बडीमालिका: धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम - Chaitanya News
  • 2026-05-25
  • 04:37:56
  • आइतबार,जेठ १०, २०८३
  • बडीमालिका: धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम

    बडीमालिका: धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम

    सदूरपश्चिमको पहाडी जिल्ला बाजुराको बडीमालिका मन्दिर क्षेत्र चार हजार दुई सय मिटर उचाइमा अवस्थित छ। मन्दिर पुग्दासम्म बाटोमा पर्ने विशाल फाँटहरु, आँखाले नियाल्न नसकिने आकर्षक देखिन्छन्।

    शब्दले सुन्दरताको व्याख्या जति गरे पनि अपूर्ण नै हुने बडीमालिका फाँटहरुका दृष्य हेर्दा जो कोहीलाई पनि लोभ्याउँछन्।
    वारि दह, सोता दह, घोडे दह, भित्तोचिन्नेदेखि माथि वृक्षहरु छैनन्। टुन्ड्र वनस्पति, बुट्यान फूल फूलहरुले दह अर्थात पाटन र अग्ला गोलाकार डाडाहरु मनमोहक देखिन्छन।

    हो यहीँ बडीमालिकामा भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन पूजाआजासहित मेला लाग्छ। बडीमालिकाको पूजाआजा सकेर नाटेश्वरी मन्दिरमा जैनै पूर्णिमाका दिन जनै र रक्षा धारणा गरेर कालिका मातालाई बोकाको बली दिएपछि मेला सकिन्छ।

    यही मितिबाट पूजा पाठ सुरु गरिएको भन्ने एकिन छैन। तर बाजुराका स्थानीय सुमेशर उपाध्यायको पालादेखि पूजापाठ हुँदै आएको आधिकारिक दस्तावेज छ।

    हरेक बर्षको भाद्र शुक्ल चतुर्दशी लाग्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकामा धार्मिक यात्रा यस वर्ष पनि सुरु भएको छ । साउन शुक्ल चतुर्दशीका दिन बडिमालिकामा लाग्ने विशेष मेलाका लागि मंगलबारदेखि धार्मिक यात्रा सुरु भएको हो ।

    बडिमालिकामाईको पूजाका लागि बाजुरासहित डोटी र जुम्लाबाट सरकारी टोली बडिमालिका पुग्छन्। बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्परा अनुसार एकसाथ पूजा गर्ने परम्परा छ ।

    सुदूपश्चिमकै धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शनका लागि देशका विभिन्न जिल्ला सहित भारतबाट समेत हरेक वर्ष भक्तजन जाने गरेका छन् । त्रिबेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ।

    पौराणिक कथा:
    पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतीलाई बोलाएनन्। सतीदेवी दक्ष प्रजापतिको यज्ञ स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनको कारण सोधिन्।

    दक्ष प्रजापतिले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा बास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरी खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञामा बस्दा शोभा नभएकाले नबोलाएको भनि उत्तर दिएका थिए।

    आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतीदेवीले यज्ञकुण्डमा नै आफ्नै शरिरमा आगो लगाएर प्राण त्याग गरिन्। त्यसपछि महादेव रिसाएर वीरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञ तहसनहस पार्न लगाए। त्यसपछि महादेव पत्नी वियोगमा पागल भएर सतीदेवीको मृत शरीर बोकेर पूरा विश्व घुम्न थाले।
    यसैबेला भगवान विष्णुले आफ्नो चक्र सुदर्शन प्रहार गरी किरा पारेर सतीदेवीको मृत शरीर कुहाए। यसरी ठाउँठाउँमा सतीका अंगहरू पतन हुँदै (झर्दै) खस्न थालेपछि जहाँ–जहाँ सतीका अङ्ग पतन भए त्यहाँ–त्यहाँ एक एकवटा सिद्ध पीठ बन्दै गए।

    यसै क्रममा मल्लागिरि पर्वतमा सतीको बायाँ कुम पतन भयो। त्यसै मल्लागिरिलाई अहिले मालिका भनिन थालियो। र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरुपले रहन थालिन्। तसर्थ यस स्थानमा बडीमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो।

    भनिन्छ, प्राचिनकालमा भगवतिले महिषासुर नामको दैत्यको वध गरिसकेपछि कालिकोटको ‘द्वारेढुंगा’ भन्ने ठाउँमा विश्राम गरेकी थिइन्। पछि गएर द्वारेढुंगामा एक जना दाउरा खोज्न गएका दलित भनिएका व्यक्ति भोकले व्याकुल भइ देवीसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो। देवीले त्यो ती मानिसको मनोकांक्षा पूरा गरिदिइन्।

    ती मानिसले पुरै बहरलाई एक्लै खान नसकिने भएकाले उसले आफ्नो घरका मान्छेलाई बोलाएछ। उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन्। तब ती व्यक्तिलाई रिस उठ्यो। उसले भगवतीलाई भन्योऔ हे१ परमेश्वरी मेरा घरका सबै मान्छे मरुन्। देवीले पनि इच्छा अनुसार वरदान दिइन्।

    त्यसपछि बहरको मासु लिएर ती व्यक्ति घर गएछन्। घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो। फेरि उनी रिसायर द्वारेढुंगा पुगे। देवी उसलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन्। उसले बहरको फिलाले देवीको घरमा हानेको छाप अझै द्वारे ढुङ्गामा देखिने स्थानीय अमर बुढाले बताउँछन्।

    त्यसकारण देवी सधैँका लागि त्यो ठाउँ छोडेर त्रिवेणी, पंचपुरी पाटन, मल्ल पुरी पाटन हुँदै बडीमालिकामा गएर बसिन्। त्यसैले दलितहरु बडिमालिका नजाने गरेको कथन छ। अन्य भक्तजनहरू जुन बाटो देवी गएकी हुन् त्यही बाटो भएर जान्छन्।

    प्राकृतिक सौन्दर्यता:
    बडीमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि महत्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडीमालिकाका गहना हुन्।

    बडीमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन्। तर, अचेल यी फाँटहरू विस्तारै मासिँदै छन्। यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ।

    बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन नसकेको स्थानीय गोरख ब बुढा बताउँछन् । बडीमालिकामा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ। त्यो समयमा केही स्थानीय व्यापारीहरूले पसल राख्ने गर्छन्। अन्य समयमा त्यहाँ पसलहरू खासै भेटिँदैनन्।

    बडीमालिका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ। मन्दिर व्यवस्थापनले भक्तजनहरूलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरू त्यहीँ बास बस्ने गर्छन्।

    बडीमालिकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुडीको चोरी निकासी हुने गरेको स्थानीय दल ब बुढाले बताए ।’ सरकारले बडीमालिका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उनको माग छ।

    हालसम्म गंगा दशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मात्र चल्दै आएको औपचारिक मेलाका कारण बडीमालिकाको महत्व सिमित छ।
    गाडीबाट बडीमालिका जान धनगढी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्छ। त्यहाँबाट ब्रह्मतोलाको शेराबजारसम्म गाडीको सुविधा छ। बर्खायाममा भने सम्भव हुँदैन।

    हवाईमार्गको प्रयोग गर्ने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ। कोल्टीबाट एक दिनको बाटो हिँडेर सदरमुकाम मार्तडी पुगिन्छ।

    सुदूरपश्चिमका पयर्टकीय स्थानहरूमा अति महत्वपूर्ण स्थलको रुपमा चिनिने बडीमालिका धार्मिक तथा ऐतिहासिक दृष्टीले महत्वपूर्ण मानिन्छ। मन्दिरमा पुग्न बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिँडेर जाँदा ३ दिनमा पुग्न सकिन्छ। त्यहाँ पुग्न जो कोहीलाई हम्मे९हम्मे पर्दछ। तर विडम्वना तिर्थालु तथा पर्यटकले आफूलाई चाहिने खाद्यान्न आफै बोकेर लैजानु पर्ने बाध्यता छ।