सरकारको मुख्य ध्येय निर्वाचन सम्पन्न गर्नु हो : गृहमन्त्री अर्याल - Chaitanya News
  • 2026-05-06
  • 21:00:26
  • बुधबार,बैशाख २३, २०८३
  • सरकारको मुख्य ध्येय निर्वाचन सम्पन्न गर्नु हो : गृहमन्त्री अर्याल

    सरकारको मुख्य ध्येय निर्वाचन सम्पन्न गर्नु हो : गृहमन्त्री अर्याल

    विराटनगर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्।

    आज (बुधबार) विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित रहेको बताएका हुन्।

    ‘निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो। निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुन्छ र देश थप अस्थिरतातर्फ धकेलिन सक्छ। त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन’, उनले भने।

    ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्ने भएकोले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ।

    उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी अघि बढाएको जानकारी दिए। सुरक्षा गोष्ठी पनि निर्वाचनकै तयारी भएको उनको भनाइ छ। ‘निर्वाचनको कार्यतालिका सार्वजनिक भई सोही बमोजिम तयारी भइरहेको छ। समानुपातिक निर्वाचनतर्फको नामावली निर्वाचन आयोगमा दर्ता भइसकेको छ’, गृहमन्त्री अर्यालले भने, ‘निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकार दृढताका साथ लागेको छ।

    गृहमन्त्रालयको कार्यभार चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले जेनजी जनआन्दोलन पश्चातको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको बताए।

    सुरक्षा गोष्ठीले कोशी प्रदेशको वस्तुस्थिति र सुरक्षा वातावरण बुझ्न सहयोग पुग्ने र निर्वाचनका लागि सुरक्षित वातावरण निर्माण गर्न ठोस योजना बनाउने उनले बताए।