कञ्चनपुरको खेलकुद पूर्वाधार विस्तारमा प्रदेश सरकारको जोड, मिनी स्टेडियमदेखि इन्डोर क्रिकेट हलसम्म बजेट - Chaitanya News
  • 2026-10-04
  • 23:10:46
  • आइतबार,आश्विन १८, २०८३
  • कञ्चनपुरको खेलकुद पूर्वाधार विस्तारमा प्रदेश सरकारको जोड, मिनी स्टेडियमदेखि इन्डोर क्रिकेट हलसम्म बजेट

    कञ्चनपुरको खेलकुद पूर्वाधार विस्तारमा प्रदेश सरकारको जोड, मिनी स्टेडियमदेखि इन्डोर क्रिकेट हलसम्म बजेट

    महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कञ्चनपुरमा खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि विभिन्न योजनामा बजेट विनियोजन गरेको छ। मिनी स्टेडियम, फुटसल मैदान, इन्डोर क्रिकेट हल, प्रशिक्षण हल तथा खेलमैदान स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ।

    प्रदेश सरकारले दोधारा चाँदनी नगरपालिका–२ मा खेलकुद मिनी स्टेडियम निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ। यस्तै, दोधारा चाँदनी–८ मा फुटसल स्टेडियम निर्माणका लागि ३० लाख ४० हजार रुपैयाँ छुट्याइएको छ।

    बेदकोट नगरपालिका–१ मा गौँडी खेल मैदान निर्माणका लागि ३८ लाख रुपैयाँ तथा शुक्लाफाँटा नगरपालिका–१० मा बाल व्यायामशाला निर्माणका लागि सात लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

    जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार महेन्द्रनगरस्थित विभिन्न खेल संघ तथा पूर्वाधारका लागि पनि बजेट छुट्याइएको छ। प्रदेश सरकारले जिल्ला ब्याडमिन्टन संघलाई सामग्री खरिदका लागि सात लाख ६० हजार, बक्सिङ हल मर्मतसम्भारका लागि सात लाख ६० हजार, कुस्ती प्रशिक्षण केन्द्रका लागि तीन लाख ८० हजार, कबड्डी प्रशिक्षण हल मर्मतका लागि १५ लाख २० हजार तथा कञ्चनपुर फुटबल संघको भवन निर्माणका लागि ५३ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ।

    त्यसैगरी महेन्द्रनगरमा क्रिकेट इन्डोर हल निर्माणका लागि १९ लाख रुपैयाँ छुट्याइएको छ। भीमदत्त नगरपालिका–९ रिडौनास्थित खेलमैदानमा पर्खाल निर्माणका लागि ११ लाख ४० हजार तथा कराते तालिम हल निर्माणका लागि २२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ।

    बेदकोट–१० चतहरीस्थित अधुरो ब्याडमिन्टन हल निर्माण, कृष्णपुर–५ को पुरानो पञ्चायत खेल मैदान तथा सयपत्री खेलमैदान स्तरोन्नतिका लागि जनही १९ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

    दोधारा चाँदनी–७ मा खुला व्यायामशाला निर्माणका लागि सात लाख रुपैयाँ, चाँदनी क्रिकेट मैदान निर्माण तथा खेल सामग्री खरिदका लागि ११ लाख ४० हजार रुपैयाँ, बेलौरी खुला व्यायामशालाका लागि सात लाख ६० हजार रुपैयाँ तथा कृष्णपुर–८ स्थित राजघाट क्रिकेट मैदान स्तरोन्नतिका लागि ११ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको भट्टले जानकारी दिए।

    यता, महेन्द्रनगरस्थित कवर्डहल परिसरमा निर्माणाधीन क्रिकेट मैदानका लागि संघीय सरकारले आगामी आर्थिक वर्षका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए।

    चालु आर्थिक वर्षमा कवर्डहल परिसरमा बक्सिङ हल मर्मत, हक्की मैदान निर्माण, क्रिकेट मैदानमा माटो भरान तथा कुस्ती संघको हल निर्माणको काम भइरहेको छ। साथै ४०० मिटर एथलेटिक्स ट्र्याक निर्माणको तयारीसमेत अघि बढाइएको छ।

    जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहका अनुसार निर्माणाधीन बहुउद्देश्यीय कवर्डहलका लागि प्रदेश सरकारले थप एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उनले बजेट कार्यान्वयनमा सम्बन्धित निकायले सक्रियता देखाउनुपर्ने आवश्यकता औँल्याए।