कैलाली–४ मा फेरि लेखराज भट्टः पाँचौँ प्रयासमा राजनीतिक पुनर्स्थापनाको खोजी - Chaitanya News
  • 2026-04-27
  • 12:42:42
  • सोमबार,बैशाख १४, २०८३
  • कैलाली–४ मा फेरि लेखराज भट्टः पाँचौँ प्रयासमा राजनीतिक पुनर्स्थापनाको खोजी

    कैलाली–४ मा फेरि लेखराज भट्टः पाँचौँ प्रयासमा राजनीतिक पुनर्स्थापनाको खोजी

    काठमाडौं– कैलाली निर्वाचन क्षेत्र–४ पछिल्लो डेढ दशकदेखि एक जना नेतासँग निरन्तर जोडिँदै आएको छ, लेखराज भट्ट। सशस्त्र विद्रोहकालदेखि संसदीय राजनीतिसम्म आइपुग्दा भट्टको राजनीतिक जीवन उतार–चढावले भरिएको छ। अब उनी यही क्षेत्रबाट पाँचौँ पटक प्रतिनिधि सभा सदस्यका लागि मैदानमा उत्रिँदै छन्।

    नेकपा एमालेले सुदूरपश्चिमका सबै १६ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउने क्रममा उपमहासचिव भट्टलाई कैलाली–४ बाट अघि सारेको छ। फागुन २१ गते हुने उपनिर्वाचनमा भट्टको उम्मेदवारी केवल एउटा चुनावी प्रतिस्पर्धा मात्र होइन, विगतका जित–हारलाई पल्ट्याउने अर्को राजनीतिक परीक्षा पनि हो।

    भट्टको संसदीय यात्रा २०६४ सालबाट सुरु हुन्छ। तत्कालीन नेकपा माओवादीका तर्फबाट पहिलो पटक चुनाव लडेका उनले नेपाली कांग्रेसका दिर्घराज भाटलाई पराजित गर्दै संसद प्रवेश गरे। त्यो निर्वाचन भट्टका लागि राजनीतिक उचाइको सुरुआत थियो।

    तर २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा परिस्थिती उल्टियो। त्यही क्षेत्रबाट कांग्रेस उम्मेदवार दिर्घराज भाटसँगै भट्ट पराजित भए। पाँच वर्षअघि जितेको क्षेत्रमा हार बेहोर्नु भट्टका लागि पहिलो ठूलो झट्का बन्यो।

    २०७४ सालमा एमाले–माओवादी गठबन्धन बनेपछि भट्टले पुनः अवसर पाए। गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनाव लडेका उनले कांग्रेस उम्मेदवार सुनिल कुमार भण्डारीलाई फराकिलो मतान्तरले हराउँदै दोस्रो पटक संसद पुगे। यसले भट्टलाई क्षेत्रको स्थापित नेताका रूपमा पुनः उभ्यायो।

    तर २०७९ सालको निर्वाचनमा गठबन्धन समीकरण फेरिँदा नतिजा पनि भट्टको पक्षमा रहेन। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धनका उम्मेदवार बिरबहादुर बलायरसँग उनी पराजित भए। करिब साढे तीन हजार मतको अन्तरले आएको हारले भट्टको राजनीतिक यात्रामा फेरि अर्को मोड ल्यायो।

    एमाले–माओवादी एकीकरण भंग भएपछिसमेत एमालेमै अडिग रहेका भट्टलाई पार्टीले पुनः भरोसा गर्दै मैदानमा उतारेको छ। चार पटकको प्रतिस्पर्धामा दुई जित र दुई हार व्यहोरेका उनी यसपटक ‘निर्णायक जित’को खोजीमा छन्।

    कैलाली–४ मा यसपटकको चुनाव रोचक बन्ने संकेत देखिएको छ। नेकपा कम्युनिष्ट पार्टीले हरि चौधरीलाई उम्मेदवार बनाइसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट आधा दर्जन आकांक्षी मैदानमा देखिएका छन्। नेपाली कांग्रेसले भने अझै उम्मेदवार टुंग्याउन सकेको छैन।

    लामो समयदेखि एउटै क्षेत्रमा चुनाव लड्दै आएका लेखराज भट्टका लागि यो निर्वाचन केवल सिट जित्ने प्रयास मात्र होइन, आफ्नो राजनीतिक यात्रालाई पुनःस्थापित गर्ने अवसरका रूपमा पनि हेरिएको छ। मतदाताले उनलाई फेरि मौका दिन्छन् वा नयाँ अनुहार रोज्छन्, यसको फैसला फागुन २१ ले गर्नेछ।