काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप नीति पारित गर्न सरकार समक्ष माग गरेको छ। अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई मन्त्रालयमा भेट्दै यस्तो माग गरेको हो।
अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए। अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उनको भनाइ छ।
अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरी ब्याजदर घटाउनु पर्ने सुझाव उनको छ। बजारमा माग नहुँदा उद्यम व्यवसाय आधा भन्दा कम क्षमतामा चलिरहेकोले बजारमा विश्वास बढाउनुपर्ने अध्यक्ष गोल्छाको भनाइ छ। अवस्था सहज बनाउन सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने उनको भनाइ छ। गोल्छाले भने, ‘वितरणमुखी हुने कुरामा हामी गयौं भने संकटमा पर्छौं।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर भएपनि बजारमा लगानी बढाउन र निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नु पर्ने सुझाव दिए।
अध्यक्ष गोल्छाले बाह्य लगानी ल्याउन दाताहरुसंग सम्मेलन गर्न पनि सुझाव दिए। बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धी कानुन यथाशीघ्र ल्याउनु पर्नेमा जोड दिए। अध्यक्ष गोल्छाले स्टार्टअप नीति तत्काल पारित गर्न माग गरे।
महासंघको पहलमा निर्माण भएको नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ। महासंघ स्टार्ट अप तथा इनोभेसन समितिका सभापति रन्जित आचार्यले हालै जारी भएको स्टार्ट अप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लगि पनि नीति आवश्यक रहेको बताए।
महासंघको भिजन पेपर राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयनबारे महासंघ र मन्त्रालय बीचको समझदारीलाई अगाडि लैजाने कार्यमा सहयोग गर्न पनि आग्रह गरे।
सो अवसरमा उद्योग मन्त्री रिजालले महासंघकातर्फबाट राखिएका सुझावलाई कार्यान्वयन गर्न महासंघसँग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास व्यक्त गरे। उनले स्टार्टप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन दिए।