काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को चुनावी वातावरण बनाउन सरकार तल्लीन रहेको बताएका छन्।
आज (बुधबार) विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले भने, ‘निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ। समानुपातिकतर्फको नामावली समेत निर्वाचन आयोगमा पेश भइसकेको छ अब चुनावको वातावरण बन्छ।’
सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै उनले भने,‘सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित छ।’
जेन जेड जनआन्दोलनपछिको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको उनले दाबी गरे।
अर्यालले थपे,‘देश थप अस्थिरतातर्फ धकेलिन सक्छ। त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन। ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्छ।’