काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने भएको छ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत साता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा नगद सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए।
नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको ‘समुन्नति कार्यक्रम’मार्फत उक्त सहायता उपलब्ध गराउनेछ। यसका लागि मन्त्रालय र नेपाल रेडक्रसबीच सम्झौतासमेत भएको छ।
मंगलबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनाल तथा आइएफआरसी नेपाल प्रमुख डेभिड फिसरको उपस्थिति थियो।
सम्झौताअनुसार बाढीबाट प्रभावित ६३ जिल्लाका लक्षित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराइनेछ। बाढीबाट प्रभावित परिवारका तत्कालीन तथा प्राथमिक आवश्यकता सम्बोधन गर्दै उनीहरूको जीवनयापन सहज बनाउन तथा पुनर्लाभ र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहायता उपलब्ध गराउन लागिएको रेडक्रसका महामन्त्री खनालले बताए।
उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रभावित परिवारको तथ्यांक प्राप्त भएपछि आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरिनेछ। प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब ६ हजार परिवार प्रभावित भएका छन्। पहिचान भएका लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ।
प्राप्त रकम लाभग्राही परिवारले खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, अत्यावश्यक घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनलगायतका आवश्यकतामा आफ्नो प्राथमिकताअनुसार खर्च गर्न सक्नेछन्।
नगद सहायता वितरणमा बाढीबाट प्रभावित तथा विशेष जोखिममा रहेका महिला नेतृत्वका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य विशेष आवश्यकता भएका व्यक्ति र परिवारलाई प्राथमिकता दिइनेछ।
सम्झौताअनुसार मन्त्रालयले नीतिगत निर्देशन, कार्यक्रमको अनुगमन तथा समन्वय गर्नेछ। सम्बन्धित स्थानीय तहले लाभग्राही पहिचान, प्रमाणीकरण तथा स्थानीय समन्वयमा सहयोग गर्नेछ भने नेपाल रेडक्रसले नगद तथा भौचर सहायता वितरण, समुदायसँगको समन्वय, अनुगमन तथा जबाफदेहितासम्बन्धी काम गर्नेछ।
मन्त्रालयले ‘समुन्नति कार्यक्रम’लाई समावेशी कार्यक्रमका रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ। कार्यक्रममार्फत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्करणमा परेका समूह, विपद् प्रभावित तथा विशेष जोखिममा रहेका व्यक्ति र परिवारलाई सहयोग गर्ने उद्देश्य राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा रेडक्रसको मानवीय सहायता निरन्तर
नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट परेको प्रभाव र हालसम्म भएका मानवीय कार्यको समीक्षा गरेको छ।
रेडक्रसका महामन्त्री खनालले बाढी लगत्तैदेखि सुरु गरिएको मानवीय सहायता निरन्तर रहेको जानकारी दिए। प्रभावित परिवारका तत्कालीन आवश्यकता पूरा गर्न सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए।
आइएफआरसी नेपाल प्रमुख फिसरले बाढी प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवकले गरेको कामको प्रशंसा गर्दै प्रभावित क्षेत्रमा प्रतिकार्यका गतिविधि निरन्तर सञ्चालन हुने बताए। उनका अनुसार आइएफआरसीले बाढी प्रतिकार्यका लागि गरेको सहयोगको अपिलअनुसार आर्थिक सहयोग प्राप्त भइरहेको छ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) नेपाल प्रमुख सन्देश श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउनुका साथै बेपत्ता व्यक्तिका परिवारको खोजीमा नेपाल रेडक्रससँग सहकार्य भइरहेको बताए।
कार्यशालाले आगामी तीन महिनाका लागि तत्काल गर्नुपर्ने कामको सूचीसमेत तयार गरेको छ। नेपाल रेडक्रसले प्रभावित क्षेत्रमा बहुउद्देश्यीय नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, सामुदायिक संलग्नता तथा जबाफदेहिता, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणलगायतका क्षेत्रमा सहायता जारी राखेको जनाएको छ।