लोकतान्त्रिक समाज निर्माणमा परिवार, शिक्षा, मानवीय मूल्य र अध्यात्मवाद    - Chaitanya News
  • 2026-04-25
  • 15:31:26
  • शनिबार,बैशाख १२, २०८३
  • लोकतान्त्रिक समाज निर्माणमा परिवार, शिक्षा, मानवीय मूल्य र अध्यात्मवाद   

    लोकतान्त्रिक समाज निर्माणमा परिवार, शिक्षा, मानवीय मूल्य र अध्यात्मवाद   

    तोमनाथ उप्रेती:

     उपसचिव ,नेपाल सरकार:

    वर्तमान समयमा प्रविधिको तीव्र विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशहरूमा मानवीय मूल्य कमजोर बन्दै गएका छन्, जसलाई सबैले गम्भीर चिन्ताको विषयका रूपमा लिएका छन्। मानव भएर जन्मिएपछि मानवता प्रदर्शन गर्नु प्रत्येक व्यक्तिको दायित्व हो। यसप्रति बेवास्ता हुँदा समाजमा मानवीय मूल्यको ह्रास देखिन थालेको छ। यो समस्या नेपाली समाजमा पनि स्पष्ट छ। गलत संस्कार, क्षणिक स्वार्थ र धर्म–संस्कृतिको नाममा गरिने राजनीतिले समाजलाई नकारात्मक दिशातर्फ डोर्याइरहेको छ। त्यसैले उचित शिक्षा, सकारात्मक सोच र संयमित प्रविधि प्रयोग अत्यावश्यक छ।

    लोकतन्त्रलाई सामान्यतया शासन प्रणालीका रूपमा बुझिन्छ।लोकतन्त्रमा जनता सार्वभौम हुन्छन्, संविधान सर्वोच्च हुन्छ र सत्ता जनताको मतबाट निर्माण हुन्छ। तर लोकतन्त्रको वास्तविक सार मानवीय मूल्य र नैतिक आचरणमा निहित हुन्छ। यी नै तत्वहरू लोकतान्त्रिक समाजका मेरुदण्ड हुन्, जसबिना लोकतन्त्र केवल खोक्रो संरचना मात्र बन्छ।

    मानवीय मूल्य भनेका करुणा, सहिष्णुता, समानता, सम्मान, सत्य र न्यायजस्ता सार्वकालिक गुणहरू हुन्। यी मूल्यहरूले व्यक्तिलाई कर्तव्यप्रति उत्तरदायी बनाउँछन्। लोकतन्त्रमा सबै नागरिक समान हुन्छन् भन्ने सिद्धान्त व्यवहारमा तब मात्र सम्भव हुन्छ, जब समाजका सदस्यहरू एक–अर्काको गरिमा र अस्तित्वप्रति संवेदनशील हुन्छन्। अधिकारको मागसँगै कर्तव्यको बोध नहुँदा लोकतन्त्र स्वार्थ, भीड र अराजकतामा रूपान्तरित हुन सक्छ।

    नैतिक आचरण लोकतान्त्रिक जीवनको व्यवहारिक पक्ष हो। नैतिकता भनेको बाह्य नियन्त्रणको भयले होइन, आन्तरिक विवेकले निर्देशित आचरण हो। जब राजनीतिज्ञ, प्रशासक र नागरिकहरू नैतिक विवेकबाट निर्देशित हुन्छन्, तब कानून न्यूनतम हस्तक्षेपकारी हुन्छ। तर नैतिकता कमजोर हुँदा, संविधान र कानून पनि शक्तिशालीहरूको हातमा दमनको औजार बन्न सक्छन्। त्यसैले नैतिक आचरण लोकतन्त्रको आत्म–अनुशासन हो।

    लोकतन्त्र विवेकपूर्ण सहअस्तित्वको अभ्यास हो। प्लेटोदेखि अरस्तु र आधुनिक चिन्तकहरू सम्मले शासनको नैतिक आधारमाथि जोड दिएका छन्। बहुमतको निर्णय पनि यदि नैतिक मूल्यविहीन भयो भने, त्यो अन्यायपूर्ण हुन सक्छ। त्यसैले लोकतन्त्रलाई संख्या होइन, चेतनाले मार्गदर्शन गर्नुपर्छ।

    नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ । यी संस्थाहरुले मानिसलाई नैतिक मुल्य र मान्यता सिकाउन र राज्यप्रतिको दायित्व बढाउन जोड दिन्छ । पारिवारिक मूल्य मान्यता तथा संस्कारबाट नै व्यक्तिको मूल्य निर्धारण हुन्छ अझ यसले व्यक्तिलाई समाजसँग जोड्नमा ठूलो सहयोग गदर्छ । मूल्य र मान्यतालाई समाजले स्वीकृति वा अस्वीकृति प्रदान गर्ने हुँदा व्यक्तिले सामाजिकीकरणका अधारभूत सीपहरु समेत परिवारबाटै प्राप्त गर्दछ । अतः व्यक्तिले अपनाउने मूल्य र मान्यताको विकासमा परिवारको अहम् भूमिका रहन्छ । परिवार कुनैपनि व्यक्तिको नैतिक मुल्य र मान्यता सिक्ने पहिलो महत्वपुर्ण पाठशाला हो । परिवारको प्रत्येक सदस्यले गर्ने व्यवहार, हाउभाउ तथा उनीहरुको जीवनशैली तथा उनीहरुले सिकाउने संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ । त्यसकारण पनि मानिसको नैतिक मूल्य र मान्यताको विकास गर्न पारिवारिक सिकाईको महत्वपुर्ण भूमिका हुन्छ । त्यसको लागि पनि परिवार तथा समाजले असल मूल्यको विकास र व्यवहारको प्रर्दशन गर्नुपर्छ ।

    मानव मूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान,सीप र कौशल मात्र सिकाउँदैन, त्यो संगै यसले सबैप्रति आदरभाव,असल चरित्र निर्माण,वातावरणीय तत्वहरूको संयमित उपयोग र सिङ्को जीवजगतप्रति नै करुणा,मैत्री,सहअस्तित्व र प्रेमभाव सिकाउँछ । मानव मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन,सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ । “सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।“ यो शास्वत उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ । सवको हाम्रो समृद्धि यसै नारावाट निर्देशित हुनु पर्दछ । हाम्रा पुर्खाहरुले अभ्यास गरेको सर्वजन हिताय,सर्वजन सुखायको मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन् । यिनको महत्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ । विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञान प्रविधिसँंग जोड्नु आवश्यक छ । मानवीय जीवनको महत्वपूर्ण पक्षहरु सत्य, अहिंसा, प्रेम,दया, शान्ति र करुणालाई मानवीय मूल्यको रुपमा विश्वले स्वीकारेको छ । मानवीय मूल्यहरु नै सामाजिक र धार्मिक मूल्यको आधारस्तम्भ हुन् ।

    मानवीय मूल्यमा मानवको अवधारणा, विचार, विश्वास, मनोवृत्ति, वफादारीता,वुद्धि,विवेक,चेतना,आदर,सत्कार, प्रेम, स्नेह आदि मानवीय गुणहरू समावेश हुन्छन्। यी मानवीय मूल्यहरू एकातिर व्यक्तिको विवेकद्वारा नियन्त्रित हुन्छन् भने अर्कोतर्फ तिनको संस्कृति र परम्परालाई क्रमशः पालनपोषण गरिन्छ । वसुधैव कुटुम्बकम्, सर्वेभवन्तु सुखिनः र बहुजनहितायलाई मानवीय मूल्य मान्यताको महत्वपुर्ण मानक मानिन्छ । मानव मूल्य एक व्यापक अवधारणा हो। सामान्यतया यसमा ती सबै मूल्यहरू समावेश हुनुपर्छ जुन मानवको चौतर्फी विकाससँग सम्बन्धित छन् । समाजमा रहेका अनेक किसिमका विकृति विसङ्कती हटाउन र समाजमा सद्भाव ल्याउन मानवीय मूल्य मान्यताको विकास आवश्यक पर्दछ। मानवीय मूल्यमा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिइन्छ र मानवीय मूल्यमा नै सम्पूर्ण मानव जातिको कल्याण निहित रहेको कुरा पनि स्पष्ट गरिएको छ । अर्थात् मानवीय मूल्यमान्यता सर्वव्यापी र सार्वजनिक हिततर्फ अघि बढ्छ । यसमा जनहित र मानव उत्थानका लागि आफूले बलिदान गर्छु भन्ने भावना प्रत्येक व्यक्तिमा निहित हुन्छ  ।

    पारिवारिक सिकाइबाट नै समाजको संरचनाको निर्धारण हुन्छ। समाजमा बसोबास गर्ने मानिसहरूको आनीबानी, रहनसहन, आहारविहार, शिक्षाको अवस्था र विगतदेखि चलेका चलनचल्तीहरूको समग्रताले समाजको स्वरूप निर्माण गर्दछ। समाजका सदस्यहरूको नैतिक मूल्यमान्यताबाट नै सामाजिक संस्कारको विकास हुन्छ, जसले व्यक्तिको मानसिक वृद्धि र समग्र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्दछ। त्यसैले परिवारले नैतिक, संस्कारयुक्त र सकारात्मक वातावरण निर्माण गर्न सक्नुपर्छ।

    सद्गुणी, विवेकी, आचरणयुक्त र न्यायपूर्ण व्यक्तिहरूले मात्र समाजप्रति सकारात्मक धारणा निर्माण गर्न सक्छन् र समाजमा अर्थपूर्ण योगदान दिन सक्छन्। यसका लागि असल सिकाइका अभ्यासलाई प्रवर्द्धन गर्दै समाजमा विद्यमान विभेद, कुरीति र कुसंस्कारलाई नियन्त्रण गर्नुपर्छ। व्यक्तिको मूल्यप्रणालीमा सकारात्मक परिवर्तन ल्याउने, नैतिक आचरणयुक्त सामाजिक वातावरण निर्माण गर्ने र सामाजिक व्यवहारलाई सामाजिक हितअनुकूल बनाउन प्रेरित गर्नु आवश्यक छ। समय–समयमा जनचेतनामूलक कक्षा सञ्चालन गर्ने, सामाजिक क्लब तथा संघसंस्थाहरूलाई परिचालन गरी सामाजिक विकृतिको अन्त्यतर्फ लाग्नु अपरिहार्य छ।

    शिक्षा मूलतः मानव मूल्यहरूको अभिवृद्धि गर्ने प्रक्रिया हो। सत्य, धर्म, शान्ति, प्रेम र अहिंसाजस्ता मानव मूल्यलाई बुझेर व्यवहारमा लागू गर्न सक्ने व्यक्ति नै वास्तविक अर्थमा शिक्षित व्यक्ति हो। तर नेपालको सन्दर्भमा पछिल्ला दशकहरूमा परिवार विखण्डन, पश्चिमी संस्कृतिको अतिक्रमण, भौतिकवाद, भ्रष्टाचार र सामाजिक मूल्यको ह्रास देखिनु मूल्यआधारित शिक्षाको अभावकै परिणाम हो। वर्तमान शिक्षा प्रणालीले ज्ञान त दियो, तर सन्तुलित जीवन कसरी बाँच्ने भन्ने सिकाउन सकेन।

    आज शिक्षा व्यापारको वस्तु बन्दै गएको छ, जसले मानवलाई यन्त्रमा रूपान्तरण गर्ने प्रयास गरिरहेको छ। वास्तविक शिक्षा भनेको जीवनको मूल्यबोध गराउनु, मानवीय संवेदना जगाउनु, असफलतामा धैर्य र संघर्षमा साहस सिकाउनु हो। किताब र डिग्री मात्र जीवनका मापन होइनन्; इमानदारी, जिम्मेवारी र उत्तरदायित्व नै मानवताको वास्तविक पहिचान हुन्।

    अध्यात्मवादले आत्मालाई जीवनको केन्द्र मानेर सत्य, धर्म र शान्तिका साथ जीवन यापन गर्न प्रेरित गर्छ। यसले करुणा, सहिष्णुता, सहअस्तित्व र सहयोगी भावनाको विकास गराउँछ। साथै, समाजका बुद्धिजीवी, प्रबुद्ध वर्ग र राजनेताले अनुकरणीय चरित्र प्रदर्शन गर्नुपर्छ, किनकि उनीहरू समाजका लागि मार्गदर्शक हुन्।

    लोकतान्त्रिक समाज निर्माणका लागि शासन प्रणाली स्वच्छ, पारदर्शी, जवाफदेही र परिणाममुखी हुनुपर्छ। नातावाद, कृपावाद र चाकरी जस्ता विकृतिलाई अन्त्य गर्दै मानवीय मूल्य, मूल्यमा आधारित शिक्षा, नैतिक शिक्षा र अध्यात्मवादलाई व्यवहारमा उतार्न सके मात्र सामाजिक न्याय, विकास र समृद्धिको सपना साकार हुन सक्छ।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् )