राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशका ५ सांसद र स्थानीय तहका ७ पदाधिकारीले भोट हाल्न नपाउने - Chaitanya News
  • 2026-05-06
  • 20:10:59
  • बुधबार,बैशाख २३, २०८३
  • राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशका ५ सांसद र स्थानीय तहका ७ पदाधिकारीले भोट हाल्न नपाउने

    राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशका ५ सांसद र स्थानीय तहका ७ पदाधिकारीले भोट हाल्न नपाउने

    काठमाडौं– राष्ट्रिय सभाको निर्वाचनमा पाँच जना प्रदेश सांसद र ७ जना स्थानीय तहका पदाधिकारीले भोट हाल्न नपाउने भएका छन् ।

    निर्वाचन आयोगका अनुसार उनीहरूमध्ये केही पदमुक्त भएका छन् र केही निलम्बनमा छन्। यसकारण उनीहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन।

    निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली स्वीकृत भइसकेको छ।

    स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यमध्ये अदालतको आदेशबमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी जम्मा पाँच जना प्रदेशसभा सदस्यको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन।

    यस्तै स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी जम्मा ८ जना स्थानीय तहका पदाधिकारीको नाम पनि मतदाता नामावलीमा समावेश गरिएको छैन।

    राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ।

    आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४३ जनाले मतदान गर्न पाउने छन्। यो प्रारम्भिक मतदाता नामावलीको तथ्यांक हो।

    आयोगका अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। पुस २० गते दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको छ।

    यसरी परेको निवेदन तथा उजुरीमाथि पुस २१ र २२ गते छानबिन गरी आयोगले पुस २२ गते दिउँसो ३ देखि ४ बजे भित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ।

    कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। त्यसपछि १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

    आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

    आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ। त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो।

    २०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन्। राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ।

    यस पटक कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ।