धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडामा निसर्ग इन्डो–नेपाल जुगेडा कप भलिबल प्रतियोगिता सुरु भएको छ।
संयुक्त राना जनचेतना परिवार धनगढी–१० जुगेडाको आयोजनामा असोज २० गतेदेखि सुरु भएको प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन वडा नम्बर १० का अध्यक्ष शिवकुमार रानाले गरेका हुन्।
भगीरथ रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका वडा अध्यक्ष रानाले भलिबल मुख्य रेफ्रीलाई हास्तन्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका हुन्। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मोति राना थारू, केयर टेकर अस्पतालका गोपाल शाही, नेपाल–भारत मैत्री संघ कैलालीका अध्यक्ष राजीव गुप्ता तथा चैतन्य पाठशालाका निर्देशक एवं प्रतियोगिताका एजुकेसन पार्टनर कटकबहादुर सिंह लगायतको सहभागिता थियो। कार्यक्रममा स्वागत मन्तव्य आयोजकका तर्फबाट केवल रानाले राखेका थिए।
प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख रुपैयाँ तथा द्वितीय हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, सेमिफाइनलमा पुग्ने सबै टोलीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै आयोजक भगीरथ रानाले गाउँका युवालाई लागूऔषधको कुलतबाट टाढा राख्दै खेलकुदका माध्यमबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले युवालाई खेलकुदतर्फ आकर्षित गर्न सके स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए। प्रतियोगितामा नेपाल र भारतका ८ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै नेपाल–भारत मैत्री संघ कैलालीका अध्यक्ष राजीव गुप्ताले हरेक वर्ष आयोजना हुँदै आएको खेलकुद प्रतियोगिताले नेपाल र भारतका स्थानीयबीचको भाइचारा तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
प्रतियोगिताका एजुकेसन पार्टनर चैतन्य पाठशालाका निर्देशक कटकबहादुर सिंहले प्रतियोगिताको सफलताको शुभकामना दिँदै नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढीकरणमा योगदान पुर्याउने प्रतियोगितासँग जोडिन पाउँदा खुसी लागेको बताए।
उनले प्रतियोगिताले नेपाल र भारतका जनताबीच भाइचाराको सम्बन्ध विकास हुने र खेलकुदका माध्यमबाट सद्भाव कायम गर्न सहयोग पुग्ने बताए। स्वस्थ समाज निर्माण गर्न खेलकुद आवश्यक रहेको चर्चा गर्दै निर्देशक सिंहले भलिबल प्रतियोगिताले युवा तथा विद्यार्थीहरूलाई खेलकुलतर्फ आकर्षित हुने बताए।
उनले खेलकुदका माध्यमबाट दुई देशका नागरिकबीच भाइचाराको सम्बन्ध विकास गर्न तथा आपसी सद्भाव कायम गर्न सकिने बताए। विद्यार्थीको जीवनमा खेलकुदको महत्व ठूलो रहेको उल्लेख गर्दै उनले स्वस्थ समाज निर्माणका लागि खेलकुद आवश्यक रहेको धारणा राखे।
वडा अध्यक्ष मोति राना थारूले हरेक वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएकोमा आयोजकलाई धन्यवाद दिए। उनले फुटबल प्रतियोगिता जुगेडा गाउँको पहिचानका रूपमा स्थापित हुँदै गएको बताए।
खेलकुदले कुलतमा फसेका युवालाई सही मार्गमा डोर्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले वडा नम्बर १० मा हुँदै आएको भलिबल प्रतियोगितालाई समेत महोत्सवकै रूपमा विकास गर्नुपर्ने धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष शिवकुमार रानाले प्रतियोगिताको सफलताको शुभकामना दिँदै खेलकुदले नेपाल र भारतका स्थानीयबीच सुमधुर सम्बन्ध कायम गर्न सहयोग पुग्ने बताए।
यसैबीच, प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा सेवा प्रिन्टिङ प्रेस र जुगेडा टिमबीच प्रतिस्पर्धा भइरहेको छ।