काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट डा. भीम रावलसहित ८ जनाको नाम सिफारिस गरेको छ।
त्यस्तै डा.रावलसहित मदन भुल, कुलबहादुर कुँवर, लोक बहादुर बोहरा ज्वाला, शिव सुन्दर शाही, सरस्वती रावल,नवयुवाबाट चन्द्र भण्डारी र पुष्प साउदको नाम सिफारिस गरिएको छ।
डा.रावललाई नेकपा एमालेले कारबाही गरेपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए। तत्कालीन माओवादी र एकीकृत समाजवादी पार्टीबिच एकीकरणसँगै डा.रावलले मातृभूमि जागरण अभियानलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सम्मिलित नेपाली कम्युनिस्ट पार्टीमा समाहित गरेका थिए।
मदन भुल अनेरास्ववियू क्रान्तिकारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष र अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षका उम्मेदवार थिए।
पूर्व उपप्रधानमन्त्री समेत रहेका डा। रावलले अछाम निर्वाचन क्षेत्र नं।१ बाट २०५१, २०७० र २०७४ सालमा निर्वाचित भएका थिए ।
२०७९ सालमा अछाम निर्वाचन क्षेत्र नं.१ बाट एकल सिफारिस भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिएका थिए।
अघिल्लो निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं।१ बाट तत्कालीन एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर विजयी भएका थिए। यहाँ २०६४ सालदेखि कम्युनिस्ट पार्टीले जित्दै आएको छ।