काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्री कार्कीले नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी हुन्। बैठक शनिबार राखिएको छ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवा र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसकेका छन्। उनले आजै ‘प्रचण्ड’लाई पनि भेटेर निम्तो दिने कार्यक्रम छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की समेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेका थिए।