चैतन्य बहस : यस्तो छ सुशासन र समृद्धि सेमिनारको १० बुँदे साझा बुझाइ - Chaitanya News
  • 2026-04-23
  • 23:40:10
  • बिहिबार,बैशाख १०, २०८३
  • चैतन्य बहस : यस्तो छ सुशासन र समृद्धि सेमिनारको १० बुँदे साझा बुझाइ

    चैतन्य ईन्स्टिच्यूट अफ म्यानेजमेण्टको आयोजनामा गत २०७९ साल असोज १ गतेदेखी २ गतेसम्म (तदनुसार सेप्टेम्बर १७–१८, सन् २०२२) सुशासन र समृद्धि विषयक राष्ट्रिय सेमिनार आयोजना गरियो। काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सम्पन्न उक्त सम्मेलनमा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, पूर्वप्रशासक, सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरू र निजी क्षेत्रका व्यक्तित्वसमेत गरी एक सयभन्दा बढीको सहभागीता रहेको थियो। सेमिनारको उद्घाटन सत्र र समापन कार्यक्रम बाहेक विभिन्न विषयक्षेत्रका विज्ञहरूको समेत गरी कूल १० वटा सेसनहरू सञ्चालन भएका थिए।

    सुशासन र समृद्धि आफैँमा बृहत्तर क्षेत्र ओगट्ने दुई फरक तर, अन्तरसम्बन्धीत विषय हुन्। जनताले पूर्ण सन्तुष्टीको अनुभूति गर्नु नै सुशासन हो। सुशासनले समृद्धिको मार्गलाई सहज र स्पष्ट बनाउँछ। सुशासन र समृद्धि व्यवहारतः अनुभूत गर्ने विषय हुन्। यी दुई विषय क्षेत्रमा आधारित रहेर गरिने बहस र छलफलको दायरा व्यापकरुपमा फराकिलो रहेको छ। यसकिसिमका विहंगम विषयलाई केही शब्दमा, केही बुँदामा सिमित गर्न कठिन छ। तथापी, दुई दिने सेमिनारका फरक–फरक सेसनमा व्यक्त भएका विज्ञहरूका धारणा, गरिएका छलफल एवं सहभागीका विचारसमेतका आधारमा सेमिनारको साझा धारणाका रूपमा यो १० बुँदे धारणापत्र सार्वजनिक गरिएको छ।

    बुँदा नम्बर १

    सुशासन शासकीय अवसरको निर्माण र वितरणको समन्यायिक प्रक्रिया हो भने समृद्धि जीवनमा अपेक्षित गरिएका आशा र अपेक्षाहरु पुरा भएको अवस्था हो। मानिसका आवश्यकता र आकांक्षाका दायरा गतिशील रूपमा फराकिलो हुने गर्छन्। यी आवश्यकता र आकांक्षा प्राप्त भएको ‘स्वस्थ, सम्पन्न र सुखी’ मानवको समष्टी रुप नै समृद्धि हो। समृद्धिको अभीष्टलाई सुशासनले संस्थागत गर्छ।

    बुँदा नम्बर २

    लगानी, उत्पादकत्व, आर्थिक वृद्धि, समान वितरण, वितरणात्मक न्याय र समावेशीलता, समृद्ध र सन्तोषयुक्त जीवन समृद्धि चक्रका अवयवहरू हुन्। यी सबै अवयवको सामन्जस्यतापूर्ण प्रयोगबाट मात्रै समृद्धिको लक्ष्य सहजतापूर्वक हासिल गर्न सकिन्छ।

    बुँदा नम्बर ३

    स्वदेशी उत्पादनमा जोड दिने, स्वदेशी उत्पादनको उपभोग गर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ प्रयत्नशील रहने, आफूले अपनाएको ‘पेशा’लाई ‘व्यवसाय’मा रुपान्तरण गर्ने, देशमा उपलब्ध ‘मानव स्रोत’लाई ‘मानव पूँजी’मा परिणत गर्ने जस्ता सुधारहरू देशको समृद्धिका लागि अपरिहार्य छन्।

    बुँदा नम्बर ४

    देशमा सुशासन र समृद्धिका लागि दिगो अन्तर्राष्ट्रिय सम्बन्धको भूमिका महत्त्वपूर्ण रहन्छ। बलियो राज्य संयन्त्र र सुदृढ बाह्य सम्बन्ध बीना सुशासन र समृद्धिको यात्रा अघि बढ्न सक्दैन।

    बुँदा नम्बर ५

    कला, साहित्य र संस्कृति समृद्ध नभई देशको समग्र समृद्धताको कल्पना गर्न सकिन्न। भौतिक समृद्धिले मात्रै मुलुकको समृद्धिको वास्तविक लक्ष्य हासिल हुन सक्दैन। अतः भौतिक सम्पन्नतासँगै सामाजिक, सांस्कृतिक सम्पन्नतातर्फ पनि उतिकै जोड दिन आवश्यक छ।

    बुँदा नम्बर ६

    सुखानुभूति नै शान्ति हो। ‘आफैंभित्रको आफू’लाई चिन्नसके र अन्तर्रमनको शान्ति प्राप्त गर्नसके मात्रै खुशी हुन सकिन्छ। सुख र खुशी समृद्धिका आधार भएकोले समृद्धि र सुशासनसँगै खुशी पनि महत्त्वपूर्ण हुन्छ।

    बुँदा नम्बर ७

    दिगो र समावेशी अर्थतन्त्रको अभ्यासबाट मात्रै समृद्धि हासिल गर्न सकिन्छ। आर्थिक समृद्धिका लागि औद्योगिकीकरण र कृषी क्षेत्रमा रुपान्तरण आवश्यक छ। समृद्ध मुलुकहरूको विकासको ढाँचाको अध्ययनमार्फत त्यसलाई मुलुक सापेक्ष रूपमा अनुसरण गर्नसके समृद्धिको पाइला चाल्न सहज हुन्छ।

    बुँदा नम्बर ८

    सबै नेपालीजनले आ–आफ्नो स्थानबाट देशलाई योगदान पुर्‍याउने, मुलुकको विकास र समृद्धिका सवालहरूमा एकताबद्ध बन्ने र आफ्नो स्थानबाट समृद्धि र सुशासनको संवाहक बन्नसके सबैको साझा प्रयासबाट सुशासन र समृद्धिको सपनालाई यथार्थमा परिणत गर्न सकिन्छ।

    बुँदा नम्बर ९

    सुशासन र समृद्धिका विश्वव्यापी सूचकहरुका ऐनामा हेर्दा देशको तस्वीर केही धुमिल रूपमा देखापर्ने गर्छ। सुशासन र समृद्धिको यात्रामा थुप्रै कठिनाईहरु विद्यमान छन्। तथापी, आशा र सम्भावना जिवितै रहेको छ। देशले अपनाएको संघात्मक शासन व्यवस्था सुशासन एवं समृद्धिका लागि सकारात्मक ऊर्जा र अवसरका रूपमा रहेको छ। शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा पछिल्ला वर्षमा भएको विकास, निजी क्षेत्रको बढ्दो लगानी क्षमता, वैदेशीक सहायता र लगानीको तीब्रता जस्ता पक्षले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनसक्ने यथेष्ट सम्भावना रहेकोले आशावादी हुनसकिने अवस्था छ।

    बुँदा नम्बर १०

    समाज समृद्धिका लागि आतुर छ। समृद्धि र सुशासन नेपालीहरुको युगौंदेखीको सपना हो। यो सपना पुरा गर्ने पहिलो जिम्मेवार पात्र सरकार हो। सबल सरकारी नेतृत्वबाट मात्रै समृद्धिको लक्ष्य हासिल गर्नसकिने तथ्य समृद्ध मुलुकहरुको व्यवहारिक अभ्यासबाट पुष्टी भइसकेको छ। अतः सबल सरकार, कुशल र व्यवसायिक प्रशासन, क्रियाशील सामुदायिक एवं निजी क्षेत्र र कर्तव्यमूखी नागरिकको सहकार्यमूलक संयोजनबाट मात्रै सुशासन र समृद्धिको आकांक्षा पुरा गर्न सकिन्छ।

    (खतिवडा नेपाल सरकारका उपसचिव हुन्)