काठमाडौँ– नेपाली कांग्रेसले कोशी प्रदेशबाट समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा १८ जनाको नाम समावेश गरेको छ।
पाँच क्लस्टरबाट कांग्रेसले १८ जनाको नाम बन्दसूचीमा राखेको हो। कोशी प्रदेश केन्द्रीय नेताहरूसँगको समन्वयमा कोशी प्रदेश कार्यसमितिले आदिवासी जनजातीका ४ पुरुष र ५ महिला गरी ९ जना, खस आर्यतर्फका ४ महिला, थारूका १ महिला, दलितका १ महिला र १ पुरुष तथा मुस्लिमका १ महिला र १ पुरुष गरी १८ जनाको नाम समावेश गरिएको हो।
रातोपाटीले प्राप्त गरेको सूचीअनुसार आदिवासी जनजाती पुरुषतर्फ केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बे पाँचथर, गोपालमानसिंह भण्डारी मोरङ, थलकुमार लिंखा संखुवासभा, विजय सोम्वाहाम्फे तेह्रथुम छन्। आदिवासी जनजाती महिलातर्फ गीता गुरुङ सोलुखुम्बु, गीताकुमारी सेन्दाङ ताप्लेजुङ, सविता राई ओखलढुंगा, प्रमिका रानामगर इलाम र निर्मला गुरुङ सुनसरी छन्।
खसआर्यतर्फ पार्टीका केन्द्रीय सदस्य त्रल सुशीला ढकाल आचार्य झापा, रुक्मिणी कोइराला मोरङ, गोमकुमारी भट्टराई झापा तथा रिना उप्रेती सोलुखुम्बु छन्, उप्रेती केन्द्रीस्य सदस्य बलबहादुर केसीकी श्रीमती हुन्।
थारू क्लस्टरबाट डा.प्रमिला गच्छदार (मोरङ) को नाम राखिएको छ। दलितबाट मनुमाया विश्वकर्मा झापा र चन्द्रेश्वर शर्मा खत्वे (सुनसरी) को नाम राखिएको छ। त्यस्तै मुस्लिम क्लस्टरबाट नागमा शाहिद अन्सारी (सुनसरी) तथा जमिल अख्तर मिया (सुनसरी)को नाम राखिएको छ।