काठमाडौँ– नेपाली सेनाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो सुरक्षा जिम्मेवारी स्पष्ट पारेको छ। आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै सेनाले निर्वाचनमा तेस्रो घेराको सुरक्षा प्रदान गर्नुका साथै मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने जनाएको छ।
विज्ञप्ति अनुसार, नेपाली सेनाको जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्यहरू “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४“ र “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२“ अनुसार सञ्चालन भइरहेको छ।
विज्ञप्तिमा भनिएको छ, विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि मतदान समापन भएपछि स्थापित प्रोटोकल अनुरूप मतपेटिका ढुवानी गरिनेछ। जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू र नेपाली सेनासहितको एकीकृत टोलीले मतपेटिकालाई मतगणना स्थलसम्म सुरक्षित रूपमा पुर्याउने कार्य गर्नेछन्।
नेपाली सेनाले वि.सं.२०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि नै निर्वाचन सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराएको छ।
सम्बद्ध सबै निकायहरूसँगको समन्वय र सहकार्यमा एकीकृत सुरक्षा योजनाअनुसार आसन्न निर्वाचनलाई सुरक्षित र भयरहित रूपमा सम्पन्न गराउन आफू पूर्ण प्रतिबद्ध रहेको नेपाली सेनाले स्पष्ट पारेको छ।