चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-21
  • 11:54:36
  • शनिबार,मंसिर ०६, २०८३

About Author

राष्ट्रिय स्वाभिमानमाथि प्रहार स्वीकार्य छैन : माधव नेपाल

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षामा सबै एकजुट हुनुपर्ने बताएका छन्। राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै उनले राष्ट्रियताको संरक्षणलाई राजनीतिक दल र सरकार सबैको साझा जिम्मेवारी भएको बताएका हुन्। शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिद्वारा आयोजित राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै नेपालले देशभक्ति र राष्ट्रिय स्वाधीनताको भावना जनस्तरसम्म पुर्‍याउन अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार नेपाली हुनुको गौरवबोध गराउने, देशप्रतिको माया अभिवृद्धि गर्ने र राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्ने अभियानको मुख्य उद्देश्य हो। उनले राष्ट्रियता र स्वाधीनतालाई सामान्य राजनीतिक विषयका रूपमा मात्र बुझ्न नहुने उल्लेख गर्दै यसलाई मुलुकको अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडेर हेर्नुपर्ने धारणा राखे। कुनै पनि सरकारले राष्ट्रिय स्वाभिमानमा चोट पुग्ने गतिविधि गर्न नहुने भन्दै त्यस्ता कार्य स्वीकार गर्न नसकिने उनको भनाइ थियो। नेपालले अन्तर्राष्ट्रिय राजनीतिमा वामपन्थी शक्तिहरू पुनः सक्रिय हुँदै गएको दाबी गर्दै त्यसबाट नेपाली कम्युनिष्टहरूले प्रेरणा लिनुपर्ने बताए। ब्राजिलमा लुलाको विजय तथा ल्याटिन अमेरिका, युरोप र अन्य क्षेत्रमा देखिएका राजनीतिक परिवर्तनले वामपन्थी आन्दोलनका लागि नयाँ सम्भावना देखाएको उनको भनाइ थियो। नेपालमा कम्युनिष्ट आन्दोलनले विभिन्न चुनौती सामना गरिरहेको स्वीकार गर्दै उनले निराश नभई आन्दोलनको रक्षा र विकासमा लाग्नुपर्नेमा जोड दिए। राष्ट्रियताको संरक्षणसँगै जनअधिकारको रक्षा, जनताका समस्या उठान र सामाजिक रूपान्तरणका लागि कम्युनिष्टहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। उनले पार्टीका केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मका नेता तथा जनप्रतिनिधिलाई जनमुखी नीति अवलम्बन गर्दै जनताको हितमा काम गर्न पनि आग्रह गरे। राजनीतिक जिम्मेवारी पद प्राप्तिमा मात्र सीमित हुन नहुने भन्दै जनताका आवश्यकता र समस्यालाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो। राष्ट्रिय जागरण अभियानले पार्टीको संगठनात्मक आधार बलियो बनाउनुका साथै राष्ट्रियता, देशभक्ति र स्वाभिमानप्रति नागरिकको चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको नेपालले बताए।

News by राष्ट्रिय स्वाभिमानमाथि प्रहार स्वीकार्य छैन : माधव नेपाल :