काठमाडौँ– गृहमन्त्री ओम प्रकाश अर्यालले देशमा राजनीतिक हिंसा हुन नदिइएको र आगामी दिनमा पनि हुन नदिइने स्पष्ट पारेका छन्।
आज (मंगलबार) गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको समग्र सुरक्षा अवस्था नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनहरूमा देखिएका गतिविधि र सम्भावित चुनौतीहरूलाई मध्यनजर गरी गृह मन्त्रालयले सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जानकारी दिए। संवेदनशील क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको र आवश्यक स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ।
गृहमन्त्री अर्यालका अनुसार एकीकृत सुरक्षा कार्ययोजना तयार गरी जिल्ला तहसम्म कार्यान्वयनमा ल्याइएको छ। यसका लागि सबै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न भइसकेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय तहबीच सुरक्षा समन्वयलाई मजबुत बनाइएको बताए।
उनले सामाजिक सद्भाव, शान्ति र सुव्यवस्था कायम राख्नु सरकारको प्रमुख प्राथमिकता रहेको जनाउँदै कुनै पनि बहानामा हिंसा, अराजकता वा अस्थिरता फैलिन नदिइने स्पष्ट पारे।
पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले सुरक्षाकर्मीको मनोबल उच्च रहेको उल्लेख गर्दै सुरक्षा निकाय जिम्मेवारीपूर्वक परिचालित रहेको बताए। साथै, सुरक्षाकर्मीको सरुवा, बढुवा तथा काज–खटान निष्पक्ष र पारदर्शी रूपमा भइरहेको स्पष्ट पारे।
उनले पदको दुरुपयोग भएको भन्ने आरोपहरूलाई अस्वीकार गर्दै आफ्नो कार्यकालमा कुनै पनि पदको दुरुपयोग नभएको दाबी गरे। सुरक्षा संयन्त्रलाई व्यावसायिक, उत्तरदायी र निष्पक्ष बनाउनेतर्फ गृह मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ।