३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जनाले मात्र खोले बैंक खाता - Chaitanya News
  • 2026-04-25
  • 17:22:20
  • शनिबार,बैशाख १२, २०८३
  • ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जनाले मात्र खोले बैंक खाता

    ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जनाले मात्र खोले बैंक खाता

    काठमाडौँ– आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जनाले मात्र बैंक खाता खोलेका छन्।

    यस्तै निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका निर्वाचन आयोगले जनाएको छ। खाता खोल्ने दलमा काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेकपा, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन्।

    निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको छ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार खाता खोल्ने व्यवस्था गरिएको छ।

    समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधिअनुसार निर्वाचन प्रचारप्रसारका लागि खाता खोल्नुपर्छ। सोही खातामार्फत आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार गर्न भनिएको छ।