काठमाडौं– अमेरिका र इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने तय भएको छ। यो जानकारी इरानका विदेशमन्त्री अब्बास अरागचीले दिएका हुन्।
उनले सामाजिक सञ्जाल एक्समा लेख्दै शुक्रबार स्थानीय समय अनुसार बिहान करिब १० बजे ओमानको राजधानी मस्कटमा वार्ता हुने जानकारी दिएका छन्। उनले वार्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइदिएकोमा ओमान सरकारप्रति आभार पनि व्यक्त गरेका छन्।
अमेरिका र इरानबीच लामो समयदेखि परमाणु कार्यक्रमलाई लिएर तनाव रहँदै आएको छ। सन् २०१५ मा भएको परमाणु सम्झौता (जेसीपीओए) अनुसार इरानले आफ्नो परमाणु गतिविधि सीमित गरेमा उसमाथि लगाइएका प्रतिबन्ध हटाउने सहमति भएको थियो।
तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेपछि सम्बन्ध थप जटिल बनेको थियो।
त्यसयता दुवै देशबीच प्रत्यक्ष संवाद ठप्प जस्तै छ भने प्रतिबन्ध र आरोप–प्रत्यारोप जारी छ।
पछिल्लो समय इरानमा सरकारविरोधी प्रदर्शनमा भएको दमन र परमाणु कार्यक्रमलाई लिएर ट्रम्पले आक्रमणको धम्की दिएका थिए। इरान वरपर लडाकु सेना तैनाथ गरेको छ।
इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले पनि इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका थिए।
अमेरिका–इरान तनावले खाडी देशहरुमा त्रासको वातावरण बनेको थियो। साथै अन्तर्राष्ट्रिय चासो बढेसँगै वार्ताका लागि कूटनीतिक पहल पुनः तीव्र बनेको थियो।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यदि इरानले यही हप्ता वार्ता गर्न चाह्यो भने अमेरिका तयार रहेको बताएका थिए।
उनले वार्ताको एजेण्डमा इरानको परमाणु कार्यक्रमसँगै मिसाइल कार्यक्रमसमेत समावेश हुनुपर्ने धारणा व्यक्त गरेका छन्।