काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले युवामा अनुशासन, नैतिकता र राष्ट्र सेवाको भावना विकास गर्नु राज्यको प्राथमिकता भएको स्पष्ट पारेकी छन्।
आज (मंगलबार) राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी कार्कीले समारोहलाई सम्बोधन गर्दै हजारौँ युवामध्येबाट छनोट भई तालिम पूरा गरेका क्याडेटहरूलाई बधाई दिँदै अनुशासित, चरित्रवान र राष्ट्रप्रति समर्पित युवा नै देशको आधार स्तम्भ भएको उल्लेख गरिन्।
“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शअनुसार राष्ट्रिय सेवा दलले युवालाई देश, संस्कृति, इतिहास र राष्ट्रिय पहिचानप्रति जिम्मेवार नागरिक बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन्।
यस्तै,प्रधानमन्त्री कार्कीका अनुसार उक्त तालिमको अर्को प्रमुख उद्देश्य विपद्का बेला उद्धार, राहत र सेवाका कार्यमा परिचालन गर्न सकिने प्रशिक्षित स्वयंसेवक तयार गर्नु हो, जसमा कार्यक्रमले प्रभावकारी भूमिका खेलेको छ। तालिममार्फत क्यारेटहरूले आधारभूत सुरक्षा र सैनिक कला, समसामयिक ज्ञान, नेतृत्व क्षमता, सामूहिक भावना तथा राष्ट्रिय एकताको अभ्यास गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन्।
समारोहमा प्रदर्शन गरिएको कवाजले क्याडेटहरूको अनुशासन, अभ्यास र परिश्रम झल्किएको भन्दै प्रधानमन्त्री कार्कीले युवामा देखिएको आत्मविश्वास र उत्साहले समाज र राष्ट्र निर्माणमा उनीहरूको नेतृत्वदायी भूमिका थप सशक्त हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रमबारे जानकारी दिँदै प्रधानमन्त्रीले राष्ट्रिय सेवा दलले सरकारको नीतिअनुसार हरेक वर्ष क्याडेटको संख्या बढाउँदै दुर्गम तथा पिछडिएका क्षेत्रसम्म तालिम विस्तार गरिरहेको बताइन्। चालु आर्थिक वर्षमा देशभरका २५७ विद्यालयबाट ७ हजार ७१० जना क्याडेटलाई तालिम दिइएको छ, जसमा सिनियर डिभिजनतर्फ १ हजार ८० र जुनियर डिभिजनतर्फ ६ हजार ६३० जना रहेका छन्। हालसम्म करिब ९० हजार युवाले एनसीसी तालिम पूरा गरिसकेको तथ्य उनले उल्लेख गरिन्।