मिर्गौलासम्बन्धी दीर्घकालन समस्या भएका धेरैजसो बिरामी चौथो वा पाँचौं अवस्थापछि मात्र चिकित्सककहाँ पुग्ने गरेका छन्। मिर्गौला बिग्रिसकेको अवस्थालाई दीर्घकालीन मिर्गौला रोग भन्ने गरिन्छ।
रोगको कारण के?
मिर्गौला रोग हुने थुप्रै कारण छन्। हालैका दिनमा नेपालमा मिर्गौला बिग्रिने दुइटा प्रमुख कारणमा मधुमेह र उच्च रक्तचाप स्थापित हुँदै गरेको वरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्रा.डा. ऋषि काफ्ले बताउँछन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार मुलुकमा २० वर्षमाथिको जनसंख्यामा मधुमेह रोगको व्यापकता ८.५ र कोरोनरी आट्री रोगको व्यापकता २.९ प्रतिशत रहेको देखिएको छ।
‘मधुमेहले आँखा, मुटु, नसामा मात्र नभई मिर्गौलामा समेत असर गरिरहेको हुन्छ,’ डा. काफ्ले भन्छन्, ‘यस्तै अनियन्त्रित उच्च रक्तचापले हृदयाघात, स्ट्रोक हुने मात्र नभई मिर्गौलालाई पनि नराम्ररी क्षति पुर्याउँदै छ।’ मिर्गौलामा भएको रगत शुद्घीकरण गर्ने इकाइ ‘ग्लोमेरुली’ मा हुने सुन्निने रोग ‘ग्लोमेरुलोनेफ्राइटिस’ले समेत मिर्गौला बिगार्छ। यस्तै, मिर्गौलाको पत्थरी, मूत्रमार्गको संक्रमण, जन्मजात रोग, पोलिसिस्टिक मिर्गौला रोग,’ औषधि र विषाक्तता आदिले समेत मिर्गौलाको क्षमता क्रमशस् ह्रास हुँदै जान्छ।
हाल प्रदूषणले समेत मिर्गौला बिगारिरहेको छ । प्रदूषण रगतमा जान्छ । मिर्गौलाको काम रगत छान्नु हो। सबैखाले प्रदूषणको विषले मिर्गौलामा दबाब उत्पन्न गर्छ। अध्ययनहरूका अनुसार प्रदूषित ठाउँमा रहनेमा मिर्गौलाको रोग बढी देखिएको छ।
ग्यास्ट्रिक र दुखाइनाशक औषधि हानिकारक
यदि तपाईंलाई आफ्नो मिर्गौलालाई स्वस्थ राख्नु छ भने आफूखुसी औषधि पसलवाट किनेर दुखाइ नाशक र एसीडीटीको औषधि नखानुहोला। यो दुवै औषधिले मिर्गौलालाई बिगार्छ। एसीडीटी (ग्यास्ट्रिक) को औषधि लाई ‘प्रोटोन पम्प इनहिवेटर्स’ भनिन्छ। अमेरिकास्थित नेसनल किडनी फाउन्डेसनका अनुसार यसको दीर्घकालीन उपयोगले दीर्घकालीन मिर्गौला रोग, एक्युट इन्टरस्टेसल नेफ्राइटिस, हृदयाघातलगायत रोग हुने सम्भावना बढ्छ।
यो प्रोटोन पम्प इनहिवेटर्स औषधि पेन्टाप्रजोल, ओमीप्रजोलरसोडियम वाइकार्वोनेट, रेविप्रजोल, लान्सोप्रजोल, इसमेपाजोल, डेक्सलेन्ससप्रजोल आदि ‘जेनेरिक’ नाम भएका हुन्। ग्यासलगायत केही भयो भने तुरन्त ‘पेन्टासिड’ लगायत यो समूहको औषधि खाइहाल्ने बानी समाजमा समस्या जस्तै देखिएको औल्याउँदै डा. गुलाटी भन्छन, ‘यस्तो ग्यास्ट्रिकको औषधि वर्षौंसम्म खाइरहन्छन्। यसैले मिर्गौलालाई क्षति पुर्याउँछ, बिस्तारै मिर्गौलालाई खराब बनाउँछ।’
अमेरिकामा भएको अध्ययन औंल्याउँदै उनी ८ साताभन्दा बढी ‘पेन्टाप्रोजोल’ खाँदा मिर्गौलारोग हुने जोखिम ५० गुणाले बढ्ने बताउँछन्। ग्यास्ट्रिकको यस्तो औषधि एक पटक खान सुरु गरेपछि धेरैजसो व्यक्तिले यसलाई खान छोड्दैनन्। पेन्टोप्राजोल समूहका यस्ता औषधिलाई चिकित्सकको निगरानीमा कम समयका लागि लिनुपर्छ। सामान्यतस् दुखाइ हुँदा आफूखुसी ब्रुफेन, वुभरनजस्ता औषधि खाने गरेको चलनलाई औंल्याउँदा डा। गुलाटी दुखाइ भए पारासिटामोल औषधि लिनुपर्ने सुझाव दिन्छन्।
लामो समयसम्म ‘नन स्टेराइड एन्टी इन्फलामेन्ट्री औषधि’ उपयोग गर्नु मिर्गौलाका लागि हानिकारक मानिन्छ। चिकित्सकले प्रस्तावित नगरेसम्म दुखाइका लागि ब्रुफेन, वुभरनजस्ता औषधि उपयोग गर्नु हुन्न।
डायलसिसको अवस्थाअगावै प्रत्यारोपण उत्तम
दीर्घकालीन मिर्गौला रोग भएकाहरूमा डायलसिस गराउनैपर्ने अवस्था आउनुअगावै मिर्गौला प्रत्यारोपण गराउनु सर्वोत्तम मानिन्छ। यसलाई डायलसिस गर्नुपर्ने अवस्था सुरु नहुँदै मिर्गौला प्रत्यारोपण गराउनु अर्थात ‘प्रि इम्पटिभ किड्नी ट्रान्सप्लान्ट’ भन्ने गरिन्छ।
मिर्गौला रोगको पाँचौं अवस्थामा मिर्गौलाको रगत छान्ने क्षमता करिब १५ प्रतिशत रहिरहन्छ । मिर्गौलाको क्षमता १० प्रतिशतमा पुग्दा डायलसिस गराउनुपर्ने अवस्था आउँछ तर मिर्गौलाको कार्यक्षमता १५ प्रतिशत रहेकै अवस्थामा मिर्गौला प्रत्यारोपण ‘प्रि इम्पटिभ किडनी ट्रान्सप्लान्ट’, गराउनु सबैभन्दा राम्रो हुने डा. गुलाटी बताउँछन्।
उनले सन् १९९५ मा आफू सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स, लखनउ, भारतमा कार्यरत रहँदा नेपालबाट मिर्गौलारोग भएको एउटा बच्चा आएको घटना सम्झन्छन्। त्यसताका स्कुलमा पढ्दै गरेका ती बच्चाका बुबा प्रहरीमा कार्यरत थिए । आफूले ती बालकको सन् १९९५ मा ‘प्रि इम्पटिभ किड्नी ट्रान्सप्लान्ट’ गरेको जनाउँदै हाल करिब २५ साल पूरा भए पनि उनी पूर्ण स्वस्थ रहेको बताउँछन्।
‘ती नेपाली बालकले पढाइ पूरा गरे, उनको बिहा भयो, सन्तान पनि भए तर कुनै ‘रिजेक्सन’ भएन,’ डा। गुलाटीले भने, ‘प्रि इम्पटिभ ट्रान्सप्लान्टको सफलताको दर बाँकी प्रत्यारोपणभन्दा राम्रो हुन्छ।’ डायलसिस गर्दा शरीर कमजोर हुन्छ, विभिन्न प्रकारको संक्रमण हुन्छ र प्रत्यारोपणको सफलताको दरसमेत कम हुने भएकाले ‘प्रि इम्पटिभ ट्रान्सप्लान्ट’ पहिलो रोजाइ हुनुपर्ने उनी बताउँछन्।
आयुर्वेद उपचारका नाममा ठगी
विशेषज्ञहरू आयुर्वेदका माध्यमले डायलसिस, प्रत्यारोपणबिनै दीर्घकालीन मिर्गौला रोगको उपचार गर्ने दाबी सही नरहेको औंल्याउँछन्। मिर्गौला फेल भएकाहरू हाल वैकल्पिक चिकित्साका रूपमा आयुर्वेदतर्फ समेत गइरहेका छन्।
‘भारतीय टीभी च्यानल, पत्रपत्रिकाहरूमा हाल एउटा विज्ञापन आउने गर्छ। तपाईंको किड्नी फेल भयो भने तुरुन्त आउनुस्, तपाईंको बिनाडायलसिस वा प्रत्यारोपण हामी उपचार गछौं,’ डा. गुलाटी भन्छन्, ‘तर यो सरासर गलत हो। जो समयअनुसार भरोसा गर्न सकिने उपचार छ, त्यसलाई नै अपनाउनुस्।’
आयुर्वेद भनेर दाबी गरिने मिर्गौलाको यस्तो उपचारबारे कुनै अनुसन्धान नभएको औंल्याउँदै विशेषज्ञहरूले यस्ता दाबी गर्ने व्यक्तिले समस्याको नाजायज फाइदा उठाइरहेको बताउँछन्। ‘हामीसँग थुप्रै यस्ता प्रमाण छन्, जुन बिरामीले आयुर्वेदिक औषधिलाई प्रयोग गर्दा उनीहरूको ज्यान समेत गयो,’ डा.गुलाटी भन्छन्, ‘किनभने यस्ता उपचार पद्घति अपनाउनेको शरीर यति कमजोर भयो कि उनीहरू प्रत्यारोपणका लागि लायकसमेत रहेनन्, यसैले डाक्टरमा विश्वास गरेर अनुसन्धान भएको उपचार विधिलाई अपनाउनुस्।’
आयुर्वेदिक औषधिमा पाइने हेभी मेटल्स (गह्रौं धातु) ले मिर्गौला बिगार्छ। आयुर्वेदिक औषधिको कारण मिर्गौला बिग्रेर बर्सेनि एक–दुई वटा बिरामी आफूकहाँ आउने गरेको जनाउँदै डा. गुलाटी भन्छन्, ‘यसको अर्थ यो होइन कि सबै आयुर्वेदिक औषधि नराम्रा छन् तर यसमा अहिले पूरा अनुसन्धान भएको छैन, त्यो बिर्सनु हुन्न।’
बर्सेनि परीक्षण गरौं
बर्सेनि कम्तीमा एक पटक रगत र पिसाब जाँच गराउँदा आफूलाई मिर्गौला रोग भएरनभएको यकिन गर्न सकिने वरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्रा.डा. ऋषि काफ्ले बताउँछन्। चार दशक नाघेका सबैले बर्सेनि एक पटक यो दुवै परीक्षण गराउनुपर्ने उल्लेख गर्दै प्रा.डा. काफ्ले मधुमेह र उच्च रक्तचापको बिरामीले उमेरको हद नहेरी बर्सेनि एक पटक यो परीक्षण गराउनैपर्ने बताउँछन्।
यस्तै परिवारमा मिर्गौलारोगी देखिएकाहरूले समेत उमेरको दुई दशक नाघेपछि बर्सेनि एक पटक यी परीक्षण गराउनुपर्छ। यति मात्र नभएर दुखाइनाशक औषधिको अत्यधिक उपयोग गर्नेहरू, धूमपान, मद्यपान, सुर्ती सेवन गर्नेहरू, नियमित रूपमा इनर्जी ड्रिंक र कोल्ड ड्रिंकको सेवन गर्नेले समेत बर्सेनि एक पटक रगत र पिसाब परीक्षणबाट आफ्नो मिर्गौलाको स्थिति हेर्नुपर्छ।
‘बर्सेनि एक पटक रगतमा क्रिएटिनिनको मात्रा र पिसाबमा प्रोटिनरएल्बुमिनको मात्रा परीक्षण गराएर आफ्नो मिर्गौलाको स्थिति बुझ्न सकिन्छ,’ प्रा.डा.काफ्ले भन्छन्, ‘पिसाबमा प्रोटिन देखिनेबित्तिकै आफ्नो मिर्गौला जोखिममा रहेको ठानी तुरुन्त विशेषज्ञसँग जँचाउनुपर्छ।’ यस्तै रगतमा क्रिएटिनिनको मात्राले उच्चतम परिमाण नाघेको छैन भने ढुक्क भएर बसे हुन्छ तर बढी छ भने तत्काल जँचाउनुपर्छ।
डाइलसिसभन्दा प्रत्यारोपण उत्तम
दीर्घकालीन मिर्गौला रोगको अन्तिम अवस्थाका रोगीमा डायलसिस वा मिर्गौला प्रत्यारोपणबाहेक अन्य विकल्प हुँदैनन्। तर प्रत्यारोपणमा एक पटक बढी खर्च लाग्ने भएकाले डायलसिस गरेर जीवन जोगाउनेहरू अधिक छन्।
यसमा कुनै सन्देह छैन कि प्रत्यारोपण डायलसिसभन्दा चार–पाँच गुणा राम्रो हुन्छ । प्रत्यारोपण गराएकाहरू डायलसिस गराइरहेकाभन्दा बढी बाँच्ने गरेको समेत देखिएको छ। यदि १०० व्यक्ति लाई डायलसिसमा राखौं र अमेरिकामा जस्तै डायलसिस गरौं भने पनि हरेक वर्ष २० जना बाँच्दैनन्। पाँच वर्ष डायलसिस गराइरहेका सयमध्ये बीस जना जीवित रहनेछन्।
यदि डायलसिसलाई हामी प्रत्यारोपणबाट तुलना गर्यौं भने एक सय व्यक्तिको प्रत्यारोपण गर्दा हरेक वर्ष ३(४ जना व्यक्तिलाई समस्या आउँछ। पाँच वर्षको अन्तमा मिर्गौला प्रत्यारोपण गराएका एक सयमध्ये ८० जना पूर्ण रूपले स्वस्थ रहनेछन्। नेपालमा निस्शुल्क भए पनि सीमित रूपमा डायलसिस सेवाले गर्दा पर्खाइमा रहेका बिरामीको परिवारको धेरै पैसा खर्च हुन्छ।
प्रत्यारोपण भएपछि जागिर गरेर परिवारका लागि कमाउन सकिन्छ। सरकारको ‘फोकस’ एक त मिर्गौलाको रोग छिटोभन्दा छिटो कसरी समातौं भन्ने कुरामा हुनुपर्छ। अर्को कुरा, यसमा दुईमत छैन, जहाँ डायलसिस र प्रत्यारोपणको कुरा छ भने प्रत्यारोपणमा बढी ‘फन्डिङ’ गर्नुपर्छ। डायलसिस उपचार धेरै महँगो हुनुका साथै यो निरन्तर गरिरहनुपर्छ। अतुल मिश्रले तयार पारेको यो जानकारीमूलक सामग्री आजको कान्तिपुरमा प्रकाशित छ।
नेपाल सरकारलाई मेरो सुझाव छ सबैभन्दा पहिले प्रारम्भिक अवस्थामै मिर्गौला रोग पहिचान हुन सक्ने अवस्था सिर्जना गर्नुस् र मिर्गौला प्रत्यारोपणमा बढी केन्द्रित हुनुस्। प्रत्यारोपण गराएकाहरू समाजका लागि उपयोगी उत्पादकत्व भएका सदस्यका रूपमा हुने गरेका छन्। जस्तो डायलसिस हामीकहाँ (नेपाल–भारत) हुन्छ, त्यहाँ डायलसिसका बिरामी त जागिर गर्नै सक्दैनन्। नियमित रूपमा डायलसिस गराउन आउँछन् र फिर्ता जान्छन्। उनीहरू बारम्बार अस्पताल भर्ना हुन्छन्, संक्रमण हुन्छ, निमोनिया हुन्छ र कतिपय त धेरै समय बाँच्दैनन्। बिरामीहरू मिर्गौला प्रत्यारोपण भएको दुई महिनापछि नै आफ्नो जागिर, काममा फर्कन सक्छन्।