अमृत थुयाजू भक्तपुरमा मध्यमवर्गीय परिवारमा जन्मिए। सानोमा जीवनमा यही गर्छु भन्ने कुनै लक्ष्य थिएन। उच्च शिक्षा अध्ययन गर्दै गर्दा साथीहरूको प्रेरणाले लोकसेवातर्फ आकर्षित भए। लोकसेवाको तयारी गर्न थाले। २०७४ सालबाट लोकसेवा तयारी गरेका उनले पहिलो प्रयासमै राष्ट्रिय अनुसन्धानमा नाम निकाले। तर, वैकल्पिकमा परे त्यसपछि उनी पटक-पटक वैकल्पिकमा परे। कतिपटक त सिफारिस पनि भए। उनको उद्देश्य थियो अधिकृत हुने। जुन सपना १३औं प्रयासमा सफल भयो। उनै थुयाजूको संघर्षमा केन्द्रित रहेर हामीले उनीसँग कुराकानी गरेका छौं:
१३औं प्रयासमा शाखा अधिकृत बन्दाको अनुभव कस्तो रह्यो?
म सामान्य कृषकको छोरो हुँ। मेरो मध्यमवर्गीय परिवार छ। बुवा स्कुलको कार्यालय सहयोगी हुनुहुन्छ। स्कुलमा पनि म मध्यम विद्यार्थी हुँ। भक्तपुरमा जन्मेँ र त्यही हुर्केँ। मैले शिक्षा शास्त्र अध्ययन गरेको हुँ। मैले पाँच वर्ष अध्यापन गरेको छु। तीन वर्ष करारमा भक्तपुरकै देवी माविमा अध्यापन गराएको छु।
लोकसेवा तयारी गर्ने विचार चाहिँ सानो ठिमी क्याम्पस भर्ना भएपछि पलाएको हो। त्यहाँ साथीहरूसँगको सर्कलले मलाई लोकसेवा पढ्न प्रेरित गरेको हो। भक्तपुरमै बसेर पनि लोकसेवा तयारी गर्नुपर्छ भन्ने लागेको थिएन। २०७४ सालतिर राष्ट्रिय अनुसन्धान विभागको फर्म खुल्यो। साथीहरूसँग मैले पनि फर्म भरेँ। त्यसपछि, लोकसेवाप्रतिको अभिरुचि बढेको हो। म गणितको विद्यार्थी। अनुसन्धान सहायकको पहिलो पेपर पास भइसकेपछि साथीहरूले लिखितको तयारी गर्न भनेर प्रेरित गर्नुभयो। त्यसपछि काठमाडौं गएर पुस्तक किनेर ल्याए। पहिलो पटक नै राष्ट्रिय अनुसन्धानमा नाम निस्किँदा एक नम्बर वैकल्पिकमा परेँ। दुग्ध विकास संस्थानको खासै तयारी नगर्दा पनि अनुसन्धानको तयारीले जनजातिमा नाम निस्कियो। म छनोट भएँ। लोकसेवा भन्ने थाहा नहुँदा नहुँदै पनि यता आकर्षित भएँ।
राष्ट्रिय अनुसन्धान विभागमा सोर्सफोर्स चाहिन्छ भनेका थिए। मलाई चाहिँ आफैँ एक दिन सफल हुन्छु भन्ने विश्वास थियो। त्यसपछि मैले दुग्ध विकास संस्थानमा जागिर खाएँ। त्यसपछि खरदारमा परीक्षा दिए। जनजातिमा मात्र निस्कियो। मलाई सबैभन्दा बढी आशा सोही परीक्षामा थियो। तर, म दुई नम्बर वैकल्पिक परेँ। त्यसले मलाई निकै मर्माहत तुल्यायो। र, मैले बलियो तयारी गरेँ।
पटक-पटक वैकल्पिकमा पर्दा मनमा कस्तो भाव पैदा हुन्थ्यो?
कहिलेकाहीँ मन खिन्न हुन्छ। म लगातार चार पटक वैकल्पिकमा परे। त्यो बेला निकै तनाव महसुस भएको थियो। त्यो बेला मलाई यो समय बितेर जानेछ भन्ने लाग्थ्यो। कुनै दिने मेरो सुखद दिन आउँछ भन्ने लाग्थ्यो। सोही आशाले मलाई प्रेरित गरिरहेको हुन्थ्यो। वैकल्पिक पर्दा निराश भएन भने त्यसले मानिसलाई थप बलियो बनाएर उठाउँछ। जसरी अहिले म उठेको छु। यदि मानिस निराश भयो भने त्यसले मानिसलाई कमजोर बनाउँछ।
यसरी वैकल्पिकमा पर्दा सोर्सफोर्स लाग्छ झैँ लाग्यो कि लागेन?
पहिलो पटक वैकल्पिकमा पर्दा त्यस्तो महसुस भएको थियो। पछि आफैँ मध्यम परिवारबाट आएको मान्छे। कोही सोर्स थिएन। कतै सफलता पाइन पनि थालियो। त्यसैले मलाई यसमा सोर्सफोर्सले खासै काम गर्दैन भन्ने लाग्यो। एक नम्बर वैकल्पिक पर्दा मलाई पनि सोर्सफोर्स गर्दा हुन्थ्यो कि लागेको थियो। धेरै दिनसम्म तनावमा थिए। पछि आफूलाई विश्वास गरेर तयारी गर्नुपर्छ भन्ने लाग्यो।
कोही एक/दुई प्रयासमै निराश हुन्छन्, त्यस्ता उम्मेदवारलाई के सन्देश दिन चाहनुहुन्छ?
असफलतालाई सफलताको पहिलो कडीको रूपमा व्याख्या गरिन्छ। असफलताबाट निराश भएर त्यसलाई शक्तिका रूपमा बदल्नुपर्छ। मैले १३औं पटक सफलता प्राप्त गर्नका लागि यत्तिमात्रै परीक्षा दिएको होइन। लेख्दै सिक्दै गर्दा धेरै पटक नामै ननिस्केको उदाहरण पनि छन्। म एक दिन सफल हुन्छु भनेर आइसकेपछि आफैँले आफैँलाई विश्वास गर्नुपर्छ।
कुनै पनि परीक्षालाई सानो ठान्नु हुँदैन। तनावरहित भएर समय व्यवस्थापन गर्दै जाने हो। सफलतामा पुग्नका लागि आफ्नो लक्ष्य भुल्नु हुँदैन। मलाई नै हेर्नुस् न, मैले लक्ष्य भुलेको वा निराश भएको भए अहिले यो अवस्थामा पुग्ने नै थिइनँ। कसैलाई कुनै बेला मनमा विभिन्न भावना आए मलाई सम्पर्क गरेर प्रेरणा लिन पनि सक्नुहुन्छ।
यसरी पटक-पटक वैकल्पिकमा पर्दा परिवारका सदस्यहरूले के भन्नुहुन्थ्यो?
मेरा बुवाआमालाई पनि त्यतिधेरै लोकसेवाको जानकारी छैन। मेरो नाम निस्केर फेसबुकमा बधाई दिँदा फोन गरेर तेरो फोटो देखेको थिएँ, के गरिस् भनेर सोध्नु भएको थियो। घरमा लोकसेवाबारे खासै थाहै थिएन। मैले आफ्नो मेहनतबाट नै यो सफलता प्राप्त गरेको हुँ। परिवारले जे सोच्छस्, त्यो गर् भन्नु हुन्छ। अहिले म नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अधिकृत छैटौंमा छु। त्यसपछि मैले सहायकस्तरको कुनै पनि अन्तरवार्ता दिइनँ। यहाँ म भदौ २९ गते नियुक्त भएको हुँ।
१३औं पटकमा सफल हुँदा कस्तो महसुस भएको थियो?
मैले २०७४ मा अनुसन्धानमा नाम निकाल्दा बुवालाई सुनाउन गएको थिएँ। उहाँले सोर्सफोर्स लगाउनुपर्छ भन्नु भएको थियो। मैले पर्दैन बुवा म आफ्नै हिसाबमा काम गर्छु भनेर हिँडेको। म शिक्षा शास्त्र परेको मान्छेले अन्तिममा खुलामा एक नम्बरमा नाम निकालेँ। त्यो मेरो जीवनकै ठूलो खुसीको क्षण जस्तो लाग्छ। यो निरन्तरको प्रयासले दिएको सफलता हो झैँ लाग्छ। मैले आफ्नो बाटो भुलेको भए सायद यो लक्ष्यमा पुग्थेन होला। यो सफलता प्राप्त गर्का लागि मैले ६ वर्ष कुर्नुपर्यो। ६ वर्ष निरन्तर दु:ख गर्नुपर्यो। म बिहान ४ बजेर उठ्थेँ। दिउँसो काम गर्न पर्थ्यो। यसरी मैले समय र कामलाई पनि व्यवस्थापन गरेको थिएँ।