दसैँ टुक्रिएकाहरूलाई जोड्ने पर्व पनि हो । पश्चिमा परिवार टुक्राटुक्रा भएको छ । परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर मिठोमसिनो खाने चलन उनीहरूले कहाँ पाउनु ? हामी हिन्दुहरू अथवा नेपालीहरू भनौँ, सँगैँ सधैँ छौँ । कामको सिलसिलामा परिवार छोडेर टाढाटाढा जानुपर्दा हामीलाई नरमाइलो लाग्दछ । परिवारसँगको साथ र न्यानोबाट विमुख भइरहेका हामीलाई यही दसैँले जोडिदिन्छ, एकै ठाउँमा बसेर खुसी साटासाट गर्ने अवसर प्रदान गरिदिन्छ ।
शरद ऋतुको समय । पानीको निरन्तरको तीनचार महिने वर्षा लगभग सकिएको छ । हिलोमैलो हटेर गएको छ । आकाशमा बादलहरूको राज्य समाप्त भएको छ । वरपर बोटबिरुवाहरू पनि हरियालीले पूर्ण छन् । खेतबारीमा लगाइएका खेतीपातीका कारण खेतका गरा र फाँटहरू भरिभराऊ देखिन्छन् । घरआँगनमा रोपिएका पूmलहरू पनि बिस्तारै पूmल्ने र मस्तीले झुल्ने तयारी गरिरहेका छन् ।
यहीबेला घरगाउँ र सहरमा दसैँ र तिहार जस्ता पर्वहरूको चर्चा सुरु भएको छ । मानिसहरू टाढाटाढाबाट घरपरिवार सम्झिएर फर्कने क्रम बिस्तारै आरम्भ भएको छ । कार्यालयका कर्मचारी, उद्योग र कलकारखानाका मजदुर, विद्यालयका शिक्षक विद्यार्थी सबैसबै दसैँतिहारको लामो बिदाको प्रतीक्षामा छन् । दसैँ मनाउने योजनाका साथ आवश्यक खर्चको व्यवस्थापनमा आम नेपालीहरू यतिखेर जुटिरहेका छन् ।
यसरी सम्पूर्ण नेपाली दसैँको तयारीमा जुटेका छन् । दसैँ यसैले सबै नेपालीको विशेष पर्व बनेको छ । सबैलाई एकताको सूत्रमा बाँध्ने यो विशिष्ट पर्वका वास्तविक मूल्यहरू केके हुन सक्लान् ? आउनुस्, एकछिन चिन्तन गरौँ ।
दसैँका अनेक मूल्यहरूबारे चर्चा गरिएको पाइन्छ । सबैभन्दा पहिलो मूल्य यसको पौराणिक एवम् धार्मिक मूल्य हो । हिन्दु दर्शनमा विभिन्न कल्पहरूको चर्चा पाइन्छ । कल्प भनेको समयको एउटा निश्चित कालखण्ड हो । सृष्टि सिर्जनाका अनेक युगहरू बितेर गएका छन् । दसैँको मूल कथा जोडिएको सन्दर्भ देवी दुर्गाको सन्दर्भ हो । तामस कल्पको सन्दर्भलाई देवी भागवत्मा चर्चा गरिएको छ ।
सत्त्व, रज र तम गरी तीन गुण रहेका छन् । सत्त्व गुण प्रेम, करुणा, पवित्रता, नियमितता, मर्यादा र पुण्यमा आधारित हुन्छ । रजो गुण राजसी मूल्यसँग नजिक हुन्छ भने तमो गुण हिंसा, अन्धकार अशिक्षासँग सम्बन्धित गुण हो । देवी दुर्गासँगको सन्दर्भ त्यस्तै एउटा अशिक्षा, अन्धकार र अन्यायले भरिएको युगको कथा हो । त्यस समयमा शुम्भनिशुम्भ र महिषाषुरको एकछत्र राज्य कायम भएको थियो । उनीहरूको राज्यमा सर्वत्र अँध्यारो थियो । सोझा साझा र सरल प्राणीमाथि भएको अन्याय बढेर चुलीमा पुगेको थियो । दुराचार र पापाचारले सीमा नाघेको थियो ।
भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ — ‘ यदायदा हि धर्मस्य ग्लानिर्भवति भारत । धर्म संस्थापनार्थाय सम्भवामि युगेयुगे ।’ अर्थात् ‘जबजब धरतीमा धर्म भन्ने कुनै कुरा बाँकी रहँदैन, सबैतिर कर्तव्य, मर्यादा र धार्मिक मूल्यहरू क्षय हुने क्रम बढेर जान्छ, त्यतिखेर धर्मको उद्धार गर्न र त्यसलाई पुनस्र्थापना गर्न समय समयमा मैले अवतार ग्रहण गर्दछु ।’
यही ईश्वरीय दर्शन र सिद्धान्तमा आधारित भएर तामस कल्पमा शुम्भनिशुम्भ र महिषाषुरको अत्याचारले आकाश छोएपछि देवीले दुर्गाको रूप धारण गरी उनीहरूको बध गरी समस्त जगत्को कल्याण गरेकी थिईन् । आश्विन शुक्लपक्षको नवमी तिथिको रातलाई कालरात्री भनेर भनिन्छ । देवी दुर्गाले त्यो समयका सबैसबै राक्षसी प्रवृत्तिहरूमाथि विजयको त्यो अन्तिम रात्री थियो । भोलिपल्ट दशमी तिथिका दिन चराचर जगत्ले आपूmलाई राक्षसी कठोरताबाट मुक्त भएको अनुभव ग¥यो । शुम्भनिशुम्भको निरङ्कुश दमन र कुचक्रबाट स्वतन्त्र भएको महसुस प्राणी जगत्लाई भयो । मनिसभित्रको खुसी यस्तो गतिमा बाहिर आयो कि त्यसको कुनै सीमा रहेन । लामोसमय देखि मानिस दिल खालेर हाँस्न पाएका थिएनन्, रमाउन पाएका थिएनन् । शुम्भनिशुम्भ र महिषासुरको दुर्वृत्तिको कालो छायामुनि बाँच्न विवश जनता जनार्दन सबैले जीवनको नयाँ ताजगी महसुस गरे । हृदयदेखिको खुसी बोकेर आपूmलाई राक्षसी कठोरताबाट स्वतन्त्र तुल्याउने देवीको पूजा आराधना गरी निधारमा विजयको टिका धारण गर्ने परम्पराको आरम्भ त्यसैदिनदेखि सुरु भयो ।
त्यो दिन अन्याय अत्याचार र उत्पीडनको अन्त्य भएको दिन थियो । राक्षसी प्रवृत्तिमाथि दैवी वृत्तिको विजय भएको दिन थियो । मानिसहरू वर्षौँदेखि दबेर बसेको खुसी परस्परमा बाँडीचुँडी गर्दै अन्त्य भक्ति र सेवाका साथ पूजा र उपासनामार्फत दैवी शक्तिप्रति कृतज्ञता प्रकट गर्ने क्रम त्यसदिनदेखि सुरु भएर दसैँका रूपमा आजसम्म कायम छ ।
महिषासुर रम्भासुरको पुत्र थियो । असुरहरूलाई के ठीक, के बेठीक भन्ने कुनै कुराको हेक्का हुँदैन । उनीहरू अनियमितता र अमर्यादाका प्रतिरूप हुन् । रम्भासुरले भैँसीसँग सम्भोग गरेको थियो । भैँसीसँगको रम्भासुरको सहभोगपछि महिषासुरको जन्म भएको थियो । महिष भनेर भैँसीलाई भनिएको हो । भैँसीबाट जन्मिएको हुनाले रम्भासुर पुत्रको नाम महिषासुर रहन गएको हो । यौनवासनाले उन्मत्त भएर जन्मिएको हुनाले महिषासुरमा पनि काम वासनाको वेग अत्यन्त तीब्र थियो । महिषासुर यसैले कामको प्रतिबिम्व हो ।
शुम्भ र निशुम्भ पनि क्रमशः काम र क्रोधका प्रतीक हुन् । काम र क्रोधले उन्मत्त भएका शुम्भ र निशुम्भले महादेवीमाथि कुदृष्टि राख्दै उनलाई हरण गरेर लैजाने प्रयास गर्दछन् । उनीहरूको यो धृष्टता समाप्त गर्न पनि देवीले अनेक रूप धारण गरी शुम्भ निशुम्भलगायत राक्षसहरूको वध गरेकी थिइन् ।
हामीभित्र जबजब यौन इच्छा, लोभ, रिस, राग र क्रोधका भावहरू सलबलाउन थाल्दछन् र तिनले हाम्रो विवेकलाई उल्लु बनाउँछन्, त्यसपछि हाम्रो जीवनमा अस्तव्यस्तता सुरु हुन्छ । हाम्रो शारीरिक, मानसिक एवम् भौतिक सबै प्रकारका शक्तिहरू ह्रास भएर जान्छन् । हामी कमजोर हुन्छौँ । हाम्रो जीवनमा आदर्श समाप्त भएर जान्छ । हामी भित्रैदेखि अँध्यारो जीवन बाँच्न विवश हुन्छौँ । जुनदिन हामी यी काम, क्रोधजस्ता राक्षसी भावनाहरूमाथि विजयी बन्न सफल बन्दछौँ, त्यसदिन मात्र हाम्रो जीवनको ‘दसैँ’ आरम्भ हुन्छ, हाम्रो जीवनको दीपावली आरम्भ हुन्छ ।
शुम्भनिशुम्भसँगको पौराणिक सन्दर्भको सङ्केत के हो भने हामीभित्रका दुर्वाभावनाहरूले हामीलाई अनियमित र मूल्यहीन जीवनतिर धकेल्छन् । हामीले भित्रको दैवी शक्तिलाई जागृत गरेर त्यसकै माध्यमले ती दुर्विचारहरूलाई जित्न सकेका बेलामा मात्र हाम्रो खुसी बाहिर आउँछ । काम, क्रोधमा बाँच्ने बानी भएको मान्छेमा आलस्यले डेरा जमाएको हुन्छ । त्यही आलस्यका कारण हामी कहिल्यै सम्पन्न बन्न सक्दैनौँ । यही आलस्यले हामीलाई सधैँ गरिब बनाइरहेको हुन्छ, सधैँ कङ्गाल बनाइरहेको हुन्छ ।
काम यति निर्लज्ज हुन्छ कि यसको कल्पनासम्म गर्न सकिन्न । कामको दास बनेपछि मान्छे मान्छे रहन्न । मान्छेलाई पशु बनाउने सबैभन्दा ठूलो शत्रु यही काम हो, यही अत्यधिक यौन चाहना हो ।
यौन विचलनको शिकार भएको कामी पुरुषले कोही पनि भन्दैन । हामीले आजभोलि पनि बाबुले छोरीको बलात्कार गरेको समाचार पढेका छौँ । ४, ५ वर्षका बालिकादेखि लिएर वृद्धाहरू पनि बलात्कारको शिकार भएका छन् । छोरोले आमा भन्ने बिर्सन्छ । दाजुले बहिनी भनेको छैन, भाइले दिदी भनेको छैन । कामको नसामा मान्छेले नाता बिर्सन्छ, सम्बन्ध बिर्सन्छ, समाज र स्वास्थ्य बिर्सन्छ । उसका लागि गर्न नहुने र भन्न नहुने भन्ने केही पनि हुँदैन ।
देवीमाथि महिषासुर, शुम्भ र निशुम्भको पनि यस्तै कुदृष्टि परेको थियो । सबैकी बन्दनीय आमा समान देवीमाथि यौन वासनाको नसाले मात्तिएर उनीहरूले भोगको सपना देखेका थिए । तर देवीको शक्तिका अगाडि उनीहरूको केही चलेन ।
देवी पवित्र स्त्रीको नाम हो । जो अनावश्यक कामवासनाबाट मुक्त छन्, त्यस्ता स्त्रीले मात्र वासनाका दासहरूलाई ठीक पार्न सक्दछन् । जो पवित्र छ, उसमा अद्भूत शक्ति हुन्छ । वासनाले एउटा व्यक्तिसँगै समाज र राष्ट्रको पनि इज्जत समाप्त भइरहेको हुन्छ । त्यति मात्र होइन, मानवीय मूल्य र मान्यता भन्ने कुरा नै समाप्त भएको हुन्छ । दसैँ हाम्रा सबैसबै मानवीय मूल्य र मान्यताको पुनप्र्राप्तिको पर्व पनि हो । हामी जो पवित्र हुन्छौँ, जतिबेला सबैसबै शुम्भ, निशम्भु, चण्डमुण्ड, प्रचण्ड, महिषासुर आदि काम, क्रोध र आसक्तिका अवशेषहरू हाम्रो अन्तस्करणबाट हटेर जान्छन्, त्यो दिन हामी भित्रैदेखि सम्मानित र आनन्दित हुन्छौँ र त्यही दिन हाम्रा लागि दसैँ बनेर देखा पर्दछ ।
दसैँका अनेक मूल्यहरू छन् । राम र रावणबीचको युद्धमा रावणमाथि राम विजयी हुनुभएको सन्दर्भ पनि विजयादशमीको एउटा अर्को सन्दर्भ हो । वासनामाथि विजयको दिन हामी वास्तवमा खुसी हुन्छौँ भन्नु राम र रावणको सन्दर्भले बताउँछ । रावण ठूलो विद्वान् हो । उसले नजानेको केही थिएन । भौतिक विकासमा अयोध्याभन्दा पनि सुन्दर थियो लङ्कापुरी । तर रावणका सबैसबै राम्रा गुणहरूलाई एउटा वासनाको अवगुणले छोपिदियो ।
रावणको सबैभन्दा ठूलो कमजोरी नै सीताको रूप र लावण्यमाथि आँखा लगाउनु थियो । उसले सीतालाई हरण गरेर लगे पनि उनलाई भोग भने गरेको थियो । सीतासँग रावणको सहवास भएको थिएन । उसले सीताजीलाई एउटा वृक्षमुनि लगेर राखेको थियो । उसले बेलाबेलामा सीतासँग आपूmलाई पति स्वीकार्न अनुरोध पनि गरेको थियो तर सीतालाई उसले उनको अनुमतिबिना केही गरेन तर पनि रावण मारियो । किन यस्तो ?
सत्य युगमा त्यति गर्नु पनि ठूलो अपराध थियो । सत्य युगमा सङ्कल्पले पनि भोगबराबरको काम गर्दथ्यो । सबै कुरा त्यतिखेर कल्पनाले नै पूरा हुने गर्दथे । त्यसैले, त्यो समयमा सीतालाई उसले आफ्नी पत्नीका रूपमा कल्पना गर्नु पनि ठूलो अपराध थियो । उसले त्यसकै परिणाम स्वरूप रामको हातबाट मर्नुपर्ने अवस्था आयो ।
समाज बिग्रने, व्यक्ति विग्रने, देश विग्रने हामीभित्रका यस्तै यस्तै नराम्रा नराम्रा बानी र आचरणहरूले गर्दा हो । त्यसैले, आफ्ना आचरणहरूमाथि नियन्त्रण गरेका अवस्थामा मात्र हामी खुसी हुन सक्दछौँ । हामीले हाम्रा रावणवृत्तिहरूमाथि रामवृत्तिका माध्यमले विजय पाएको दिन नै हाम्रो जीवनको पनि दसैँ हो ।
दसैँ त हाम्रो सामाजिक पर्व पनि बनिसकेको छ । वर्षदिनभरिका तनावहरूलाई कुनामा थन्क्याएर दसपन्ध्रदिन रमाइलो गर्ने मौका बनेको छ, हामी नेपालीहरूका लागि दसैँ । जीवनमा दुःख र पीडाहरू त आइ नै रहन्छन् । हाम्रा हरेक दिनहरू सङ्घर्षपूर्ण छन् । दिनरातको दौडधुपबाट हामी अत्यन्त थाकेका हुन्छौँ । आखिर हामीले यसरी रातदिन दौदधुप गरेर कमाएको मरेपछि लिएर जानका लागि पनि त होइन । हाम्रो कमाइको केही अंश अन्तस्करणदेखि नै खुसी भएर परस्परमा खुसीँ बाँड्दै रमाउनका लागि पनि हो । यसैले, दसैँ हाम्रो लागि विश्राम र मनोरञ्जनको पर्व पनि हो ।
दसैँ टुक्रिएकाहरूलाई जोड्ने पर्व पनि हो । पश्चिमा परिवार टुक्राटुक्रा भएको छ । परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर मिठोमसिनो खाने चलन उनीहरूले कहाँ पाउनु ? हामी हिन्दुहरू अथवा नेपालीहरू भनौँ, सँगैँ सधैँ छौँ । कामको सिलसिलामा परिवार छोडेर टाढाटाढा जानुपर्दा हामीलाई नरमाइलो लाग्दछ । परिवारसँगको साथ र न्यानोबाट विमुख भइरहेका हामीलाई यही दसैँले जोडिदिन्छ, एकै ठाउँमा बसेर खुसी साटासाट गर्ने अवसर प्रदान गरिदिन्छ ।
हामीले परिवारको जुन पवित्र आदर्श पाएका छौँ, यो विश्वकै सुन्दर आदर्श हो । परिवार भनेको प्रत्येक व्यक्तिको ऊर्जा हो, शक्ति हो । दसैँले हामीलाई टाढाटाढाबाट एकै ठाउँमा ल्याइदिएर कमजोर भएको पारिवारिक शक्तिलाई बलियो बनाउन ठूलो बल पु¥याएको छ ।
अवश्य पनि दसैँको मूल हिन्दु धर्म र दर्शन हो तर यो आज सबैको पर्व बनेको छ, नेपालमा । सबैले यसलाई आफ्नो पर्वका रूपमा स्वीकारेका छन् । हामीकहाँ धार्मिक सहिष्णुता छ । हरेक हिन्दुले ईद र क्रिममसलाई पनि आफ्नै पर्व मानेर स्वकारेको छ । दसैँ पनि हामी सबै नेपालीको पवित्र पर्व हो । यसले जुन, महत्त्व, मूल्य र सन्देश बोकेको छ, त्यसको जति व्याख्या गरे पनि थोरै हुन्छ ।
हामी नेपालीहरू यस्तो संस्कृतिका अभ्यासी हौँ, जुन संस्कृति विश्वमा कतै खोजेर पाइँदैन । हामी जीवनका दुःखदभन्दा सुखद पक्षको खोजी गर्ने मानिस हौँ । दैनिक जीवनका अनेक अप्ठ्याराहरूलाई आँखा चिम्लन सक्नुपर्दछ र बेलाबेलामा सबै मिलेर पवित्र उद्देश्य लिएर उत्सव मनाउनुपर्छ भन्नु हिन्दु मूल दर्शन हो । यसै भएर हामीकहाँ महिनामहिनामा पर्वहरू छन् । सबै पर्वहरूले सारमा भन्न खोजेका छन् —दुःखलाई बिर्सने, प्रसन्नताका साथ जीवन बाँच्ने, रमाउने खुसी हुने तर ईश्वरलाई कहिल्यै पनि नबिर्सने । हामी सबै चाडवर्पहरूमा रमाउँछौँ तर भगवान्लाई याद गर्दछौँ । किन ? यसको अर्थ हो यदि पवित्र ईश्वरलाइ साक्षी राखेर रमाउँदा, खुसी हुँदा नराम्रो हुने सम्भावना हुँदैन । ईश्वर हाम्रा सबैसबै खुसी, आनन्द र प्रसन्नताका एक मात्र आधार हुन् ।
दसैँ जस्तै दीपावली पनि हाम्रो अर्को विशिष्ट पर्व हो । दीपावलीको पौराणिक मूल्यले के भन्छ, त्यसको पनि आफ्नै मूल्य होला, तर दीपालीको सार अँध्यारोमाथि उज्यालोको विजय । जीवनमा ज्ञानको ज्योति नबाली भित्रको अज्ञानरूपी अँध्यारो कसै गरे पनि हटाउन सकिँदैन । उज्यालोमा नै हामी ठीकबेठीकको पहिचान गर्न सक्दछौँ । हो, जीवनमा औँसीजस्ता अँध्यारा रातहरू छन्, तर जब बत्ती बल्दछन्, तब बत्तीसँगै रातको सौन्दर्य पनि दोब्बर भएर जान्छ । ज्ञानले नराम्रोलाई पनि राम्रो बनाउँछ । त्यसैले, घरआँगन, मन, मस्तिष्क बसै स्वच्छ, पवित्र र निर्मल बनाउँदा मात्रै हामी प्रसन्न हुन सक्दछौँ । दीपावलीको अर्थ पनि सारमा यही हो ।
यसप्रकार, हाम्रा पर्वहरू, खासगरी दसैँ अत्यन्त मूल्य बोकेको पर्व हो । यसले हामीभित्रको दुर्वृत्तिमाथि विजय प्राप्त गर्ने उत्साह प्रदान गर्दछ । दसैँ हिंसाको पर्व होइन, यो प्रेमको पर्व हो । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यमाथि विजय प्राप्त गरेका मानिसमा हिंसाको वृत्ति कहाँ हुनु ? दसैँले समाजिक मूल्य बोकेको छ, सांस्कृतिक मूल्य बोकेको छ, आध्यात्मिक मूल्य बोकेको छ र पारिवारिक एकतालगायत धेरैधेरै मूल्यहरू बोकेको छ । यसैले, दसैँका यस्ता अत्यन्त पवित्रतम मूल्यहरूलाई आत्मसात गर्नका लागि हामी अग्रसर बनौँ । हिंसाबाट मुक्त भएर आपूmभित्रका आसुरी प्रवृत्तिहरूलाई जितेका दिन हाम्रो जीवन त्यसै दसैँमय बन्न सक्छ । यस वर्षको दसैँदेखि नै हामीले हाम्रा आन्तरिक वृत्तिहरूलाई अधिकतम अहिंस्रक, पवित्र, जागृत र निर्मल बनाउने प्रयास गरौँ । एउटै भएर पनि दसैँका अनेक मूल्य छन् । तिनलाई हृदयङ्गम गर्ने र जीवनव्यवहारमा ल्याउने हामीले नै हो ।