डोटीको बालसुधार गृहमा क्षमता भन्दा बढी बालक - Chaitanya News
  • 2026-04-25
  • 18:34:25
  • शनिबार,बैशाख १२, २०८३
  • डोटीको बालसुधार गृहमा क्षमता भन्दा बढी बालक

    डोटीको बालसुधार गृहमा क्षमता भन्दा बढी बालक

    डोटी– डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरू राखिएका कारण समस्या हुने गरेको पाइएको छ। सुदूरपश्चिम प्रदेश भरी डोटीमा मात्रै एउटा मात्रै बाल सुधार गृह भएका कारण सुधार गृहमा पठाउनु पर्ने बालकहरू यहाँ ल्याइने भएका कारण समस्या उत्पन्न हुने गरेको हो।

    ठाउँ अभावका कारण अहिले यहाँको बाल सुधार गृहमा राखिएका बालकहरूलाई बस्ने, खाने तथा सुत्नका लागि निकै समस्या हुँदै आएको बाल सुधार गृह व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए। स्थापनाकाल देखि हाल सम्म उक्त सुधार केन्द्रमा क्षमता भन्दा बढी बालकहरू बस्न बाध्य भएका हुन्। २०७५ साल भाद्र महिनामा स्थापना भएको यो बाल सुधार गृहमा २५ जना बालकहरू बस्न मिल्ने क्षमताको भएपनि हाल ३९ जना बालकहरू बस्दै आएका छन्।

    बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरू बस्ने हुँदा व्यवस्थापकीय पक्षमा गाह्रो हुने गरेको श्रेष्ठले जानकारी दिए। बालकहरूलाई अन्य जिल्लामा अदालती प्रक्रियामा सहभागी गराउन सवारी साधनको साह्रै अभाव हुने गरेको उनको भनाई छ। बाल सुधार गृहको लागि प्रयोग गरेको भवनमा हाल मल्टी स्टोरेज बेड बनाएर, आवश्यक खान बस्न, सुरक्षा व्यवस्थालाई मिलाई रहेको, स्वास्थ्य कार्यालयसँगको समन्वयमा मासिक रूपमा स्वास्थ्य परीक्षण गर्ने गरेको, गैर सरकारी संघ संस्थासँगको समन्वयमा मनोबिमर्शसेवा दिनुका साथै व्यवस्थापकीय लगायतका अन्य क्षेत्र सरसफाइ सुरक्षा लगाएका कुराहरूको नियमित अनुगमन गर्ने गरेको छ।

    क्षमता भन्दा बढी बालकहरू भएका कारण व्यवस्थापनमा समस्या हुने गरेको बाल सुधार गृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बुले बताए। उनका अनुसार बाल सुधार गृहमा रहेका ३९ जना बालकहरू मध्य २८ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य १३ जना हकमा फैसला नभई पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएको छ। डोटीमा रहको बाल सुधार गृहमा हाल प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बालकहरू रहेका छन्। देश भरमा जम्मा ८ वटा बाल सुधार गृह मात्र स्थापना भएका छन् त्यस मध्यको डोटी पनि एक हो।