निर्वाचन तयारी अन्तिम चरणमा,आयोगले भन्यो तोकिएकै मितिमा मतदान हुन्छ - Chaitanya News
  • 2026-05-07
  • 00:01:40
  • बुधबार,बैशाख २३, २०८३
  • निर्वाचन तयारी अन्तिम चरणमा,आयोगले भन्यो तोकिएकै मितिमा मतदान हुन्छ

    निर्वाचन तयारी अन्तिम चरणमा,आयोगले भन्यो तोकिएकै मितिमा मतदान हुन्छ

    काठमाडौँ– फगुन २१ गते का लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग निर्वाचनको तयारीमा उल्लेखनीय रूपमा अघि बढिसकेको भन्दै तोकिएको मितिमै चुनाव हुनेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका छन्।

    आज (शुक्रबार) निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन हुँदैन कि भन्ने आशंका नपाल्न आग्रह गरे। “निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहसभन्दा आयोग धेरै अघि बढिसकेको छ। ‘निर्वाचन हुँदैन’ भन्ने शब्द हाम्रो शब्दकोशबाट हटिसकेको छ। चुनाव हुन्छ,” उनले भने, “आयोग निष्ठा र अठोटका साथ अघि बढिरहेको छ र आवश्यक तयारीहरू सम्पन्न भइसकेका छन्।”

    उनले कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग नलिने घोषणा नगरेकाले व्यापक सहभागितासहित चुनाव हुने विश्वास व्यक्त गरे। निर्वाचनको विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै उनले नयाँ जनप्रतिनिधि संसद्‌मा पठाउन सबै पक्ष जुट्नुपर्ने बताए।

    निर्वाचन कार्यतालिकामा कुनै पनि प्रकारको हेरफेर नहुने स्पष्ट पार्दै भण्डारीले १३ र १४ पुसमा राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्द सूची बुझाउनुपर्ने जानकारी दिए।