काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको बताएका छन्।
आज (मंगलबा) मदन–आश्रित स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको बताएका हुन्।
लोकप्रियता र अलोकप्रियताका सिर्जना गरिएका भाष्यलाई महाधिवेशनले जवाफ दिएको पनि ओलीले बताए।
महाधिवेशनले अर्को जवाफ दिने तयारी गरेको भन्दै ओलीले देशमा को लोकप्रिय छ भन्ने चर्चा चुनावसम्म रहने भन्दै कतिपयले प्रधानमन्त्री नै बनाइसकेको बताए।
‘हामी चुनाव पर्खिरहेका छौँ। महाधिवेशनबाट धेरै कुराको जवाफ दिएजस्तै अब हुने निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिनेछौँ’, ओलीले भने, ‘त्यसका लागि हामी तयार छौँ भन्ने महाधिवेशनले सन्देश दिएको छ।’
अध्यक्ष ओलीले लोकतन्त्रले नै जित्ने भन्दै विशाल एमाले र कांग्रेस देखेपछि योसँग र उसँग मिल्ने क्रम जारी रहेको बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी९उनेपा० र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही नहुने दाबी गरे।
उनले दुब्लाको काम नै मोर्चा गर्ने भन्दै अरू पनि मोर्चा हुने बताए। ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ? ’ओलीले प्रश्न गर्दै भने।