काठमाडौं– नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ। १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो।
एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ।
यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आगामी माघ ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भइसकेको छैन।
कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि सफल भएको छैन। जसअनुसार एमाले–कांग्रेसलाई ७–७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ। सहमतिको प्रयास जारी रहेका बेला एमालेले उम्मेदवार छनोट गरेको जनाएको छ।