काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ को मतगणना प्रक्रियालाई लक्षित गरी उच्चस्तरीय सुरक्षा व्यवस्थापन गरिएको छ। सुरक्षा संवेदनशीलता मूल्यांकनका आधारमा मतगणनास्थलमा भौतिक संरचना सुदृढ पारिएको प्रशासनले जनाएको छ।
मतगणना हुने परिसरको चारैतर्फ तारजाली जडान गरिएको छ भने भवनका झ्यालहरूमा समेत सुरक्षा बार लगाएर नियन्त्रणात्मक उपाय अवलम्बन गरिएको छ। सम्भावित भीड व्यवस्थापन, प्रवेश(नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न बहुस्तरीय सुरक्षा घेरा तयार गरिएको जनाइएको छ।
उक्त निर्वाचन क्षेत्र प्रमुख दलका शीर्ष नेतृत्व प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएपछि राष्ट्रिय स्तरमै चासोको केन्द्र बनेको छ। केपी शर्मा ओली (नेपाल कम्युनिष्ट पार्टी(एमाले) र बालेन साह (राष्ट्रिय स्वतन्त्र पार्टी)बीचको प्रतिस्पर्धाका कारण सुरक्षा निकायले अतिरिक्त सतर्कता अपनाएको हो। दुवै दलले उनीहरूलाई भावी प्रधानमन्त्रीको दावेदारका रूपमा अघि सारेका छन्।
यस क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट मन्दरा चिमरिया तथा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट रञ्जित तामाङसहित कुल २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
अघिल्ला निर्वाचनहरूमा केपी शर्मा ओली निरन्तर निर्वाचित हुँदै आएका छन्। तर यसपटक बालेन साह निर्वाचन क्षेत्रमा सक्रिय भएपछि प्रतिस्पर्धा थप चर्किएको छ। प्रशासनले मतगणना प्रक्रिया पारदर्शी, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सबै संयन्त्र परिचालन गरिएको जनाएको छ।