काठमाडौँ– नेपाली काँग्रेसमा समानुपातिक तर्फ उम्मेदवारको सूची बनाउँदा पार्टीभित्रको समूह व्यवस्थापनका लागि संस्थापन पक्षले ६०–४० को अनुपातमा भागबन्डा गर्ने प्रस्ताव गरेको छ।
उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी भइरहेको छ। यसक्रममा सभापति शेरबहादुर देउवा पक्षका ६० प्रतिशत समेटिने छन्। गगन थापा र शेखर कोइराला समूहका ४० प्रतिशत समेटिने छन्। संस्थापन पक्षबाट आएको प्रस्तावमा महामन्त्री थापा लगायतले अझै स्वीकार्न बाँकी रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए।
काँग्रेसमा विगतदेखि नै यस्तो भागबन्डा चल्दै आएको छ। समानुपातिक तर्फको उम्मेदवारी दिने सोमबार अन्तिम दिन हो। अन्तिम दिन सूची बुझाउनका लागि दलहरू निर्णायक गृहकार्यमा छन्।
काँग्रेसका शीर्ष नेताहरू पनि सूची तय गर्नका लागि आन्तरिक छलफलमा छन्। ११० जनाको सूची क्लस्टर मिलाएर पेस गर्नुपर्ने छ। काँग्रेसले विगतमा समानुपातिक उम्मेदवार भइसकेकालाई नदिने भन्ने छ।