नेपाल राष्ट्र बैंकको असहयोगले मुलुकमा बैंकको ब्याज र महँगी बढ्यो : प्रवक्ता महत - Chaitanya News
  • 2026-04-22
  • 10:40:38
  • बुधबार,बैशाख ०९, २०८३
  • नेपाल राष्ट्र बैंकको असहयोगले मुलुकमा बैंकको ब्याज र महँगी बढ्यो : प्रवक्ता महत

    नेपाल राष्ट्र बैंकको असहयोगले मुलुकमा बैंकको ब्याज र महँगी बढ्यो : प्रवक्ता महत

    मोरङ — कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको असहयोगले मुलुकमा बैंकको ब्याज र महँगी बढेको आरोप लगाएका छन्। राष्ट्र बैंकको असहयोगले नै सरकार समेत अप्ठयारोमा परेको उनको दाबी छ।

    ‘बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजले औद्योगिक उत्पादनको लागत मूल्य बढेर महँगी नियन्त्रणबाहिर गएको छ, बजारमा तरलता अभाव भएको छ’ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बुधबार उनले भने, ‘राष्ट्र बैंककै कारण सर्वसाधारणले गरेको सेयर लगानी जोखिममा परेको छ।’ नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकाले सरकारले नियन्त्रण गर्न नमिल्ने भएकाले अहिलेको अवस्था निर्माण भएको महतको बुझाइ छ।

    उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बन्ने लोकतान्त्रिक–बाम गठबन्धनको सरकारले बैंकको चर्को ब्याज र महँगी नियन्त्रण गर्ने दावी गरे। महतले मुलुकमा किसानलाई मलको समस्या भएको बताए। यसअघि २०७४ को चुनावी घोषणा पत्रमा कांग्रेसले मल कारखाना खोल्ने भने पनि सरकार केपी ओलीले सञ्चालन गरेकाले यससम्बन्धमा कुरा मिल्न नसकेको उनले आरोप लगाए।

    कांग्रेसले अहिले पनि अर्गानिक खेतीमा जोड दिनुका साथै रासायनिक मल उद्योग मुलुकमा स्थापना गर्ने नीति घोषणा पत्रमार्फत पुनस् ल्याएको महतले बताए। यसैबीच बैंकहरुले चर्को ब्याजदर असुलेको भन्दै विराटनगरका व्यवसायीहरुले मौन जुलुस निकालेका छन्। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, परिसंघ प्रदेश १ लगायत संगठनले विरोध प्रदर्शन गरे।