काठमाडौँ– ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ–३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन्।
उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी तयारीमा जुटेका हुन्।
कुलमानका दाइ गणेश घिसिङले उनी काठमाडौँ क्षेत्र नम्बर–३ बाट निर्वाचन लड्ने तयारी गरिरहेको बताए। ‘काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–३ बाट चुनाव लड्ने निश्चित जस्तै हो’, गणेशले भने।
जेनजी आन्दोलनपछि घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका थिए। पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर गठन भएको उक्त पार्टी पुस दोस्रो साता रवि लामिछाने नेतृत्वको रास्वपासँग समाहित भएको थियो।
नागरिक सरकारका मन्त्री कुलमान राजनीतिक गतिविधिमा लागेको भन्दै आलोचना समेत भइरहेको छ। दुई दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीति गर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने धारणा राखेकी थिइन्।