काठमाडौँ– सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठुलो दल बनेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बिच एकता भएपछि सबैभन्दा ठुलो दल भएको हो।
प्रदेश सभामा साबिक माओवादीको सभामुख सहित ११ जना, एकीकृत समाजवादीको ४ जना र नाउपाको ७ जना सदस्य रहेका थिए। नेकपाले रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपासँग पुस १४ एकता सहमति गरेको थियो।
एकीकृत पार्टी बनेपछि प्रदेश सभामा नेकपाको २२ सिट पुगेको छ। एकीकृत समाजवादीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घ सोडारी निलम्बन भएकाले अहिले २१ सिट छ। ५३ सदस्यीय प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १८, नेकपा एमालेको ११, राप्रपा र स्वतन्त्रको एक–एक सदस्य छन्।
पार्टी एकता भएपनि संसदीय दल एकीकृत हुने क्रममा रहेको प्रदेशसभा सदस्य मानबहादुर धामीले बताए। संसदीय दलको नेता खगराज भट्ट फर्किएर आएपछि बैठक बसेर एकताको निर्णय हुने उनले जानकारी दिए।
‘समानुपातिक बन्दसूची मिलाउनका लागि खगराजजी काठमाडौँ जानुभएको छ। उहाँ फर्किएर आएपछि बैठक बसेर एकताको निर्णय गर्नेछौँ’, उनले भने।
यस्तै निर्वाचन भएको ३७ महिनामा प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समेत एक सिट कायम भएको छ। २०७९ सालमा स्वतन्त्रबाट निर्वाचित सदस्य डा. ताराप्रसाद जोशी रास्वपामै भएकाले एक सिट कायम भएको हो।
त्यतिबेला स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचनमा रास्वपा गठन भएकाले प्रदेश सभामा एक सिट पनि थिएन। मंसिर १७ गते उर्जामन्त्री समेत रहेका कुलमान घिसिङले उज्यालो पार्टी खोलेपछि जोशी सोही पार्टीमा खुलेका थिए।
वार्ता टोलीका संयोजक समेत रहेका पुस १४ गते रास्वपासँग एकता भएको थियो।