काठमाडौँ– आज (मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेलले जापानका सम्राट नारुहितोलाई भेटेका छन्। जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार पुगेको हो। सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो।
सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्।
“जापानले नेपाललाई मानव संसाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नालगायत क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वित भएका छन्”, जापानका सम्राट नारुहितोसँग भएको कुराकानीमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनले दुवै देश गौतम बुद्धको शिक्षा र आदर्शबाट प्रेरित रहेको पनि बताए। “बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ”, राष्ट्रपति पौडेलले भने।
दुवै देशबीच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापनायता अझ निकट र गहिरो मित्रताको साथ अघि बढेको राष्ट्रपति पौडेलको भनाइ थियो। “यस वर्ष हामीले मनाउँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव हामीबीच स्थापित द्विपक्षीय सम्बन्धको एक कोशेढुंगा हो”, राष्ट्रपति पौडेलले भने।
उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुवै देशबीचको सम्बन्धलाई थप मजबुत बताएको बताउँदै राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट नारुहितोले गर्नुभएको मैत्रीपूर्ण तथा विशिष्ट भ्रमणका क्रममा काठमाडौँ, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमणको स्मरण गरेका छन्। साथै, उनले सन् २०२० मा आफूलाई ग्राण्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सनबाट विभूषित गरेकोमा सम्राट र जापान सरकारप्रति आभार व्यक्त गरे।
राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि आभार प्रकट गर्दै सम्राट र साम्राज्ञीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा गरे ।
सो अवसरमा जापानका सम्राट नारुहितोले नेपाल जापान कूटनीतिक सम्बन्धको वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताए। सो अवसरमा उनले सन् १९८६ मा आफूले गरेको नेपाल भ्रमणको याद आफूलाई अझै ताजै रहेको उल्लेख गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।