जगन्नाथ अर्याल । योग्य र दक्ष जनशक्तिलाई निष्पक्ष रुपमा छनोट गरि सरकारी सेवामा नियुक्तिको लागि सिफारिस गर्ने र सरकारलाइ कर्मचारीको भर्ना पदोन्नती लगायत कर्मचारी प्रशासनका विविध पक्षमा कानुन एवं नीति निर्माणको क्रममा सुझाव दिनको लागि एक स्वतन्त्र सवैधानिक निकायको परिकल्पना गरिए अनुसार वि.सं। २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स) नेपालमा लोक सेवा आयोगको स्थापना भएको हो । स्थापना कालदेखि नै लोकसेवा आयोगले आम जनताको मन जित्न सफल भइ सबैको भरोसाको केन्द्र बनेको छ । निष्पक्षता र तटस्थताले नै स्थापना कालदेखि प्रति वर्ष युवाहरू सरकारी सेवामा प्रवेश गर्ने आकर्षक बढेको छ ।
बढ्दो लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट सफलता प्राप्त गर्नको लागि निम्न लिखित पक्षहरुमा ध्यान पुर्याउन सकेको खण्डमा सफलता प्राप्त गर्न सकिन्छ ।
पाठ्क्रम तथा विषयवस्तुको गहिरो अध्ययन
सर्वप्रथम लोकसेवा आयोगले लिने परीक्षामा आफू कुन पदको परीक्षामा सम्मिलित हुने हो र उक्त पदको विज्ञापन कुन महिनामा हुन्छ सो कुराको एकिन गर्नको लागि लोक सेवा आयोगले हरेक वर्ष आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हुन्छ सो को राम्रोसगँ अध्ययन गर्नु पर्छ । आफूले परीक्षा दिने पाठ्यक्रमलाई राम्रोसँग अध्ययन गर्ने र मिल्दो शीर्षकलाई ग्रुप बनाइ सम्बन्धित कुराहरुको गहिरोसँग अध्ययन गर्नुपर्छ ।
विषयबस्तु माथि थप प्रष्ट हुने कुराहरूको अध्ययन
संविधान तथा आफ्नो विषयसँग सम्बन्धित ऐन, नियम, नीति तथा निर्देशिका, दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरूलाई निरन्तर अध्ययन गर्ने, आफ्नो शीर्षकसँग मिल्ने विषय विज्ञहरूको लेख रचना तथा अध्ययन अनुसन्धानबाट देखिएका तथ्य तथ्याङ्कहरू, प्रतिवेदनहरूले गरेका सिफारिसहरूको अध्ययन गर्ने, कटिङ गर्ने, फाइलिङ गर्ने वा बुँदा टिपोट गर्ने र आफूले बुझ्ने तरिकाबाट नोट बनाउने र मिल्ने शीर्षकसँग आन्तरीकीकरण गर्दै शीर्षकमाथिको अवधारणागत स्पष्टता कायम गर्ने ।
सामग्री र सन्दर्भ मिलाउने
विषयबस्तुको अध्ययन सिद्धान्त तथा हाम्रो यथार्थता, व्यवहार र व्यक्तिगत जीवनमा सो कुरालाइ कसरी जोड्न सकिन्छ भन्नेतर्फ सधैँ ध्यान दिने । आफ्नो उत्तरलाइ विद्यमान कानूनी प्रावधान, हाम्रो अहिलेको अवस्था तथा कमजोरी पत्ता लगाइ उत्तरलाई पूरा गर्नेतर्फ ध्यान दिने र सबै विषयको उत्तर तयारी गर्दा व्याख्या, सवल पक्ष, कमजोरी, अवसर र समस्या जस्ता पक्षलाइ ध्यान दिनुपर्छ । सुनेर, पढेरभन्दा लेखाइलाई थप महत्व दिइ क्रमशः पढाइ तथा लेखाइसँग अघि बढाउनु पर्छ ।
छलफल र अन्तरक्रियामा ध्यान दिने
आफ्नो लेखाइ र पढाइलाइ निरन्तर सहपाठी, सहकर्मी तथा बौद्धिक वर्गसँग छलफल र अन्तक्रिया गर्ने । लेखाइलाई सकेसम्म तथ्य तथ्याङ्क, विभिन्न डायग्राम, चित्र तथा तालिका एवं सोलोगनको माध्यमबाट थप आकर्षक बनाउनुका साथै सम्बन्धित विषय विज्ञ तथा सहपाठीलाई देखाउने र प्राप्त पृष्ठपोषणअनुसार निरन्तरअघि बढ्ने । विषयवस्तुसँग सम्बन्धित अन्तराष्ट्रिय असल अभ्यास नवीनतम् तथा सिर्जनात्मक कार्यलाइ आफ्नो विषय वस्तुसँग तादम्यता मिलाइ प्रस्तुत गर्न सकेमा लेखाइले थप महत्व राख्ने गर्दछ ।
समय व्यवस्थापन र सरकारी सेवाप्रतिको अवसर
सर्वप्रथम जसले आमजनताको सेवक बनेर पवित्र भावना राखी राज्यले खटाएको जुनसुकै स्थानमा अहोरात्र खट्न सक्छु भन्ने लाग्छ । त्यस्ता व्याक्तिहरूले मात्र लोकसेवा तयारीतर्फ लाग्दा उत्तम हुन्छ । सेवा पास गर्न समयसारिणी बनाउनु पर्छ । सामान्यतया मेरो विचारमा ३ वर्षसम्म म लोकसेवा पढ्छु र पास गर्छु भनेर समय व्यवस्थापन गर्नु पर्छ । अध्ययनको समयदेखि लोकसेवा आयोगले सिफारिस नगर्दाको अवस्थासम्म हरेक क्षण अति महत्वपुर्ण हुन्छ । लोकसेवा पास गर्नको लागि निरन्तर दैनिक रुपमा २ देखि ३ घन्टासम्म पढ्दा पास हुन सकिन्छ । जबरजस्ती पढ्नुभन्दा निरन्तर छोटो समय रुची पूर्ण रुपले पढ्दा उत्तम हुन्छ ।
परीक्षाको समयमा प्रश्नहरूलाई राम्रोसँग बुझने र प्रश्नले मागेको कुरा मात्र समय सीमाभित्र रही प्रस्तुत गर्ने गर्नु पर्छ । लोकसेवा पास हुनको लागि सबै प्रश्नहरू उत्तिकै महत्वपूर्ण हुन्छ । तसर्थ सबैलाई उत्तिकै महत्व दिएर सबै प्रश्नहरू हल गर्नतर्फ लाग्नु पर्छ । विषयवस्तुलाई सकेसम्म प्राथमिकिकरण गर्ने, कुन विषयबस्तु कसरी अध्ययन गर्ने भन्ने कुराको लागि समय तालिका बनाउने, अध्ययनको क्रममा अलमल्याउने विषयबस्तुलाई हटाउने, आफूले तयारी गरिसकेपछि प्रत्येक दिन कति प्रगति भयो, आफैलाई मूल्याकंन गर्ने र निरन्तर अघि बढ्ने । सरकारी सेवामा प्रवेश गरेपछि जनताको सेवा गर्ने मौका एकातिर छ भने अर्कोतर्फ वृत्तिविकास तथा अन्य अवसरहरू धरै छन् भनि प्रोत्साहित भएर रुचिका साथ लाग्नु पर्छ ।
तनाव व्यवस्थापन गर्ने
लोकसेवा पास हुनको लागि तनाव व्यवस्थापन अति महत्वपुर्ण मानिन्छ । खासगरी अध्यनको समय तथा परीक्षाको समयमा विभिन्न प्रकारको तनाव सिर्जना हुने गर्दछ । प्रश्नहरु सबै हल गर्न सकिन्छ र सकिदैन, पढ्दै नपढेको प्रश्न आएमा के गर्ने रु भन्ने प्रश्न एकातिर हुन्छ भने अर्कोतर्फ अहिले नै लोकसेवा पास गर्नुपर्ने दवाव स्वरुप तनाव सिर्जना हुन सक्छ ।
त्यसको लागि सबै विषय बस्तुलाई गहन अध्ययन गर्नुका साथै पारिवारिक सहयोग जुटाइ लेखाई र पढाइ निरन्तर गर्नु पर्छ । आफूसँग प्रतिस्पर्धा गर्न लागेका सबै प्रतिस्पर्धिहरू म जस्तै एकै शिक्षापद्धति तथा संस्कारमा हुर्केका व्यक्तिहरू हुन भन्ने सोचि सकारात्मक धारणाका साथ लाग्नुपर्छ । लोकसेवा आयोगले लिने परीक्षाको मितिभन्दा १/२ दिन बाँकीको समयमा पढन्नुभन्दा पनि आफूले पढेको स्मरण गर्ने र मैले सबै अध्ययन गरिसके म अरुभन्दा अब्बल छु भनि ढुक्क भएर परीक्षा हलमा बस्नु पर्छ । स्वच्छ र सन्तुलित खाना खानुको साथै पर्याप्त आराम मा सधै ध्यान दिनुपर्छ ।