हुन्छन् यी फाइदा

    कम बोल्दा र धेरै सुन्दा हुन्छन् यी फाइदा

    काठमाडौं– भनिन्छ– कान दुईवटा छन्, आँखा दुईवटा छन्। तर, मुख एउटा मात्रै छ तसर्थ जति सुन्नपर्छ, हेर्नपर्छ, त्यसको आधा मात्र बोल्नपर्छ।

    तर, अक्सर मानिसको व्यवहार त्यस्तो हुँदैन। धेरै सुन्ने र मनमनै गम्ने मान्छे कमै हुन्छन्। अधिकांश आफैँ धेरै बोल्न चाहन्छन्। धेरै बोल्दा समाजमा छिटो स्थापित भइन्छ भन्ने सोच हुन्छ। आफ्नो अस्तित्व र बडप्पनको विस्तार भइरहेको छ भन्ने ठानिन्छ।

    अक्सर मान्छेको मनोवैज्ञानिक यथार्थ हो कि आफ्नो कुरा अर्कालाई सुनाउन पाउँदा खुसी हुन्छ। मेरो कुरा अरुले सुन्दिए, मान्दिए वा पत्याइदिए भन्ने भाव पैदा हुन्छ। यस्तो भावले धेरै बोल्ने स्वभावका मान्छेलाई खुसी, गौरव र आत्मविश्वास दिन्छ।

    अरुका कुरा धेरै सुन्नुको अर्थ उसको कुरा सबै पत्याउनु वा सहमत हुनु भने हैन। उसको सोच्ने तरिका र धारणा बुझ्नु हो। मान्छेले कसरी–कसरी सोचिरहेका छन्, कस्ता–कस्ता धारणा राख्ने मान्छे समाज र संसारमा छन्, त्यस्तो सोच कुन कारणले किन र कसरी उत्पन्न भएको हो भनेर बुझ्नु हो।

    धेरै बोलेर समाज र साथीभाइको वृत्तमा छिटो स्थापित र लोकप्रिय होइन्छ भन्ने धारणा सत्य हैन। कतिपयलाई त्यो कुरा मन नपरेको वा नकारात्मक भावना उत्पन्न भइररहेको पनि हुन सक्दछ।

    धेरै बोल्न चाहने मान्छेलाई मनोविज्ञानमा बाह्यमुखी र थोरै बोल्ने मान्छेलाई अन्तमुर्खी भनिन्छ। बाह्यमुखी मानिसमा दुईवटा आन्तरिक चरित्र हुन्छन्। ऊ कि उच्चताबोधले प्रेरित हुन्छ कि आफ्ना कमजोरी र अज्ञानतालाई धेरै बोलेर लुकाउन खोजिरहेको हुन्छ।

    अन्तमुर्खी मानिस जीवनको प्रारम्भिक कालखण्डमा हिनताबोधबाट ग्रसित हुन्छ भन्ने मनोविज्ञानविज्ञको भनाइ छ। तर, युवा उमेरका हिनताबोधी मानिसले जीवनको उत्तरार्धमा धेरै सार्थक काम गरेका हुन सक्दछन्। बाह्यमुखी मानिस भने सतही र पाण्खडी हुँदै जाने सम्भावना बढी हुन्छ।

    त्यसो त धेरै कम बोल्ने वा बोल्दै नबोल्ने हुनु पनि राम्रो हैन। कसैका बकम्फुस, झुठा वा वाहियात कुरा निरन्तर सुनिरहने धैर्यता हुनु आफैँमा अनौठो हो। बोल्दै नबोल्दा वा एकदमै कम बोल्दा गलत मानिसले त्यसको फाइदा उठाउने प्रयत्न गर्दछन्। त्यस्तो मानिसलाई समाजमा ‘सारै सोझो’ भन्ने सम्भावना हुन्छ।

    न धेरै बोल्नु राम्रो हो न बोल्दै नबोल्नु। सबैभन्दा राम्रो ठिक्क, आवश्यक ठाउँमा र वजनदार ढंगले बोल्नु हो। अनौपरिक कुराकानीमा होस् वा औपचारिक संवाद ठिक्क र वजनदार बोल्ने बानीले व्यक्तित्व विकासमा धेरै मद्दत गर्दछ।

    कम बोल्दा हुने ७ फाइदा:

    १. धेरै पृष्ठपोषण प्राप्त हुने

    आफूले कम बोल्दा र अरुको कुरा धेरै सुन्दा सूचना, ज्ञान र पृष्ठपोषण धेरै प्राप्त हुन्छन्। बोल्दा आफूसँग भएकै सूचना, ज्ञान, सोच, विचार र विद्वत्ता बोल्ने हो। त्यो त आफूसँग अगाडिदेखि नै छँदै छ नि अरुको कुरा सुनियो भने पो केही नयाँ कुरा पाइएला।

    अरुको कुरा सुनेर पाइने सबै चिज काम लाग्ने वा गतिला पृष्ठपोषण नै हुन्छन् भन्नेचाहिँ हैन। कतिपय कुरा उडन्ते र हावादारी हुन्छन्। कतिपय आफूलाई अगाडिदेखि नै थाहा भएको हुन सक्दछ। तर, कतिपय आफूलाई थाहा नभएका र नयाँ पनि हुन सक्दछन्।

    सूचना र ज्ञानको स्रोत पढ्नु र आफैँ अनुभव गर्नु मात्र हैन। संसारमा यति धेरै पुस्तक वा ग्रन्थ छन्, पढेर कहिल्यै सकिन्न। यति धेरै स्थान, काल, सन्दर्भ र परिवेश छन्, एकबारको जुनीमा आफैँ अनुभव गर्न सम्भव हुँदैन।

    अरुका कुरा सुन्नु भनेको अरुले पढेका वा भोगेका ज्ञान र अनुभवलाई सित्तैमा प्राप्त गर्नु हो। अरुबाट प्राप्त ज्ञान र अनुभवको जीवनमा धेरै ठूलो महत्त्व हुन्छ। कम्तीमा आफूले ठीक त्यही अनुभव वा मुर्खता दोहोर्‍याउन नपर्ने हुन सक्दछ।

    २. व्यक्तित्व रिजर्भ रहने

    धेरै बोल्ने मान्छेको गुह्य वा भित्री चरित्र सबैले सजिलै र छिट्टै थाहा पाउँछन्। तर, कम बोल्ने मान्छेको व्यक्तित्व रिजर्भ रहन्छ। धेर बोल्ने, प्यारप्यारे, हावादारी, उडन्ते वा गफाडीजस्ता आरोप वा संज्ञा आई लाग्दैन। त्यो मानिस अनावश्यक बोल्दैन, बोल्दा पक्कै गमी, गम्भीर र बजनदार बोल्दछ भन्ने बुझाइ अरुमा विकसित हुन्छ।

    ३.धीरता बढ्ने

    कम बोल्नु र धेरै सुन्नु भनेको आफूभित्र धीरता विस्तार गर्नु हो। संसारमा सबै चिज मान्छे चाहेजस्तो चाहेको बेलामा हुँदैनन्। कतिपय मान्छे उत्तर दिन नसकेको प्रश्नको उत्तर समयले दिन्छ। हल गर्न नसकेका समस्याको समाधान समयले गर्दछ।

    धीरता अनुपयुक्त समयबाट उपयुक्त समयसम्म पर्खिने क्षमता हो। जस्तो कि हामी प्रतीक्षाको घडी छोटै भएपनि अधैर्य हुन्छौँ। मनमा बेचैनी हुन्छ। तर, जब प्रतीक्षाको घडी सकिन्छ, त्यसअघिका बेचैनी निरर्थक लाग्दछ।

    अधैर्य अवस्थामा मनिसले गल्ती गर्ने सम्भावना धेरै हुन्छ। जब गल्ती भइसक्छ चुकचुकाउनुबाहेक अरु उपाय हुँदैन। छिटो परिणाम निकाल्ने नाममा हतारो गर्नुभन्दा अनुपयुक्त समयमा ‘न्यूट्रल गियर’ मा बस्नु राम्रो हो। कम्तीमा दुर्घटनाको हानीबाट बचिन्छ।

    ४. गलत बोल्ने सम्भावना घट्ने

    जति धेरै बोल्यो, बोल्दाबोल्दै गलत वा तथ्यहीन बोलिने सम्भावना पनि बढ्छ। जिन्ह्वा स्खलन (टंग स्लिप) को सम्भावना बढ्छ। अक्सर राम्रै बोल्ने मानिसले पनि कुनै बेला गम्भीर गल्ती, अतिरञ्जना, असत्य, तथ्यहीन वा हावादारी कुरा बोल्यो भने त्यसले जीवनभरि लखेटिरहन सक्दछ।

    ९९ सत्य बोल्नु र १ गलत कुरा मुखबाट उम्किनुको मूल्य कहिलेकाहीँ ९९ को भन्दा १ को धेरै चुकाउनुपर्ने हुन सक्दछ। गम्भीर मानिसले कदाचित झुटो बोलियो भने त्यसको प्रतिरक्षा गर्नु हुँदैन । विनम्रतापूर्वक क्षमा माग्नु र भविष्यका त्यस्तो नबोल्ने प्रयत्न गर्नु उचित हो।

    तर, धेरै बोल्ने मानिसलाई यस्ता कुराको मतलब नै हुँदैन। उसले बोलेका गल्ती र उडन्ते कुरालाई अरुले महत्त्व पनि दिँदैनन्। किनकी ‘यो मान्छे यस्तै हो’ भन्ने ‘माइन्ड मेकअप’ भइसकेको हुन्छ सबैको।

    ५. नकारात्मक छवि बन्न नपाउने

    कसैले जति धेरै बोल्यो, स्रोता उसको बारेमा त्यति नै धेरै विभाजित र ध्रुवीकृत हुन्छन्। संसारका अकाट्य सत्य कमै हुन्छन्, जसबारे प्रतितर्क गर्न नसकियोस्। तसर्थ धेर बोल्नु भनेको विरोधी र शत्रु बढाउँदै जानु पनि हो।

    धेरै बोल्दा नकारात्मक छवि बन्ने र मान्छे राम्रै बोलेको बेलामा पनि नपत्याउने हुन सक्दछ। दन्त्यकथाको ‘बाघ आयो बाघ आयो’ भनेर ठग्ने गोठालोको जस्तो हुन सक्दछ। कसैको बारेमा कसैको दिमागमा एकपटक कुनै कारणले नकारात्मक छवि बन्यो भने त्यसलाई धुन सजिलो हुँदैन। मानिसले जीवनभरि त्यही धारणा वा पूर्वाग्रह राख्न सक्दछ।

    ६. सुन्न चाहनेको उत्सुकता बढ्ने

    कम बोल्ने मानिसको जब बोल्ने दिन, पालो वा सन्दर्भ आउँछ, यसले के भन्ने हो भनेर स्रोताको उत्सुकता बढ्छ। स्रोताको ध्यान केन्द्रित हुन्छ। धेरै बोल्नेले सधै बोलेकै हुन्छ। उसका कुरा सुन्दासुन्दै मान्छे हैरान भएका हुन्छन्। कति एउटै कुरा सुन्नु, त्यसले यही भन्छ भनेर अगाडि नै थाहा छ भन्ने भान पर्दछ।

    कम बोल्नेलाई सुन्न स्रोता इच्छुक र उत्सुक हुन्छन्। यस्तो ‘एटेन्सन’ आफैमा ठूलो सम्पत्ति हो।

    ७.साक्षी भावको अभ्यास हुने

    भनिन्छ— मानव मनमा उत्पन्न हुने भावनाका ३ वटा चरित्र हुन्छन्। राग, वैराग र वितराग। राग भनेको आकर्षण, मोह, लिप्सा र प्रेमको भावना हो। वैराग भनेको विकर्षण, निर्मोह, अनाशक्ति र घृणाको भावना हो। वितराग भनेको राग र बैराग दुवैबाट मुक्त साक्षी र सत्यबोधको भाव हो।

    धेरै बोल्ने मानिसमा राग र वैरागको भावना बढी हुन्छ। तसर्थ यस्तो मानिस ‘बायस’ हुने सम्भावना धेरै हुन्छ। कसैप्रति आशक्त र कसैप्रति अनाशक्त हुन सक्दछ। कम बोल्ने मानिसले मनमनै वितराग भावको अभ्यास गर्ने सम्भावना धेरै हुन्छ। साक्षीभाव प्राप्त गर्न सक्दछ।