सुर्खेत– नेकपा एमालेले प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा दर्ता गरेको छ, जसमा कर्णालीका ६ जना समावेश छन्।
कर्णालीबाट खस आर्यतर्फबाट हुम्लाका गोरखबहादुर बोगटी, सुर्खेतका बालाराम शर्मा, जाजरकोटका लालबहादुर महतारा, कालिकोटका दुर्गाबहादुर शाही छन्। यस्तै मुगुका सोनाम छिरिङ लामा (आदिवासी) कालिकोटकी यशोदा बराल (अपाङ्गता) पनि समानुपातिक बन्दसूचीमा समावेश छन्।
यीमध्ये बोगटी, महतारा र शर्मा पुराना नेता हुन्। एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका बोगटी प्रायः सधैँ समानुपातिकतर्फ बस्ने गरेका छन्। कर्णालीमा उनलाई यामलाल कँडेलविरुद्धको गुटको नेतृत्व गरेको र पदाधिकारीमा दाबी गर्न सक्ने नेताका रूपमा चर्चा गरिन्छ। यद्यपि उनी ७० को दशकपछि प्रत्यक्ष चुनाव लडेका छैनन्।
०४८ र ०५१ सालमा चुनाव लडेर पराजित भएका बोगटी ०५६ सालमा हुम्लाबाट प्रतिनिधि सभामा चुनाव जितेका थिए। ०६४ मा उनी पुनः पराजित भए। त्यसपछि उनले प्रत्यक्षतर्फ चुनाव लड्ने आँट गर्न छाडेको एक नेताले बताए।
०७४ मा बोगटीले श्रीमतीलाई राष्ट्रिय सभा सदस्य बनाए। ०७०, ०७४ र ०७९ मा उनी समानुपातिक लिस्टमा समावेश भए पनि सांसद बन्न सकेनन्। यो पटक पुनः समानुपातिक बन्दसूचीमा उनको नाम समावेश छ।
सुर्खेतका बालाराम शर्मा पुराना कम्युनिस्ट नेता हुन्। ०५१ मा वीरेन्द्रनगर नगरपालिकाका मेयर भएका उनी एमाले सुर्खेतका संस्थापकमध्येका एक हुन्।
लालबहादुर महतारा पनि पुरानै पुस्ताका नेता हुन्। उनी एक पटक चुनाव लडे पनि जित्न सकेनन्। बाँकी तीन जना भने नयाँ अनुहार हुन्।
१० जिल्ला रहेको कर्णालीका हरेक जिल्लाबाट ५–१० जनाको नाम पठाए पनि ६ जनामात्रै समेटिएको एमाले प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईले रातोपाटीलाई बताए। कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र छन्