१३ कर्मचारीको सेवा करार भंग गर्ने निर्णय - Chaitanya News
  • 2026-05-23
  • 15:53:48
  • शनिबार,जेठ ०९, २०८३
  • १३ कर्मचारीको सेवा करार भंग गर्ने निर्णय

    १३ कर्मचारीको सेवा करार भंग गर्ने निर्णय

    काठमाडौँ– पाँचथरको कुम्मायक गाउँपालिकाको गाउँ कार्यपालिकाले कोशी प्रदेशद्वारा जारी स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन २०८० को दफा ८ को उपदफा (१८) अनुसार केही कर्मचारीहरूको सेवा करार भंग गर्ने निर्णय गरेको छ।

    यस निर्णयअनुसार सवारी चालक, नगर प्रहरी, बारुणयन्त्र, कार्यालय सहयोगी, चौकीदार, इलेक्ट्रिसियन, प्लम्बर, मालि, सरसफाइ कर्मचारीजस्ता पदहरूमा मात्र करारमा कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था छ। अन्य पदमा करार वा ज्यालादारीमा कर्मचारी नियुक्त गर्न नपाइने नियमको पालना गर्दै गाउँ कार्यपालिकाले २०८१–०६–१६ मा १३ कर्मचारीको सेवा करार कार्तिक १ गतेबाट लागू हुने गरी भंग गर्ने निर्णय गरेको हो।

    यस निर्णयको कारण गाउँपालिकामा कार्यरत मेडिकल अधिकृत, रेडियोग्राफी, फार्मासिष्ट, अनमी लगायतका कर्मचारीहरूको सेवा करार अन्त्य हुने भएको छ। यस निर्णयले करिब १३ कर्मचारी प्रभावित हुने छन्।

    मेडिकल अधिकृत डा. उपेन्द्र पोख्रेल (आठौँ तह), रेडियोग्राफी स्मृति अधिकारी (पाँचौँ तह), फार्मासिष्ट अरुणल चेम्जोङ (पाँचौँ तह), अनमी प्रेमा लावती, कृतिका नेम्बाङ, अञ्जली फेउदिन (चौथौँ तह), अ. हे. ब. गंगामाया लिम्बु, महेन्द्र सुन्दर कार्की, बुद्धि आचार्य (चौथौँ तह), अपांगता रोकथाम अधिकारी शुष्मा तामाङ (चौथौँ तह), ल्याब टेक्निसियन खिना केरुङ (चौथौँ तह), कृषि सहायक टीकाराज लावती, सुजता खनाल (चौथौँ तह), सुरक्षित मातृत्व अनमी कार्यक्रम शोभादेवी थापा (चौथौँ तह), अ.स.ई. नरेन्द्र कार्की, डिल्लीराम रिजाल (चौथौँ तह), कम्प्युटर अपरेटर सम्झना कुवर (पाँचौँ तह), नेत्र सहायक शान्ति तामाङ (पाँचौँ तह), र वैद्य निरज ठाकुर (चौथौँ तह) को सेवा करार भंग हुने निर्णय गरिएको छ।

    गाउँ कार्यपालिकाको यस निर्णयले स्थानीय तहमा कार्यरत स्वास्थ्य तथा प्रशासनिक कर्मचारीहरूको भविष्य अन्योलमा पर्न सक्ने र सेवा प्रवाहमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। थप जानकारीको लागि कुम्मायक गाउँपालिका कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।