चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-21
  • 12:52:53
  • शनिबार,मंसिर ०६, २०८३

About Author

दुई असफलताले रोक्न सकेनन् ज्योतिका पाइला, पहिलो प्रयासमै लोकसेवामा देशभर प्रथम

लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्नु आफैँमा चुनौतीपूर्ण छ। त्यसमाथि पहिलो प्रयासमै देशभर प्रथम स्थान हासिल गर्नु सामान्य उपलब्धि होइन। फरक शैक्षिक पृष्ठभूमि, नयाँ विषयवस्तु, असफलताबाट सिकेको अनुभव र निरन्तर मेहनतको संयोजनले मानिसलाई असाधारण सफलतासम्म पुर्‍याउन सक्छ भन्ने उदाहरण बनेकी छन् ज्योति। कृषि विषयमा स्नातक गरेकी ज्योतिले प्रशासन सेवामा प्रवेश गर्ने लक्ष्यसहित लोकसेवाको तयारी सुरु गरिन्। स्नातकपछि नायब सुब्बाको परीक्षा दुईपटक दिँदा प्रथम पत्रमै सफल हुन सकिनन्। तर उनले त्यसलाई आफ्नो क्षमताको अन्तिम परिणाम ठानिनन्। बरु कमजोरी पहिचान गर्दै अध्ययनलाई थप व्यवस्थित बनाइन्। अन्ततः शाखा अधिकृतको पहिलो प्रयासमै देशभर प्रथम स्थान हासिल गर्न सफल भइन्। सङ्घीयता कार्यान्वयनपछि खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतमा देशभर प्रथम हुने पहिलो महिला आफू भएको जानकारी पाएको उनी बताउँछिन्। उनको यो सफलताले लोकसेवाको तयारीमा रहेका हजारौँ युवालाई नयाँ उत्साह र प्रेरणा दिएको छ। रामेछापको गोकुलगङ्गा गाउँपालिका–४, बेताली स्थायी घर भएकी ज्योतिको बाल्यकाल र प्रारम्भिक शिक्षा गाउँमै बित्यो। उनले कक्षा १० सम्म श्री जनजागृत माध्यमिक विद्यालय, बेतालीमा अध्ययन गरिन्। त्यसपछि बनेपास्थित निस्ट कलेजबाट विज्ञान विषयमा प्लस टु पूरा गरिन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको आङ्गिक क्याम्पस प्राकृतिक स्रोत तथा व्यवस्थापन कलेज, सिन्धुलीबाट कृषि विषयमा स्नातक तह पूरा गरेकी हुन्। कृषि विषय अध्ययन गरे पनि उनको रुचि र लक्ष्य विस्तारै प्रशासन सेवातर्फ मोडियो। प्रशासन सेवामा जाने उनको पहिलेदेखिको कुनै लामो योजना थिएन। तर कृषि पृष्ठभूमिबाटै प्रशासन सेवामा प्रवेश गरेका सिनियर दाइदिदीहरूको सफलता देखेपछि उनी पनि यसतर्फ आकर्षित भइन्। विदेश जानुभन्दा आफ्नै देशमा बसेर केही गर्ने उनको चाहना थियो। देशमै रहेर नागरिकको सेवा गर्ने र व्यवस्थित जीवनयापन गर्ने उद्देश्यले निजामती सेवालाई आफ्नो करियरको बाटो बनाएको उनले बताइन्। उनले बजारमा उपलब्ध प्रथम र द्वितीय पत्रका पुस्तकबाट अध्ययनको आधार तयार पारिन्। त्यसपछि आवश्यक विषयअनुसार इन्टरनेटबाट सामग्री खोज्ने, उपयोगी जानकारी छनोट गर्ने र महत्त्वपूर्ण विषय आफ्नै कपीमा टिपोट गर्ने गर्थिन्। सबै सामग्री पढ्नुभन्दा आवश्यक विषय छनोट गरेर अध्ययन गर्नु प्रभावकारी हुने उनको अनुभव छ। किताबका मुख्य कुरा हाइलाइट गर्ने र थप जानकारी आफ्नै नोटमा समेट्ने उनको अध्ययन शैली थियो। तीन साथीको समूह, साँझ एक घण्टा छलफल: ज्योति एकान्तमा बसेर स्वअध्ययन गर्न बढी रुचाउँथिन्। यद्यपि लोकसेवाको तयारी गरिरहेका तीन जना साथीको एउटा सानो समूह पनि थियो। हरेक साँझ एक घण्टा समसामयिक विषयमा छलफल गर्ने र आफूले तयार पारेका नोट्स एकअर्कासँग साटासाट गर्ने उनीहरूको अभ्यास थियो। यसले विषयवस्तु बुझ्न, नयाँ जानकारी प्राप्त गर्न र आफ्नो धारणा प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुर्‍यायो। संयोगवश उनीहरू तीनै जना एकैपटक सफल भए। ज्योतिका अनुसार व्यक्तिगत अध्ययनले विषयवस्तुमा गहिराइ प्रदान गर्छ भने समूह छलफलले विचार आदानप्रदान गर्ने र अरूको दृष्टिकोण बुझ्ने अवसर दिन्छ। प्रथम पत्रको तयारीमा पनि उनले दैनिक एकदेखि दुई घण्टा छुट्याउँथिन्। सामान्य ज्ञान नियमित पढ्ने, समसामयिक विषय इन्टरनेटबाट खोज्ने, महत्त्वपूर्ण कुरा टिपोट गर्ने, आइक्युको अभ्यास गर्ने र अंग्रेजी अध्ययन गर्ने उनको नियमित अभ्यास थियो। कम्प्युटर, समूह छलफल र अन्तर्वार्ता पनि उत्तिकै महत्त्वपूर्ण: लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै कम्प्युटर, समूह छलफल र अन्तर्वार्ताको तयारी गर्ने सोच बनाएकी ज्योतिले पछि यी चरणको महत्त्व अझ नजिकबाट बुझिन्। कम्प्युटरमा अपेक्षाभन्दा कम अङ्क आएपछि उनले यसको महत्त्व महसुस गरिन्। लिखित परीक्षामा तीन–चार अङ्क बढी ल्याउन धेरै मेहनत गर्नुपर्ने भए पनि कम्प्युटरमा भएको सानो कमजोरीले समेत अन्तिम नतिजाको स्थानमा ठूलो प्रभाव पार्न सक्ने उनको अनुभव छ। त्यसैले लोकसेवा तयारीको सुरुवातदेखि नै लिखित परीक्षा, कम्प्युटर सीप, समूह छलफल र अन्तर्वार्तालाई समान महत्त्व दिनुपर्ने उनी बताउँछिन्। समूह छलफलमा आत्मविश्वासका साथ आफ्नो धारणा राख्ने, अरूको विचार सुन्ने, सहकार्य गर्ने र समूहलाई सकारात्मक रूपमा अघि बढाउने क्षमता महत्त्वपूर्ण हुने उनको सुझाव छ। अन्तर्वार्तामा पनि उनी आत्मविश्वासका साथ सहभागी भएकी थिइन्। उनलाई जलवायु परिवर्तनसम्बन्धी प्रश्न सोधिएको थियो। विशेषगरी शाखा अधिकृतका रूपमा जलवायु परिवर्तनको समस्या समाधान गर्न नेपाल सरकारले के गर्न सक्छ भन्ने विषयमा प्रश्न आएको थियो। त्यस विषयमा पर्याप्त जानकारी नभएकाले उनले आफूलाई थाहा नभएको कुरा स्पष्ट रूपमा स्वीकार गरिन्। अन्तर्वार्ताकारहरूले नै सहज रूपमा विषय बुझाइदिएको उनको अनुभव छ। सफलता परिवारको साथ र आत्मविश्वासको परिणाम: लोकसेवा तयारीका क्रममा ज्योतिलाई परिवारबाट पूर्ण साथ र सहयोग प्राप्त भयो। कृषि क्षेत्रमा अवसर आउँदासमेत उनले लोकसेवाको तयारीका लागि एक वर्षको समय मागेकी थिइन्। परिवारले उनको निर्णयलाई स्वीकार गर्‍यो। परिवार, आफन्त, साथीभाइ र सिनियरहरूको हौसलाले नै आफूलाई सफलतासम्म पुर्‍याएको उनी बताउँछिन्। उनको सफलताबाट प्रेरित भएर उनकी बहिनीसमेत अहिले शाखा अधिकृतको तयारीमा जुटेकी छन्। ज्योतिका अनुसार लोकसेवाको पाठ्यक्रम विस्तृत हुन्छ र सफलता कहिले प्राप्त हुन्छ भन्ने निश्चित हुँदैन। त्यसैले तयारीका क्रममा निराशा र मानसिक दबाब आउनु स्वाभाविक हो। तर धैर्य राखेर अध्ययन, अभ्यास र प्रयासलाई निरन्तरता दिनुपर्छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका, पारिवारिक तथा सामाजिक दबाब झेलिरहेका परीक्षार्थीलाई उनी आफूले सक्छु भन्ने दृढ आत्मविश्वास राख्न सुझाव दिन्छिन्। परीक्षा फाराम भर्नेदेखि विभिन्न ठाउँमा गएर परीक्षा दिनेसम्म आर्थिक समस्या आउन सक्ने र परिवारको अपेक्षाले मानसिक दबाब सिर्जना गर्न सक्ने उनको भनाइ छ। तर समस्यालाई आफ्नो लक्ष्यभन्दा ठूलो ठान्नु हुँदैन। ज्योतिको सफलताको मूल सन्देश स्पष्ट छ, असफलता अन्त्य होइन, सुधारको अवसर हो। नायब सुब्बामा दुईपटक असफल हुँदा पनि उनले प्रयास छोडिनन्। कठिन विषयबाट भागिनन्, मोक टेस्टमा कम नम्बर आउँदा अभ्यास रोकिइनन् र आफ्नो शैक्षिक पृष्ठभूमिलाई कमजोरी बन्न दिइनन्। उनको यात्राले लोकसेवा तयारी गरिरहेका युवालाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ— सफलता प्राप्त गर्न सधैँ उत्कृष्ट सुरुवात आवश्यक हुँदैन, तर लक्ष्यप्रतिको स्पष्टता, निरन्तर मेहनत, आत्मविश्वास र आफ्नो कमजोरी सुधार्ने इच्छाशक्ति आवश्यक हुन्छ। ज्योतिको भनाइमा, आफूले सक्छु भन्ने दृढ आत्मविश्वास राखेर नियमित अध्ययन र निरन्तर प्रयास गरिरह्यो भने एक दिन अवश्य सफलता प्राप्त गर्न सकिन्छ।

News by दुई असफलताले रोक्न सकेनन् ज्योतिका पाइला, पहिलो प्रयासमै लोकसेवामा देशभर प्रथम :