विद्युतीय सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक, कुन रुटमा कति? - Chaitanya News
  • 2026-10-09
  • 14:57:03
  • शुक्रबार,आश्विन २३, २०८३
  • विद्युतीय सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक, कुन रुटमा कति?

    विद्युतीय सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक, कुन रुटमा कति?

    काठमाडौँ– सरकारले अन्तरप्रदेशीय रुटमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधनको भाडा दर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार नयाँ भाडा दर सार्वजनिक गर्दै यात्रुवाहक र मालवाहक सवारीका लागि दूरी तथा सडकको अवस्थाअनुसार भाडा निर्धारण गरेको हो।

    विभागले तराई र पहाडी सडकमा सञ्चालन हुने सवारीको प्रतिकिलोमिटर भाडादर परिमार्जन गरेको जनाएको छ। तराईको २५० किलोमिटरभन्दा बढी दूरीको पक्की तथा ग्राभेल सडकमा यात्रुवाहक सवारीको भाडा प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा कायम गरिएको छ। २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ भाडा तोकिएको छ।

    त्यस्तै, काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ सडक खण्डमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ २४ पैसा भाडा निर्धारण गरिएको विभागले जनाएको छ।

    डिलक्समा २० प्रतिशत थप भाडा:

    विभागका अनुसार डिलक्स सुविधा लिएको प्रमाणित भएका सवारीसाधनले सामान्य भाडादरमा २० प्रतिशत थप रकम लिन पाउनेछन्। सुपर डिलक्स सुविधा लिएका सवारीसाधनले भने डिलक्स भाडादरमा थप २० प्रतिशत जोडेर भाडा लिन सक्ने व्यवस्था गरिएको छ।

    तर, डिलक्स तथा सुपर डिलक्स सुविधा लिएको प्रमाणित नभएका सवारीसाधनले उक्त सुविधा बापत थप भाडा लिन पाउने छैनन्।

    विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहुलियत अनिवार्य:

    विभागले सार्वजनिक गरेको आचारसंहिताअनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई तोकिएको सहुलियत अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ। यस्तो सहुलियत निश्चित रुट, कोटा वा दिनमा सीमित गर्न नपाइने व्यवस्था गरिएको छ। सहुलियत लिन यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्नेछ।

    लामो दूरीका रात्रिकालीन बसमा दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। चालक तथा सहचालकले परिचयपत्र वा तोकिएको पोसाक लगाउनुपर्ने विभागले जनाएको छ।

    तोकिएको दरभन्दा बढी भाडा असुल्ने सवारीसाधनमाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ। बढी भाडा लिएको अवस्थामा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन्।

    ट्रकको भाडा पनि समायोजन:

    यात्रुवाहक सवारीसँगै मालवाहक ट्रकको भाडादर पनि परिमार्जन गरिएको छ। विभागले तराई क्षेत्रमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ७७ पैसा भाडा कायम गरेको छ। १० टन क्षमतालाई आधार मानेर विभिन्न रुटको भाडादरसमेत निर्धारण गरिएको छ।

    निर्धारित दरअनुसार पहाडी सडक हुँदै सञ्चालन हुने वीरगञ्ज–काठमाडौँ रुटमा ट्रकको भाडा ३१ हजार ४४६ रुपैयाँ तथा भैरहवा–काठमाडौँ रुटमा ३२ हजार १४१ रुपैयाँ तोकिएको छ।

    नयाँ भाडादर र आचारसंहिताको कार्यान्वयनले सार्वजनिक यातायातमा मनपरी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्न तथा यात्रुले पाउनुपर्ने सहुलियत सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।