राष्ट्रिय सभा निर्वाचनः यी हुन् गठबन्धनका १८ उम्मेदवार - Chaitanya News
  • 2026-10-06
  • 10:36:38
  • मंगलबार,आश्विन २०, २०८३
  • राष्ट्रिय सभा निर्वाचनः यी हुन् गठबन्धनका १८ उम्मेदवार

    राष्ट्रिय सभा निर्वाचनः यी हुन् गठबन्धनका १८ उम्मेदवार

    काठमाडौँ– माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबिच गठबन्धन भएको छ। सहमति बमोजिम तीन दलले उम्मेदवार तय गरिसकेका छन्।

    कांग्रेसले ९ सिटका लागि उम्मेदवार सिफारिस गरिसकेको छ। पार्टीले कोशी प्रदेशबाट अन्य क्लस्टरमा सुनिल थापालाई उम्मेदवार बनाइएको छ। उनी पार्टीका पूर्वसहमहामन्त्री र बहालवाला कार्यसम्पादन समिति सदस्य हुन्। थापाले राष्ट्रियसभामा उम्मेदवार बन्नका लागि राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारबाट केही दिनअघि राजीनामा दिएका थिए। थापा पूर्वप्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री पनि हुन्। उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा पनि हुन्।

    त्यस्तै कांग्रेसले लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाएको छ। केसी गुल्मीका पार्टीका पुराना नेता हुन्।

    त्यस्तै कर्णालीबाट कांग्रेसले अन्य क्लस्टरमा पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई उम्मेदवार बनाएको छ।

    गण्डकी प्रदेशको अन्य क्लस्टरमा काँग्रेसले पार्टीको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ।

    मधेस प्रदेशको अपांगता अल्पसंख्यक क्लस्टरमा काँग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णलाई उम्मेदवार बनाएको छ। कर्ण यसअघि संविधानसभामा पनि समानुपातिकबाट सांसद बनेका थिए।

    नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ। जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । यस्तै मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाले उम्मेदवारी दिने निर्णय एमालेले गरेको छ।

    यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए। उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन्।

    जसपा नेपालले भने महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ।