काठमाडौँ– प्रतिनिधि सभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले शुक्रबारबाट सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ। त्यस पूर्व सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी खटाउने तयारीमा आयोग जुटेको छ।
आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनले २ माघबाट १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोली सञ्चालनमा आउने जानकारी दिएकी छन्।
आयोगले प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी रहनेछ।
जिल्ला न्यायाधीशहरूबाट मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। त्यस्तै, न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृत बनाइएको छ। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य र बाँकी निर्वाचन अधिकृतहरूको नाम तोकेको हो।
निर्वाचन अधिकृतहरूका लागि २८ र २९ पुसमा प्रशिक्षण सम्पन्न भइसकेको छ। काठमाडौँ, विराटनगर, चितवन र नेपालगन्ज(चार स्थानमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। उम्मेदवारी मनोनयनदेखि मतदान, मतगणना र निर्वाचनको नतिजा निकाल्नेसम्मको जिम्मेवारी निर्वाचन अधिकृतहरूको हुनेछ। निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने जनशक्ति जिल्लास्थित सरकारी कार्यालयहरूबाट काजमा ल्याइनेछ।