काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको बताएका छन् ।
आज (मंगलबार) झापा–५ का मतदातासँग कुराकानी गर्दै बालेनले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका हुन्।
यस्तै उनले मतदातासँग कुराकानी गर्दा शिक्षा र स्वास्थ्यका विषयमा संविधानमा भएको व्यवस्थाअनुरूप काम गर्न बजेट अभाव रहेको कुरा बताएका थिए । जसको जवाफमा एक मतदाताले ‘बजेट छैन भने प्रदेश संरचना खारेज गरे पर्याप्त पैसा बच्ने’ दाबी गरे।
त्यसपछि बालेनले भने, ‘होइन–होइन, प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो। त्यो पनि एक भ्रम हो। मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन।’
नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भएको भन्दै बालेनले मतदातालाई आश्वास्त पार्न खोजेका थिए।