धनगढीः चैतन्य पाठशाला विद्यार्थी परिषद्को अध्यक्षमा केशवराज जोशी निर्वाचित भएका छन्। कक्षा ११ र १२ का विद्यार्थीले दिएको मतका आधारमा विद्यार्थी परिषद्को अध्यक्षमा जोशीसहित उपाध्यक्षमा दिवससिंह महरा तथा खेलकुद सचिवमा दिपेन्द्र भट्टराई निर्वाचित भएका हुन्।
शुक्रवार भएको निर्वाचनमा कक्षा ११ र १२ का २३५ जना विद्यार्थीले मतदान गरेका थिए। प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार भएको मतदानको आइतवार मतगणना गर्दा अध्यक्षका प्रत्याशी केशवराज जोशीले १२० मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी भुवन भण्डारी र गणेश ठगुन्नाले क्रमशः ६८ र ३२ मत प्राप्त गरे।
उपाध्यक्षमा तीन जना प्रतिस्पर्धी रहेकामा कक्षा ११ का दिवससिंह महरा ८२ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी वर्षा कुँवरले ६४ मत ल्याउँदा युवराज चटौतले ७३ मत पाएका छन्।
खेलकुद सचिवमा चार जना विद्यार्थीले उम्मेदवारी दर्ता गरेकामा ६८ मत ल्याएर दिपेन्द्र भट्टराई निर्वाचित भएका छन्। निर्वाचनमा उम्मेदवारी दिएका नवीन बोहराले ३६ मत, समिर कार्कीले ६४ तथा विकास रावलले ५४ मत पाएको विद्यालयका अतिरिक्त क्रियाकलाप शिक्षक एवं निर्वाचन अधिकृत इन्द्रमणि अवस्थीले जनाकारी दिए।
शिक्षक अवस्थीका अनुसार विद्यार्थीहरूमा निर्वाचान सम्बन्धी अवधारणका विकास गराउन तथा प्रजातान्त्रिक अभ्यासबाट नेतृत्व छनोट गर्नुपर्ने सिकाइसँग विद्यार्थीहरूलाई साक्षात्कार गराउन चुनावका माध्यमबाट विद्यार्थी परिषद्को चयन गरिएको हो।