काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका छन्। यही सरकारले चुनाव सम्पन्न गर्नु पर्ने उनको भनाइ छ। त्यसका लागि अठोट गर्न उनले सरकार, सबै राजनीतिक दल र नागरिकलाई आग्रह गरेका छन्।
शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले यही सरकारले निर्धारित मितिमै चुनाव सम्पन्न गर्नुपर्ने बताएका हुन्।
‘चुनाव हुँदैन, तयारी पुगेको छैन जस्ता कुरा गरेर अब हुँदैन। यो सरकारले २१ फागुनमा चुनाव गराउन सक्छ, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा तोकिएको समयमै चुनाव हुनुपर्छ। अन्यथा सोच्नु हुँदैन। यही नेतृत्व सक्षम छ,’ भट्टराईले भने।
वर्तमान प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका भट्टराईले आजित हैरान भएँ भन्ने प्रधानमन्त्री कार्कीको अभिव्यक्ति मानवीय स्वभावजन्य भएको टिप्पणी गरे।
प्रधानमन्त्री कार्कीले केही दिनअघि दलदेखि जेन जेडका विभिन्न समूहले आजै छोड भोलि नै छोड भन्ने गरेको भन्दै आफू आजित र हैरान भएको बताएकी थिइन्।