सरकारी सेवा, विशेषगरी निजामती सेवामा प्रवेश गर्ने सपना धेरै युवाको हुन्छ। तर त्यस्तो अवसर सबैले प्राप्त गर्न सक्दैनन्। नेपाल सरकारका सहसचिव बसन्त बोहरा त्यस्ता सफल व्यक्तित्वमध्ये एक हुन, जसले शिक्षक पेशाबाट आफ्नो करियर सुरु गर्दै शाखा अधिकृत हुँदै सहसचिव पदसम्मको उल्लेखनीय सफलता हासिल गरे।
सुदूरपश्चिमको दुर्गम क्षेत्रबाट संघर्षपूर्ण जीवन यात्रा सुरु गरेका बोहराको सफलता सहज रूपमा प्राप्त भएको होइन। विद्यालयमा दिनभर ११ पिरियडसम्म अध्यापन गर्ने र बाँकी समय लोकसेवा आयोगको तयारीमा समर्पित गर्ने उनको दैनिकी अनुशासन, मेहनत र समय व्यवस्थापनको उत्कृष्ट उदाहरण हो। सीमित स्रोतसाधन, चुनौतीपूर्ण शैक्षिक वातावरण र प्रतिस्पर्धात्मक परीक्षाको दबाबका बीच पनि उनले आफ्नो लक्ष्यप्रति अटल विश्वास कायम राखे।
लोकसेवा आयोगलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय संस्थाका रूपमा लिइने भएकाले यसमार्फत सरकारी सेवामा प्रवेश गर्ने चाहना धेरैको हुन्छ। तर सफलता प्राप्त गर्न केवल धेरै घण्टा अध्ययन गर्नु पर्याप्त हुँदैन, विषयवस्तुको गहिरो बुझाइ, विश्लेषण क्षमता, निरन्तर अभ्यास र स्पष्ट लक्ष्य आवश्यक पर्ने बोहराको अनुभव छ।
नेपाल सरकारको सहसचिव पदसम्म आइपुग्दासम्म उनले भोगेका कठिनाइ, संघर्ष, लोकसेवा तयारीका अनुभव र सफलताका सूत्र तथा युवाहरूका लागि उनका सुझावबारे केन्द्रित रहेर चैतन्य खबरका लागि रोहित शर्माले गरेको विशेष कुराकानी प्रस्तुत गरिएको छ:
१– आफ्नो बाल्यकाल, शिक्षा र व्यक्तिगत जीवनको बारेमा केही बताउनुहुन्छ कि ?
मेरो जन्म बझाङ जिल्लाको बुङगल नगरपालिका–११ भएको हो। मेरो प्रारम्भिक शिक्षा बुङगलकै शिव माविबाट भयो। कक्षा १ देखि ८ सम्म त्यही विद्यालयमा पढेँ। त्यसपछि ९ र १० कक्षाको लागि केदार उच्च माविमा भर्ना भएँ। बाकीँको शैक्षिक यात्रा कञ्चनपुर हुँदै काठमाडौं सम्म आइपुग्यो ।
२– स्कुल पढ्दाखेरि कस्तो खालको कठिनाइहरू वा कस्तो खालको वातावरण थियो ?
विद्यालयमा शैक्षिक गुणस्तरको हिसाबले केही चुनौतीहरू थिए। पाठ्यपुस्तकको अभाव थियो, विद्यालय टाढा थियो, पैदल हिँड्नुपर्ने बाध्यता थियो। विद्यालयमा पठन–पाठनको वातावरण र पुस्तकालयको सुविधा त्यति राम्रो थिएन। यद्यपि, त्यहाँको वातावरण र परिवेशले मेरो सिकाइमा सकारात्मक प्रभाव पार्यो।
३– लोकसेवाको तयारी कसरी सुरु गर्नुभयो ?
मेरो परिवारमा म सानैदेखि बुबा शिक्षक हुनुहुन्थ्यो, जसले मलाई अध्ययनमा थप प्रेरणा दिन्थ्यो। परिवारको वातावरणले पनि मलाई अध्ययनमा सघाउ पुर्यायो। लोकसेवाको तयारीको बारेमा मेरो बुझाइ अलि ढिलो भयो, तर केही साथीहरूको सहयोगमा मैले तयारी सुरु गरेँ। दिनमा ११ पिरियड पढाउने काम र बाँकी समय लोकसेवाको अध्ययनमा लगाउने गर्थें।
४– लोकसेवाको पाठ्यक्रम र त्यसको तयारीलाई कसरी व्यवस्थापन गर्ने ?
लोकसेवाको पाठ्यक्रम निकै विशाल छ, त्यसैले यसलाई व्यवस्थापन गर्न सुझबुझपूर्ण योजना आवश्यक पर्छ। मेरो अनुभवमा, २०७० सालमा मैले पहिलो पटक लोकसेवाको परीक्षा दिँदा नै यसको तयारी सुरु गरेको थिएँ। त्यतिबेला म एउटा निजी विद्यालयमा पढाउँथें र दिनको १० देखि ४ बजेसम्म पढाएर बाँकी समय लोकसेवाको तयारीमा लगाउँथें। म बिहानै लोकसेवाको कक्षा पढ्ने गर्थें र बेलुकी घर फर्केर फेरि तयारीलाई निरन्तरता दिने गर्थें। यसरी तीन–चार महिना निरन्तर मेहेनत गर्दा मेरो तयारीले एक प्रकारको आधार तयार पार्यो, जसले पछि पढाउँदा समेत समयको सन्तुलन मिलाउन मद्दत गर्यो।
यद्यपि अब यति भन्दै गर्दा खेरि यो क्षमता हुनै हुदैन, अब क्षमता बिहिन पनि स्ट्रगलले मात्रै गर्छ भन्ने विषय पनि होइन। क्षमता पनि सँगसँगै उत्तिकै माने राख्छ। पढाईका कुराहरू, देखेका कुराहरू, गरि त्यसलाई बुझ्ने क्षमता र त्यसलाई चाहिँ एउटा आफ्नो अण्डरस्ट्यान्डिङ्ग बनाएर एउटा ढङ्गले विश्लेषण गर्ने, एउटा आफ्नो दृष्टिकोण निर्माण गर्ने विषय पनि हो अध्ययन भन्ने कुरा। त्यसै भएको हुँदा खेरि यहाँहरूले एउटा प्यासनेट ढङ्गले लाग्नुभयो, भित्रै बाट तपाई जेनुइन्ली लाग्नुभयो भने धेरै टाढाको विषय छैन।
तर म पर्सनली चाहिं के सजेस्ट गर्छु भने फेरि लोकसेवा आयोगको तयारी गर्दै गर्दा खेरि दुई(तीन पटक तयारी गरिसक्नुभयो, धेरै मेहनत गरिसक्नुभयो,तर नाम निक्लीन सकेको छैन भने, यहाँहरूले त्यसलाई एकदमै जीवन पद्धतिको रूपमा लोकसेवा बनाउनुपर्छ भन्ने विषय होइन। यहाँहरूले कतिपय सन्दर्भमा लोकसेवा तयारी गर्दै(गर्दै जाने, गर्दै(गर्दै जाने, अब जसरी पनि म नाम निकाली सकेपछि म के गर्छु भन्ने खालको सोच राख्ने, नामै निकालेर मात्रै बरु म अन्त जान्छु भन्ने खालको सोच राख्ने साथीहरूका लागि, तपाईहरू एकचोटि राम्रोसँगले मेहनत गरेर लाग्नुस्।
त्यसलाई एक–दुई वर्ष यसो हेर्नुस्। राम्रोसँगले दिनुस्। अनि त्यसपछि तपाई काम गर्दै लोकसेवा तयारी गर्नुस्। किनभने तपाईलाई मेन्टली चाहिँ बर्डन फिल नहोस् जस्तो, सँगै काम गर्दै लोकसेवालाई साइड(बाई(साइड, तपाईलाई लकले कतिबेला पेपर गर्छ, अलिकति लक पनि चाहिन्छ नै। एउटा लेबलको मेहनत नभईकन त लक आउँदै आउँदैन। यद्यपि मेहनत र लक चाहिँ सँगसँगै जाने भएको हुँदा खेरि यहाँहरूले नाम निस्किएन, म के गर्ने होला, कसो गर्ने होला भन्ने खालको पछि निराशा हुनुभन्दा काम गर्दै एउटा लेबलको तयारी गर्दा ठिक छ।
५– तपाईंले लोकसेवा आयोगको तयारीलाई कसरी हेर्नुहुन्छ र यसको लागि कस्तो दृष्टिकोण आवश्यक छ ?
म व्यक्तिगत रूपमा मेहनतमा विश्वास गर्ने मान्छे हुँ। लोकसेवाको तयारी भनेको केवल रटाउने कुरा मात्र होइन, यो आफूले देखेका र पढेका कुराहरूलाई बुझ्ने, विश्लेषण गर्ने र एउटा आफ्नै दृष्टिकोण बनाउने प्रक्रिया हो। यदि कोही पूर्ण समर्पण र लगनका साथ लाग्नुहुन्छ भने सफलता धेरै टाढाको विषय होइन। तर, मेरो सुझाव के छ भने लोकसेवाको तयारीलाई मात्रै जीवनको एकमात्र उद्देश्य बनाउनु हुँदैन। यदि केही वर्षको प्रयासमा पनि सफलता मिलेन भने निराशामा डुब्नुको सट्टा अन्य कुनै काम गर्दै, साइड–बाई–साइड यसको तयारीलाई निरन्तरता दिनुपर्छ। यसो गर्दा मानिसमा मानसिक दबाब हुँदैन र भाग्यमा जे लेखिएको भए पनि, आफ्नो करियरले एउटा सुरक्षित बाटो पाइसकेको हुन्छ।
एक वर्ष राम्रोसँगले आफूले दिन मिल्ने जति क्षेत्र छन्, त्यो क्षेत्रको राम्रो तयारी गरेर डिप, सार्प, एउटा फन्डामेन्टल नलेज बनाउने। त्यसपछि त्यो काम गर्दै जाँदा खेरि झन् त्यसले तपाईलाई पुश गरिराख्या हुन्छ, त्यसले पोजिटिभ नै दिइरहन्छ । र अनि साइमल्टेनियसली तपाईले बाइ द वे कदम(कदाचित लोकसेवा तपाईको भाग्यमै रहेनछ, तपाई क्षमतावान हुँदै–हुँदै, क्वालिटी हुँदा–हुँदै तपाईसँग तपाईको भाग्यमै लोकसेवा रहेनछ भने, त्यो प्राप्ति नहुन पनि सक्छ भन्ने विषय पनि हो।
त्यसो भएको हुँदा खेरि, साइमल्टेनियसली अल्टरनेटिभ ढङ्गले काम गर्दै, पढ्दै गर्नुभयो भने त्यसले अझ बढी कन्ट्रिब्युसन गर्छ जस्तो लाग्छ। यहाँहरू जति पनि लोकसेवामा लागि राख्नुभएको छ, एकदमै साइमल्टेनियसली काम सँगसँगै यसलाई लानुभयो भने पछि कदम–कदाचित तपाई लोकसेवामा सफल नहुँदै गर्दा खेरि पनि आफूलाई ठिकै ठाउँमा पाउनुहुन्छ। फर्केर हेर्दा मैले ठिकै गरेको छु म ठिक छु भन्ने खालको अवस्था पाउनुहुन्छ। र अब विदेशको सन्दर्भमा पनि उता पनि अझ अर्को लेबलको दुख छ। त्यसो भएको हुँदा खेरि यहाँहरूले आफूलाई करियर प्लान बनाएर त्यही अनुसार स्ट्रङली डेडिकेटेड भएर लाग्नुभयो भने पक्कै पनि सफलता यहाँहरूको हातमा हुनेछ। र सफलता क्र्याक गर्न सक्नुहुन्छ जस्तो लाग्छ।ू
म स्ट्रगल गर्न सक्ने खालको मान्छे हुँ। मलाई लाग्न सक्ने खालको मान्छे हुँ जस्तो आफूलाई लाग्छ।
६– आजकलका युवाहरूमा देखिने छटपटी र दुई जनाको बीचमा हुने ग्यापलाई कसरी हेर्नुहुन्छ ?
हेर्नुहोस्, यो जीवनको एक स्वाभाविक प्रक्रिया हो। हामी सबै आ(आफ्नो क्षमता र भाग्यका आधारमा फरक छौँ। मानिसहरूका बीचमा विविधता हुनु स्वाभाविक हो र सबैसँग समान अवसर वा सफलताको गतिको अपेक्षा गर्न सकिँदैन। सामाजिक सञ्जालमा देखिने अन्य साथीहरूको प्रगतिले कहिलेकाहीँ युवाहरूलाई फ्रस्ट्रेटेड बनाउन सक्छ, तर त्यस्तो अवस्थामा आफ्नो करियर प्लान बनाएर, स्ट्रङली डेडिकेटेड भएर लाग्नु नै उत्तम उपाय हो। अरूसँगको तुलनामा नअल्मलिई, काम गर्दै र पढ्दै गर्नुभयो भने कदम(कदाचित लोकसेवामा सफल नभए पनि, पछि फर्केर हेर्दा आफूलाई सधैं ठिक ठाउँमा पाउनुहुन्छ।
७– लोकसेवा आयोगको निष्पक्षता र विश्वसनियतालाई तपाईँ कसरी हेर्नुहुन्छ ? साथै, लोकसेवा तयारी गरिरहेका युवाहरूका लागि कस्तो प्रकारको अध्ययन तालिका हुनुपर्छ ? केही महत्त्वपूर्ण सुझावहरू दिनुहोस्।
मेरो व्यक्तिगत बुझाइमा, म आफूभन्दा पनि बढी विश्वास लोकसेवा आयोगलाई गर्छु। मलाई सधैँ यो संस्थाप्रति विशेष खालको ‘फिल’ वा अपनत्व महसुस हुन्छ। आजको दिनमा पनि, यो संस्थाले निष्पक्षता, पारदर्शीता र समान अवसरको वातावरण सिर्जना गरेको छ, जसका लागि म यहाँका नेतृत्व र कर्मचारीहरू प्रति सधैँ कृतज्ञ छु।
अर्को लोकसेवा तयारीका लागि कति घण्टा पढ्ने भन्दा पनि, तपाईँले पढेका विषयवस्तुलाई कतिको आत्मसात गर्न सक्नुहुन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। पहिलो पत्र सामान्य जानकारीका लागि हुन्छ भने, दोस्रो र तेस्रो पत्रमा विषयवस्तुको गहनता, त्यसको अवधारणात्मक पक्ष र नेपालको सन्दर्भमा यसको उपयोगिता बुझ्न आवश्यक हुन्छ। तयारी गर्दा विषयवस्तुमा ग्याप छ कि छैन भनी ‘शर्ट एनालाइसिस’गर्न र त्यसलाई कसरी सुधार गर्न सकिन्छ भनी सोच्नुपर्छ।
८– लोकसेवामा लाग्ने युवाहरूलाई तपाईंको सन्देश के छ ?
जुनसुकै काम वा क्षेत्रमा प्रवेश गर्दा सबैभन्दा महत्वपूर्ण कुरा प्यासन् वा लगाव हो। व्यक्तिले कतिसम्म प्यासनेट छ भन्ने कुराले उसको सफलतामा महत्वपूर्ण भूमिका खेल्छ। लोकसेवा एउटा बाटो मात्र हो, तर यसभित्र थुप्रै अवसरहरू छन्। हामीले आफ्नो पेशा वा क्षेत्रमा पूर्ण इमानदार र समर्पित भएर काम गर्न सक्यौं भने सफलता निश्चित छ। म आफैं पनि कहिलेकाहीं टपर भएँ, कहिले दोस्रो वा तेस्रो स्थानमा रहेँ, तर यी सबै सफलताको पछाडि मेरो लगाव र मेहेनत नै मुख्य आधार बनेको थियो। तसर्थ, लोकसेवाको तयारी गरिरहनुभएका सबैले दृढ भएर लाग्नुहोस्, यो त्यति गाह्रो विषय होइन। अर्को पढाइको समय निश्चित हुनुपर्छ। कुनै एउटा विषयमा पकड जमाउन र राम्रोसँग बुझ्नको लागि कुनै टपिकमा एक दिनभन्दा बढी समय लाग्न सक्छ। मेरो अनुभवमा, मैले तयारी गर्दा लगभग तीन महिनासम्म प्रतिदिन १२ घण्टा जति पढेको थिएँ। यसले मलाई आधारभूत ज्ञान निर्माण गर्न मद्दत पुर्यायो। तसर्थ, धेरै पढ्नुभन्दा पनि पढेको कुरालाई गहिराइमा बुझेर त्यसको ज्ञान र समयको तालमेल मिलाउन सकेमा लोकसेवाको तयारी सफल हुन सक्छ।