काठमाडौँः दसैँ मनाउन काठमाडौँबाट आ–आफ्नो घर फर्किने यात्रुलाई लक्षित गर्दै आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। चाडपर्व नजिकिएसँगै घर फर्किने तयारीमा रहेका यात्रुले अब अग्रिम टिकट लिएर यात्राको व्यवस्था मिलाउन सक्नेछन्।
अध्ययन, रोजगारी तथा व्यापार व्यवसायका सिलसिलामा देशका विभिन्न जिल्लाबाट काठमाडौँ आएका नागरिक दसैँ मनाउन घर फर्किने क्रम बढ्दै गएको छ। अग्रिम टिकट बुकिङ खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लाग्न थालेको छ। यसले दसैँका लागि घर फर्किने यात्रुको चहलपहल बढेको संकेत गरेको छ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरका प्रतिनिधिबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आजदेखि टिकट बुकिङ सुरु गरिएको हो।