काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिमाथि खतरा उत्पन्न भएको भन्दै त्यसको रक्षाका लागि आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्। देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै उनले त्यसविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताएका हुन्। शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले संविधान र शान्ति सम्झौताको मर्मविपरीत गतिविधि गर्नेहरूविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आउन लागेको बताए । उनले त्यसका लागि पार्टीका नेता तथा कार्यकर्तालाई अहिलेबाटै तयारीमा जुट्न आग्रह गरे। प्रचण्डले हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको आरोप लगाए। पछिल्लो राजनीतिक घटनाक्रमले देशलाई अर्को दुर्घटनातर्फ लैजाने षड्यन्त्रको गन्ध दिएको उल्लेख गर्दै उनले प्राप्त उपलब्धिको रक्षाका लागि पार्टीले दृढतापूर्वक उभिनुपर्ने बताए। उनले राष्ट्रिय जागरण अभियानलाई संविधान, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतालाई सचेत बनाउने अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे। शान्ति प्रक्रियाका बाँकी काम संविधान र शान्ति सम्झौताको भावनाअनुसार पूरा गर्नुपर्ने उनको भनाइ थियो। प्रचण्डले देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढाउन नयाँ संकल्प र प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने बताए। राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनताका अधिकार सुनिश्चित गर्नु अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे। उनले पार्टीका नेता तथा कार्यकर्तालाई घरघर र टोलटोलमा पुगेर शान्ति सम्झौताको ऐतिहासिक महत्त्व, संविधानको आवश्यकता र जनताको संघर्षबाट प्राप्त उपलब्धिबारे नागरिकलाई जानकारी गराउन निर्देशन दिए। संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र जनताका अधिकारमाथि चुनौती उत्पन्न भए त्यसको प्रतिवाद गर्न तयार रहनुपर्ने उनको जोड थियो। राष्ट्रिय जागरण अभियानलाई आगामी राजनीतिक संघर्षको आधार तयार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने प्रचण्डको भनाइ थियो।


