काठमाडौँ– विश्व बाघ दिवसका अवसरमा सरकारले आज पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दैछ। संरक्षण प्रयासका कारण नेपालमा बाघको सङ्ख्या अझ बढ्ने संकेत देखिएसँगै अब मुख्य बहस संरक्षणबाट व्यवस्थापनतर्फ केन्द्रित हुन थालेको छ।
नेपालले पछिल्ला डेढ दशकमा बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ। सन् २०१० मा १२१ रहेको बाघको सङ्ख्या २०१४ मा १९८, २०१८ मा २३५ र २०२२ मा ३५५ पुगेको थियो। अहिले सार्वजनिक हुन लागेको नयाँ गणनाले यो सङ्ख्या थप वृद्धि भएको देखाउने अनुमान गरिएको छ।
संरक्षण क्षेत्र, मध्यवर्ती वन तथा जैविक मार्गमा बासस्थान सुधार, आहारा प्रजातिको वृद्धि र चोरी सिकारी नियन्त्रणजस्ता कारणले बाघको अवस्था मजबुत बन्दै गएको सरकारी अधिकारीहरूको भनाइ छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार बाघ संरक्षणमा नेपालले हासिल गरेको उपलब्धि विश्वमै उदाहरणीय मानिएको छ।
तर, बाघको सङ्ख्या बढेसँगै नयाँ चुनौतीहरू पनि थपिएका छन्। मध्यवर्ती क्षेत्रका स्थानीय घाँस, दाउरा र निहुरो सङ्कलन गर्न वा पशु चराउन जाँदा बाघसँगको द्वन्द्व बढ्दो छ। कतिपय अवस्थामा बाघ मानव बस्तीमा पस्ने, घरपालुवा जनावरमाथि आक्रमण गर्ने तथा पूर्वाधार पार गर्ने क्रममा दुर्घटनामा पर्ने घटनासमेत भइरहेका छन्।
पछिल्लो अध्ययनले नेपालको तराई क्षेत्रमा बाघको ‘क्यारिङ क्यापासिटी’ अर्थात् वातावरणले धान्न सक्ने क्षमता करिब ४०० को हाराहारी रहेको देखाएको छ। त्यसैले आगामी दिनमा बाघको सङ्ख्या मात्र बढाउने होइन, तिनको सुरक्षित व्यवस्थापन र मानव–वन्यजन्तु सहअस्तित्वलाई कसरी सन्तुलित बनाउने भन्ने चुनौती पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ।
यही चुनौतीलाई सम्बोधन गर्न सरकारले समस्याग्रस्त बाघका लागि ‘टाइगर सेन्चुरी’ निर्माणको योजना अघि बढाएको छ। चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा यस्तो संरचना बनाउने प्रस्ताव गरिएको छ, जहाँ मानव बस्तीमा पसेका, घाइते भएका वा मानव तथा पशुमाथि आक्रमण गरेका बाघलाई प्राकृतिक वातावरणमै राखेर व्यवस्थापन गर्ने लक्ष्य छ।
हाल देशभर १६ समस्याग्रस्त बाघ विभिन्न इन्क्लोजरमा राखिएका छन्। तीमध्ये चितवन, बर्दिया र जावलाखेलस्थित सदर चिडियाखानामा पाँच–पाँच तथा बाँके राष्ट्रिय निकुञ्जमा एक बाघ राखिएको छ। यिनको हेरचाह, उपचार र आहार व्यवस्थापनमा ठूलो खर्च हुने भएकाले दीर्घकालीन समाधानका रूपमा ‘टाइगर सेन्चुरी’ अवधारणा अघि सारिएको हो।
यसैबीच, पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षण गत पुसदेखि तीन महिनासम्म सञ्चालन गरिएको थियो। चितवन–पर्सा, बाँके–बर्दिया तथा शुक्लाफाँटा–लालझाडी गरी तीन प्रमुख कम्प्लेक्समा करिब एक हजार १०० स्वचालित क्यामेरा जडान गरी बाघको तस्बिर संकलन र विश्लेषणमार्फत गणना गरिएको थियो। सर्वेक्षणमा करिब २५० जनशक्ति परिचालन गरिएको थियो।
विश्वभर हाल ५ हजार ३५७ बाघ रहेको अनुमान गरिएको छ। भारतपछि नेपाल दक्षिण एसियामा बाघ संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गर्ने मुलुकका रूपमा स्थापित हुँदै गएको छ। यद्यपि संरक्षणको यो सफलतासँगै अब बाघ र मानवबीचको सहअस्तित्व सुनिश्चित गर्दै दिगो व्यवस्थापन गर्नुपर्ने आवश्यकता अझ बढेको छ।