आज साउन १५ खीर खाने दिन, यस्तो छ महत्त्व र सेवनका फाइदाहरु - Chaitanya News
  • 2026-05-25
  • 04:37:56
  • आइतबार,जेठ १०, २०८३
  • आज साउन १५ खीर खाने दिन, यस्तो छ महत्त्व र सेवनका फाइदाहरु

    आज साउन १५ खीर खाने दिन, यस्तो छ महत्त्व र सेवनका फाइदाहरु

    काठमाडौं– आज श्रावण १५ गते, नेपाली सांस्कृतिक चलनअनुसार यो दिनलाई खीर खाने दिन भनेर मनाउने गरिएको छ । यो दिवसको इतिहास त्यति पुरानो छैन । राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ गतेलाई खीर खाने दिन वा खीर दिवसका रुपमा मनाउने निर्णय गरेपछि खीर दिवस भनेर मनाउन थालिएको हो । यो दिनको विशेष महत्त्व खीर दिवस तथा आध्यात्मिक कारणले पनि रहेको छ र यो एक ऐतिहासिक दिन पनि हो । नेपाली परम्परामा यो दिनलाई अति महत्त्वको प्राथमिकतामा राखेर घरपरिवार, इष्टमित्र र चेलीबेटी जम्मा गरेर संयुक्तरुपमा खीर खाने चलन रहेको छ । नेपाली समाजमा असार १५ मा दहीचिउरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे, माघ १ मा खिचडी र माघ १५ मा मालपुवाजस्ता खाद्य पदार्थ खाने चलन छ । यी चालचलनहरुले विशेष महिनामा विशेष खाना खाने र त्यसबाट शारीरिक तन्दुरूस्ती कायम गर्न मद्दत पुर्‍याउने गरेको पाइन्छ । मौसमअनुसार खाइने यस्ता खाना स्वादिष्ट हुने, पाचन प्रणालीमा कुनै खराबी नहुने र संस्कृतिको जगेर्ना हुने भएकाले भावी पुस्तालाई समेत यसको जानकारी र ज्ञान हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

    आजका बच्चाले खीर के हो, चामल के हो, कसरी बन्छ, किन यस्तो खाना खाने भन्ने कुरा बुझेको छैन । किनकि यस्ता खानाको ठाउँमा केक, बिस्कुट, पाउरोटी, पिज्जा, बर्गर, माछामासुले ओगटेका छन् भने दूध, दही, मही आदिको ठाउँ कोक, जुस र अनेक ड्रिङ्क्सले ओगटेका छन् । अहिले त प्राकृतिक खानाको स्वाद जिब्रोले थाहा पाउनै छाडेको अवस्था छ । यस्तो अवस्थामा शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक तथा संवेगात्मक स्वास्थ्यमा असर परी व्यक्ति दीर्घरोगको चपेटामा परिरहेको र नेपालकै अनागरिक बनेको देख्न सकिन्छ । यसै सन्दर्भमा हालसम्म नेपालको संस्कृति जोगाउँदै आइरहेको हाम्रो पुस्ताले विशेष चाडपर्व र विशेष परिकारका बारेमा भावी पुस्तालाई बुझाउनका लागि समेत ध्यान दिनुपर्छ ।

    हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरु बताउछन् ।

    साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खिर खाने गरेको पाइन्छ ।

    नेपालमा मात्रै होइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।

    हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।

    सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरु बताउँछन् ।

    खिर खाने चलन कहिलेदेखि आयो ?
    खिर खाने चलन कहिलेदेखि आयो भन्ने सन्दर्भमा कुरा गर्दा खिरको प्रचलन चौधौं शताब्दीमा चीनबाट सुरु भएको हो भन्ने इतिहास पाइन्छ । चीन पछि सार्क राष्ट्रहरु हुँदै पश्चिमी देशहरुमा समेत यसको प्रचलन सुरु भएको मानिन्छ । दक्षिण भारत, मालदिभ्स र थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दुधबाट खिर बनाएर खाने गरिन्छ । पूर्वीय दर्शनमा साउन महिनालाई शिवको महिना मानिने र शिवलाई दुध तथा दुग्धजन्य पदार्थ मनपर्ने भएकाले खिरको प्रचलन आएको हो भन्ने किम्बदन्ती पाइन्छ । त्यस्तै, प्राचीन कालदेखि नै पितृकार्यमा समेत दुध चढाउने, दुधबाट बनेको पायस खाने चलन चल्दै आएको र हालसम्म यो चलन देख्न सकिन्छ । शास्त्रमा श्रीकृष्ण भगवानकै पालादेखि खिर खाने चलन चलिआएको र खिरलाई पवित्र प्रसादका रुपमा मन्दिरमा समेत चढाउने र खाने चलन चलेको हो भन्नेकुरा पाइन्छ । यसबाट खिरको निकै ऐतिहासिक परिचर्चा भएको देखिन्छ ।